नयाँ पाठ्यपुस्तक लागू हुँदै

|

काठमाडौं : आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० को नयाँ पाठ्यपुस्तक लागू हुँदै छ। शिक्षा तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रका अनुसार कक्षा ५ र १० को किताब बनाउने र छाप्ने काम सकिएको छ।

कक्षा ८ को भने काम भइरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले जानकारी दिए। ‘पाठ्यक्रम अगाडि नै स्वीकृत भइसकेको छ। त्यसैअनुसार पाठ्यपुस्तक नयाँ लागू हुने हो। कक्षा ८ को भने पाठ्यक्रम विकास र पुस्तक तयार पार्ने काम भइरहेको छ, अब छिट्टै काम सकिन्छ’, उनले भने।

उनले नयाँ शैक्षिक सत्र अर्थात् २०८० सालबाट यो सबै पाठ्यक्रम लागू हुने जानकारी दिए। विकास केन्द्रका अनुसार यी कक्षाका सबै विषय अब नयाँ लागू हुनेछन्। 
पछिल्लो समय यहाँ बढ्दो बेरोजगारीको समस्या छ। त्यसो त दैनिक करिब १७ सय रोजगारीका लागि विदेशिने गरेकाे सरकारी तथ्यांक छ।

नेपालमै स्वरोजगार बनाउन सक्ने शिक्षा नमिलेको कतिपयको गुनासो छ। व्यावहारिक ज्ञान पाठ्यक्रममा समावेश नभएको र समेटिएको पनि नसिकाइएको कतिपय बताउँछन्। शिक्षाविद् प्रा.डा. टंकनाथ शर्मा भन्छन्, ‘बाबुआमा,सरोकारवालाहरूको पढ्न जाने हाम्रा छोराछोरी घोक्ने मात्रै जाने गरेकाे तर व्यवहारिक हुन सकेनन् भन्ने गुनासो छ।’ 

विज्ञ भन्छन्: ‘घोक्ने होइन, गरिखान सक्ने विद्यार्थी बनाऔँ’

शिक्षाविद्हरू पाठ्यक्रम व्यावहारिक बनाउनुपर्ने बताउँछन्। अहिलेको समयमा एउटा स्थानीय कुराकानीबाट त्यसैलाई राष्ट्रिय र अन्तरराष्ट्रिय बनाउने, अन्तरराष्ट्रिय कुराकानीबाट त्यसैलाई राष्ट्रिय र स्थानीय बनाउने खालको पाठ्यक्रम चाहिने शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन्।

उनी भन्छन्, ‘जस्तो गुन्द्रुक हाम्रो राष्ट्रिय सम्पत्ति हो। यसको स्थानीय कुराकानी होला, कसैले सिंकी, तामा अरू भन्लान्, हो यो कुरा पनि थाहा हुनुपर्‍याे। यसलाई अन्तरराष्ट्रिय कसरी बनाउने? त्यो पनि थाहा हुनुपर्छ। यस्तो विषयवस्तु आवश्यक छ।’ राज्यले विद्यार्थीहरूलाई गरिखानसक्ने पहुँचमा पुर्‍याउन नसकेको उनको भनाइ छ।

‘अहिले गरिखानेले पढिखाएन,पढिखानेले गरिखाएन, त्यो जुन दुईबीचको खाडल छ। त्यो पुरिनुपर्छ,जस्तो उसले हलो जोत्दै गरेको छ भने उसले विज्ञान विषयको के प्रयोग गरे? गणित,सामाजिक,अर्थशास्त्रमा के कुराकानी गर्‍यो होला?, यस्तो खालको विषयवस्तु जोड्न पायो भने पढ्नु भनेको गर्नु पनि हो,गर्नु भनेको पढ्नु पनि हो भन्ने सम्प्रेषण जान्छ’‚ उनले भने।

उनका अनुसार पाठ्यक्रम बनेर मात्रै भएन। शिक्षकहरूमा त्यत्तिकै नयाँ ज्ञान अपडेट हुनुपर्छ। त्यो ढंगको अवस्थामा शिक्षकहरू नपुगेको उनले बताए। अर्को उमेर र पढाइमा जोडिने खालका विषयवस्तु पनि पाठ्यक्रममा समेटिनुपर्ने उनको भनाइ छ।

‘यहाँ उमेर र पढाइमा जोडिने ठाउँ छैन, किन भने ५ कक्षाको बच्चा भनेको १०, ११ वर्षको होला। उसको नेपाली पढ्ने क्षमता कति हो?, हिमाल,पहाड र तराईमा बस्नेहरूको क्षमता कति हो?, यो खालको क्षमतासँग जोडेर विषयवस्तु समेटिनुपर्छ’, उनले भने।

