|

म्याग्दी : धौलागिरि क्षेत्रबाट रैथाने बाली लोप हुुन थालेको छ। केही वर्षअघिसम्म म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लाका उच्च हिमाली क्षेत्रदेखि तल्लो क्षेत्रका फाँटमा लगाइने रैथाने बाली लोप हुन थालेको हो।

उन्नत जातको बीउको अभाव, बाली संरक्षणका लागि सरकारले प्रभावकारी कार्यक्रम नल्याउनु, कृषक पनि रैथाने बालीको खेतीतर्फ आकर्षित नहुनु जस्ता कारणले कोदो, जौ, लट्टे लगायतका रैथाने बाली लोप हुने अवस्थामा पुगेको कृषक बताउँछन्।

पुखौँदेखि उत्पादन गरिँदै आएका रैथाने बाली उत्पादनमा नयाँ पुस्ता आकर्षित नहुँदा लोपोन्मुख भएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए। रैथानेबाली उत्पादनका लागि लगानी र समय धेरै लाग्ने तर प्रतिफल न्यून हुने भएकाले पछिल्लो समय किसानले यसको खेती गर्न छाडेका उनको भनाइ छ।

आगाँ, जौ, ताकमारे, गुडुरा, गौरिया जातका धान, कोदो, जौँ, लट्टे, कागुनो, फापर, उवा, चिनो, सिलाम आदि बाली संरक्षण गर्न सरकारले बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र निर्माण गरे पनि त्यसको प्रभावकारिता नदेखिएको कृषि क्षेत्रका जानकार बताउँछन्।

उन्नत जातको बीउ अभाव, बाली संरक्षणका लागि सरकारले प्रभावकारी कार्यक्रम नल्याउनु, कृषक पनि रैथाने बालीको खेतीतर्फ आकर्षित नहुनु जस्ता कारणले कोदो, जौ, लट्टे लगायतका रैथाने बाली लोप हुने अवस्थामा पुगेको कृषि प्राविधिक जगत बानियाँले बताए।

सरकारले विशेषगरी कोदो, लट्टे, कागुनो र फापरलाई रैथाने खाद्यको रूपमा विस्तार गर्दै लैजाने योजना बनाए पनि विदेशबाट कोदो, मकै, चामल लगायतका वस्तु आयात बर्सेनी बढ्दो क्रममा रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए।

यो क्षेत्रमा कोदोको परिकार खाने क्रम कम हुँदै आएको छ। गाउँघरमा परिवारलाई आवश्यक पर्ने जति मात्र उत्पादन गर्ने भए पनि व्यावसायिक रुपमा उत्पादन गर्ने प्रचलन नरहेको बागलुङ मूलपानीका कृषक रमेश पौडेलले बताए।

कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलका अनुसार रैथाने बाली मानिने, कोदो, फापर, कागुनो, लट्टे जस्ता बाली अहिले धेरैले लगाउनै छाडिसकेका छन्। खेती गर्नेले पनि आफ्नै परिवारलाई आवश्यक पर्ने जति मार्ग रोप्ने गरेका छन्। उनले भने ‘रैथाने बाली बचाउन सरकारले अनुदानको समेत व्यवस्था गरेको छ तर, पनि धेरै यसबाट टाढा छन्।’
‘हाइब्रिड’ तथा उन्नत बीउका कारण रैथाने बालीहरु लोप हुने क्रम बढेको कृषि वैज्ञानिक टीकाबहादुर कार्की बताउँछन्। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तर्गत रैथाने बालीलाई प्रथमिकता दिए पनि कृषक रैथाने बाली संरक्षणतर्फ आकर्षित नदेखिएको उनले बताए।

पछिल्लो समय नेपालको मकैलाई विस्थापन गर्दै चीनबाट ‘वेक्स क्रप’ (मकै) आयात हुन थालेको उनको भनाइ छ। उक्त मकै उसिनेर खान धेरै प्रयोग हुने भएकाले आयात धेरै भइरहेको उनले जानकारी दिए। विगत १०÷१२ वर्षदेखि आयात हुन थालेको सोे चिनिया मकै विशेषगरी रेष्टुरेण्टमा प्रयोग हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.