|

काठमाडाैं : कतारमा सम्पन्न फिफा विश्वकप–२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ। लियोनेल मेसीको उत्कृष्ट प्रर्दशनसँगै अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै तेस्रो पटक विश्वकपको ताज पहिरिएको छ।

युरोप र दक्षिण अमेरिकाकै दबदबा रहेको विश्वकपमा यसपाली पनि एशिया, अफ्रिका, उत्तर अमेरिकी राष्ट्रले उपाधि त परै जाओस् फाइनलसम्म पनि पुग्न सकेनन्।

अफ्रिकी राष्ट्र मोरक्कोले इतिहास रच्दै अन्तिम ४ सम्म स्थान बनायो। एशियाली राष्ट्रहरूले प्रिक्वाटरफाइनल पार गर्न नसके पनि जति खेल खेले त्यो उत्कृष्ट रह्यो।

विश्व च्याम्पियन भइसकेका जर्मनी , अर्जेन्टिना र स्पेनजस्ता राष्ट्र एशियाली देशहरूसँग समूहचरणमा स्तब्ध बने। पोर्चुगल, वेल्स र डेनमार्कजस्ता युरोपका उच्च स्तरका देश पनि एशियाली राष्ट्रसँग हार्न पुगे।

आयोजक कतारलाई छोडेर भाग लिएका इरान, साउदी अरब, जापान, काेरिया लगायतका देशले यो संस्करणमा एशियाली टोलीले यसअघि पाउन नसकेको उपलब्धि प्राप्त गरे।

अघिल्ला संस्करणमा एशियाबाट प्राय: ४ देश मात्र छनौट भएकोमा यसपाली आयोजक कतारसहित ६ वटा देशले ३२ राष्ट्रको भिडन्तमा परीक्षा दिएका थिए। एशियाबाट विश्वकपमा सहभागी ६ राष्ट्रमा दक्षिण कोरिया, जापान र अस्ट्रेलियाले समूह चरण पार गरे।

समूह ‘ई’ मा रहेको जापानले पहिलो खेलमा ४ पटकको विश्व विजेता जर्मनीलाई २–१ ले हराएर सनसनी मच्चाएको थियो। दोस्रो खेलमा कोष्टारिकासँग १–० ले पराजित भए पनि समूह चरणको अन्तिम खेलमा सन् २०१० को विश्व च्याम्पियन स्पेनलाई २–१ ले पराजित गरेको थियो।

यो नतिजाले जर्मनी पहिलो राउण्डबाटै बाहिर धकेलियो। सन् २०१८ मा पनि एशियाली राष्ट्र दक्षिण कोरियासँग २–० ले समूहचरणमा पराजित भएको जर्मनी पहिलो राउण्डबाटै घर फर्किएको थियो।

जापान जर्मनी र स्पेनलाई उछिन्दै आफ्नो समूहको शीर्षस्थानमा रहन सफल भयो। जापान राम्रो खेल पस्किँदा पस्किँदै पनि अन्तिम १६ बाट अगाडि बढ्न सकेन।

अघिल्लो संस्करणमा बेल्जियमलाई अन्तिम समयसम्म अग्रता बनाउन नसक्दा क्वाटरफाइनल पुग्नबाट बन्चित बनेको जापान यसपाली क्रोयसियासँग राम्रो खेल्दा खेल्दै पेनाल्टी सुटआउटमा पराजित बन्यो।  

समूह ‘एच’ मा रहेको अर्को एशियाली राष्ट्र दक्षिण कोरियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई २–१ ले निराश बनाएर प्रिक्वार्टरफाइनलमा स्थान बनाएको थियो।

अफ्रिकी राष्ट्र घानासँग समूह चरणमा ३–२ ले हारे पनि अन्तिम खेलमा पोर्चुगलसँगको सकारात्मक नतिजाले उसलाई अन्तिम १६ मा पुर्याएको थियो। पोर्चुगल विरुद्ध किम टोमग्वोन र ह्वाङ हि चानले गोल गरेका थिए।

५ पटकको विश्व च्याम्पियन ब्राजिलसँग अन्तिम १६ मा भिडेको कोरिया ४–१ गोल अन्तरले पराजित भयो। ब्राजिलले चारवटै गोल पहिलो हाफमा गरेको थियो। कोरियाका पाइक सियोङले ७६ औँ मिनेटमा गोल फर्काएका थिए।  

