|
फाइल तस्विर

काठमाडौं : चावहिल-साँखु सडकखण्डअन्तर्गत मूलपानीका स्थानीय सडक कालोपत्रे माग गर्दै मंगलबार आन्दोलनमा उत्रिए। लामो समयदेखि हिलो र धुलोको सास्ती भोगेका स्थानीयले आन्दोलनबिना सडक कालोपत्रे नहुने भन्दै आन्दोलनमा उत्रिएका हुन्।

करिब ८ वर्षदेखि अलपत्र रहेको सो सडक मर्मत गर्नका लागि आन्दोलनको विकल्प नदेखेर सडक आन्दोलन गर्नु परेको स्थानीय हरिबहादुर थापाले सुनाए। आफ्नो माग सम्बोधन नभएसम्म सडक नखोल्ने उनीहरूको तर्क छ। सो सडकको ठेक्का बज्रगुरु र च्याङ मिलर खानी जेभीले पाएको छ। वर्षाैंदेखि अलपत्र सो सडक निर्माणको काम अगाडि बढेको छैन। 

सोही सडकखण्डका अन्य स्थानमा पनि स्थानीयले आन्दोलन नगरी सडकको मर्मत नभएकाले यस क्षेत्रमा पनि आन्दोलन नै गर्नु परेको थापाको तर्क छ। उनी भन्छन्, ‘जनताले सडकमा टायर नबाली कालोपत्रे नहुने भयो। अब टायर बालेर आन्दोलन गर्नुको विकल्प छैन।’ 

केही दिनअगाडि सोही सडकखण्डअन्तर्गत थली बजारका स्थानीयले एक साता सडक अवरुद्ध गरे। यसअघि पनि आन्दोलनमा उत्रिएका स्थानीयले एक दिनमात्र आन्दोलन गर्दै आएका थिए। सो आन्दोलनले सार्थकता पाएन।

सडक कालोपत्रे माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयले काम शुरु नभएसम्म आन्दोलन जारी राखे। बज्रगुरु र बिरुवा खानी जेभीले रातारात काम शुरु गर्‍यो। हाल सो सडकको बीचको लेनमा कालोपत्रे भएको छ भने अन्य लेनमा कालोपत्रेको काम शुरु भएको छैन।  

त्यस्तै गरी इन्द्रायणी सडकमा पनि स्थानीयले सडक निर्माणका लागि आन्दोलन गरेका थिए। आन्दोलनपछि मात्र काम शुरु भएको थियो। त्यस्तै गरी  बौद्ध-जोरपाटी सडक झण्डै ४ वर्षदेखि अलपत्र थियो।

धुलो र हिलोले आजित भएका स्थानीयले सडक पिच गर्न माग गर्दै आन्दोलन गरे। गाडीमा ढुंगा हानेका थिए। साँझ नपर्दै सरकार झुक्यो र ठेकदार युनाइटेड बिल्डर्स पनि रातारात काम गर्न तयार भएको थियो। सो आन्दोलनपश्चात करिब २ वर्षअगाडि सो कालोपत्रे सम्पन्न भएको छ।     

चावहिल साँखु सडकखण्डमा अझै पनि करिब ३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ। काम शुरु भइरहेकाे सडक विस्तार आयाेजनाले जनाएकाे छ। कालोपत्रे माग गर्दै आन्दोलन भए पनि सडक विस्तारले भने कुनै चासो देखाएको छैन। सरकारले चाबहिल साँखु सडक निर्माण तत्कालै सम्पन्न हुन्छ भन्दै आश्वासन देखाएको ७ वर्ष पूरा भयो तर सडक कालोपत्रे भएन।

१२ किलोमिटर लम्बाइको उक्त सडक चौडा विस्तार गरेर चार लेन फराकिलो बनाउने, सडकका दुवैतर्फ फुटपाथ र २/२ मिटर अपांगमैत्री संरचना बनाउने गरी २२ मिटर चौडा बनाउन ०७२ सालमै सम्झौता भएको थियो। स्तरोन्नति शुरु गरेको ७ वर्षमा करिब ९ किलोमिटर मात्र कालोपत्रे गरेको सडक विस्तार गरिएको आयोजनाले जनाएको छ।

पाँच चरणमा काम भइरहेको उक्त सडकको काम अझै पूरा हुन सकेको छैन। युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु–च्याङमिलारखानी जेभी, बज्रगुरु–बिरुवाखानी जेभी र बिटी–सुनकोशी र वर्ल्डवाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। पछि लामा र समानान्तर जेभी कम्पनी पनि यही सडक निर्माणमा थपिएको छ।

चाबहिलदेखि नारायणटारसम्म भने सम्पन्न भएको छ। जग्गाको मुआब्जाका कारण स्थानीयले अवरोध गरेको भन्दै सडकको काम अगाडि बढ्न सकेको थिएन। सरकारले उपलब्ध भएको जग्गामा कालोपत्रे गर्न आदेश दिएको ३ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन सकेको छैन।

सरकारको विकास मोडलमा नै समस्या रहेको जानकारहरू बताउँछन्। अन्तरराष्ट्रिय अभ्यास हेर्दा शहरी सडकहरू ३ सिफ्टमा काम गरेर एक वर्षभित्रै बनाउनु पर्ने पूर्वाधारविद सूर्यराज आचार्य बताउँछन्।

सडक निर्माणको काम अलपत्र पार्दा अर्थतन्त्रमा भार पर्ने उनको तर्क छ। एकातिर सरकारलाई आर्थिक भार पर्छ भने अर्कातिर सर्वसाधारणले सास्ती भोग्नुपर्ने हुन्छ। सरकार र ठेकेदार कम्पनी दुवैको लापरबाहीले सडक निर्माणको काम समयमा नै अगाडि बढ्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.