|

म्याग्दी :  बेनी नगरपालिका-२ मा पर्ने १७ औं शताव्दीको ऐतिहासिक ज्यामरुककोट खड्गभवानी कोटबाट धवलागिरि हिमश्रृङखला १५ वटा हिमाल र चारवटा जिल्लाका दर्जनौ वस्तीहरूको प्राकृतिक दृश्यावलोकन गर्न पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरू जान थालेपछि ज्यामरुककोट नयाँ पर्यटकीय स्थलको रुपमा चिनिदै जान थालेको छ।

बेनीको शिरैमा अवस्थित अग्लो ज्यामरुककोट डाँडा जहाँबाट दुई ठूला नदीले काखमा हालेजस्तो देखिने सुन्दर बेनी बजारको दृश्य अवलोकन गर्न सकिन्छ। बजारसँगै देखिने रमणीय धौलागिरि हिमश्रृङ्खला र पहाडी रमणीय भूभागको आकर्षक दृश्यले यहाँ पुग्ने जो सुकैको पनि मनलाई लोभ्याउने स्थानीय भीमबहादुर पौडेल बताउँछन्।

बेनी देखि करिब ४ किलोमिटरको उकालो यात्रा पछि पुग्न सकिने ज्यामरुककोटबाट १५ वटा हिमश्रृङखलाका साथै दर्जनौँ गाउँ, वनजंगल र नदीको नागबेली दृश्यले पर्यटकलाई आनन्दको महसुस गराउँछ।

पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विक स्थल ज्यामरुककोट प्रशस्त प्राकृतिक सौन्दर्यले युक्त भएर पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको थियो।

यहाँबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १५ वटाभन्दा बढी हिमालको दृश्यावलोकन, म्याग्दी,पर्वत र बागलुङका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजार,प्रसिद्ध गलेश्वरधामका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिने बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्की बताउँछन्।

‘बेनी देखि नजिकै यस्तो रमणीय स्थान रहेछ ’ज्यामरुककोट घुम्न गएका मोना हङकङका अध्यक्ष कर्ण पुनले भने, ‘यहाँ भौतिक पूर्वाधारको निर्माण र प्रचारप्रसार गर्नसके स्वदेशी तथा विदेशी पर्यटक ल्याउन सकिने राम्रो संभावनायुक्त क्षेत्र रहेछ।’ मोना हङकङको एक समूहले हालै मात्र  ज्यामरुककोटको भ्रमण गरेका थिए।

यहाँ १७ औँ शताब्दीको धार्मिक र ऐतिहासिक स्थल खड्ग भवानी कोत, ऐतिहासिक राजकुवा, मल्लकालीन हातहतियारलगायत प्रशस्तै प्राकृतिक र ऐतिहासिक सम्पदाहरू रहेको ज्यामरुककोट क्षेत्र विकास व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए। नेपालकै एक ऐतिहासिक र पर्यटकीय सम्भावना भएको महत्वपूर्ण स्थल भएको उनको भनाइ छ। घिमिरेका अनुसार यहाँ ५७४ वर्ष पहिलेका मल्ल र थापा राजाहरूका अभिलेख रहेका छन्।

ज्यामरुककोटमा विसं १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका थिए। विसं १५४५ को भदौ महिनामा थापाहरूको पुख्र्यौली थलो मानिएको ताकम डिम्बबमले कब्जा गरेपछि ज्यामरुककोट, पुलाचौर, कुहूँ र राखुका थापा राजाहरूले आफ्नो खाइपाई आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेनापति बनेसँगै थापा राज्यको अन्त्य भएको इतिहास रहेको बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताए। ज्यामरुककोटको भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने लक्ष्य वडाको भएको उनले जानकारी दिए।

पछिल्लो समय बेनी नगरपालिकाले यहाँको भौतिक पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धनमा जोड दिन थालेको छ। कोतमा पुग्ने पदमार्ग,मन्दिर निर्माण र खानेपानीको व्यवस्था गरिएको वडाअध्यक्ष कार्कीको भनाइ छ।

बेनी देखि लभ्लीहिल सम्म निर्माण गरिएको पदमार्गलाई विस्तार गर्ने र पूर्वाधारको विकास गरी पर्यटकीय क्षेत्र बनाउन नगरपालिकाले प्राथमिकतामा राख्नुपर्ने उनले बताए। पर्यटकीय संभावना भएको यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्ने र प्रचारप्रसार गर्न सकेमा पर्यटक आगमनमा वृद्धि गर्न सकिने म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताए।

बेनी देखि व्यवस्थित पदमार्ग,यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यका बारेमा प्रचारप्रसार गर्न सक्ने हो भने धौलागिरि,अन्नपूर्ण र मुस्ताङको भ्रमणमा आएका पर्यटकहरूलाई ज्यामरुककोट सम्म पुर्‍याउन सकिने उनको राय रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.