समूह ‘डी’ मा एशियाली कोटामै छनोट भएको अस्ट्रेलियाले ट्युनेसिया र डेनमार्कलाई समान १–०  गोल अन्तरले हराएर अन्तिम १६ मा पुगेको थियो। अष्ट्रेलिया, अर्जेन्टिनासँग २–१ गोल अन्तरले प्रिक्वार्टरफाइनलमा पराजित भएको थियो।

कतार विश्वकपको विजेता अर्जेन्टिना यो संस्करणको आफ्नो पहिलो खेलमै एशियाली राष्ट्र साउदी अरबसँग २–१ ले स्तब्ध बनेको थियो। त्यो नतिजाले अर्जेन्टिनी फ्यानहरू निराश मात्र भएनन् , कतिले त कतै अर्जेन्टिना समूहचरणमै त रोकिने होइन भन्ने लख समेत काट्न भ्याए।  

यो संस्करण साउदीका लागि सहभागिता जनाएका विश्वकपमध्येकै सबैभन्दा उत्कृष्ट ठहरियो। लियोनेल मेसीको गोलबाट अग्रता लिएको अर्जेन्टिनालाई सालेह अलसेरी र सलिम अल द्धाश्रीले ५ मिनेटको अन्तरमा २ गोल गरेर साउदीलाई ३ अंक दिलाएका थिए।

विश्वकपमा सधैं धेरै गोल खाने एसियाली राष्ट्रको सूचीमा रहेको साउदी अरबले हार्दा पनि गोल अन्तर घटायो।

पोल्याण्डसँग २–० ले पराजित हुँदा मेक्सिकोसँग २–१ ले निराश बन्यो। समूह ‘बि’ मा रहेको इरान सुरुवाती खेलमा इंगल्याण्डसँग ६–२ अन्तरले पराजित हुँदा वेल्सलाई भने २ –० को अन्तरमा हराउन सफल भयो। दुबै गोल इन्जुरी समयमा भएको थियो। इरान, अमेरिकासँग १ गोलले हार्न पुग्यो।

आयोजक कतारले इक्वेडर , सेनेगल र नेदरल्याण्ड्ससँग पराजय बेहोर्‍याे। एशियाली राष्ट्रले आफूभन्दा अब्बल मानिएका टोली विरुद्ध खेल्दा साहसिक खेल प्रदर्शन गरका छन्।

उनीहरूको त्यो खेल जो कसैका लागि पनि लोभ लाग्दो रह्यो। बलिया टिम विरुद्ध उनीहरूले रक्षात्मक खेल पस्कदै ‘काउन्टर अट्याक’ मा गोल गरेका छन्।  चाहे त्यो साउदी अरबले अर्जेन्टिनाविरुद्ध खेलेको खेल होस् या जर्मनीमाथि जापानको जित त्यसकै उदाहरण नै हो।

दुबै खेलमा सुरुवाती अग्रता अरु देशको भएपनि त्यसलाई उल्टाएर एशियाली देशले जित दर्ता गरेका थिए।  

पछिल्ला ८ संस्करणमा जापान र दक्षिण कोरियाले निरन्तर एशियाली देशको प्रतिनिधित्व गर्दै आएका छन्। कोरिया भने पछिल्ला १० विश्वकपमा सहभागी हुँदै आएको छ। राम्रो खेल पस्किए पनि अभागी टिमका रुपमा जापान रहेको छ भने कोरिया सन् २००२ मा सेमिफाइनलसम्म पुगिसकेको छ। पछिल्ला वर्षमा एशियाली टोलीले शारीरिक र रणनीतिक दुवै रूपमा फड्को मारेको फुटबल विश्लेषकहरू बताउँछन्।

उनीहरूको लगानी र ब्यवसायीक रुपमा युरोपमा खेल्न थाल्नु पनि प्रगतिको अर्को पाटो भएको विश्लेषक मृगेन्द्र मिश्र बताउँछन्। पूर्वखेलाडी समेत रहेका उनले यसरी एशियाली देशले अहिलको जस्तो नतिजा ल्याउँदै जाने हो भने उपाधिसमेत जित्न धेरै परको विश्वकप कुर्नु नपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.