उनका अनुसार अब पढेर मात्र पुगेन। केही गर्नलाई सीप चाहियो भनियो तर कस्तो माटो, भूगोलमा के–के फल्छ भन्ने अझै विद्यार्थीलाई सिकाइएन। ‘हामी खाली सम्भावना मात्रै हेरेर दिमाग बन्द गर्‍यौँ’, उनी भन्छन्, ‘यसलाई खुला गरिनुपर्छ, सीप दिएर व्यावहारिक रूपमा लागू गराउनुपर्छ।’

उनका अनुसार पाठ्यक्रमको विकास गर्दा विरोधी र चिन्तन दिन र गर्न सक्ने विज्ञ राख्नुपर्छ। त्यस्तो अभ्यास हाम्रो पाठ्यक्रम विकास केन्द्रबाट भएको छैन। ‘विज्ञ भनेको परस्पर विरोधी चिन्तन दिने हुनुपर्छ। त्यसो भएपछि पो नयाँ कुराकानी जन्मिन्छ र बनाउन सकिन्छ। यो खालको संस्कृति हामीसँग छैन। पाठ्यक्रम विकास केन्द्रले उनीहरूले पत्याएको विज्ञ राख्छ, जो सामान्यतया आफूलाई विमति नजनाउने मान्छे हुन्छन्, विमति जनाए विज्ञ होइन भन्ने हामीकहाँ चलन छ’, उनले भने। 

‘पाठ्यक्रमसँगै शिक्षक पनि व्यावसायिक सीप जानेको हुनुपर्छ’

शिक्षाविद् शर्मा अहिलेको आवश्यकताअनुसार पाठ्यक्रम नबनेको र त्यही कारण शैक्षिक क्षेत्र अगाडि बढ्न नसकेको तर्क गर्छन्। ‘हामीले घरमा दिएको चिज र दैनिक प्रयोग हुने उपकरणका बारेमा नै सिकाएनौँ। सानैमा सिकाउनुपर्छ, जस्तो बैंकमा कसरी पैसा डिपोजिट र कारोबार गर्ने भन्ने कक्षा ८ भन्दा तल तहमै यस्ता सिकाउनुपर्छ तर त्यस्तो पाठ्यक्रम बन्न सकेन’, उनले भने।

उनले कक्षा ८ माथिको पाठ्यक्रममा एउटा सानो भए पनि विद्यार्थीलाई व्यावसायिक सीप सिकाउनुपर्ने विषयवस्तु राख्नुपर्ने बताए। ‘कुन विषय लिने? अनि केही न केही व्यावसायिक सीपका कुरा जान्नुपर्छ, ताकि पछि व्यवसाय सञ्चालन गर्न सकोस्’, उनले भने।

राज्यले सबैलाई रोजगार दिन नसक्ने भएकाले विद्यार्थीहरूलाई आफूले आफैलाई व्यावसायिक बन्न सिकाउनुपर्ने उनको जोड छ। ‘सबैलाई जागिर दिने लक्ष्य छैन। त्यसैले आफैले गर्न जान्ने बनाउनुपर्छ, सोच दिनुपर्छ, कक्षा ९ देखि १२ मा केही न केही क्षेत्रमा सीप विकास गरेर त्यसलाई व्यवसायीकरण गर्नुपर्छ। यसो गरे रोजगारीको लागि विदेश जानु पर्दैन। यस्ता सीपमूलक कुराहरू पाठ्यक्रममा अब समावेश गर्नुपर्छ’, उनले भने।

उनका अनुसार यसअघि ‘पेशा व्यवसाय प्रविधि’ भन्ने विषय थियो। यसले विद्यार्थीहरू व्यावसायिक र व्यावहारिक बनाउन धेरै टेवा पुगेको थियो।

‘अहिले खाइदिए, विषय नै राखिएन, पढाउने शिक्षक पेशा व्यवसायी शिक्षित भएनन्’, उनले भने, ‘शिक्षकमा व्यावसायिक सीप छैन अनि कसरी हुन्छ?,शिक्षक र पाठ्यक्रम हाराहारी जानुपर्छ, पाठ्यक्रम बनाइदिने त्यहीअनुसार शिक्षक नपढाउने भए के काम? त्यसैले विद्यालय स्तरबाट नै विद्यार्थीले गरिखान सक्ने क्षमताको विकास गराउनुपर्छ।’

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अर्याल भने नयाँ पाठ्यक्रममा धेरै व्यावहारिक विषयवस्तु समावेश गरिएको दाबी गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.