२४ जनाविरुद्ध किटानी जाहेरी

|

धनगढी : हालै सम्पन्न संसदीय निर्वाचनका बखत मतदानकै दिन सुदूरपश्चिमको बाजुरामा एउटा घटना घट्यो। घटना थियो, नेकपा एमाले निकट अनेरास्ववियु बाजुराका विद्यार्थी नेता चेतन ऐडीको कुटेर विभत्स हत्या।

त्रिवेणी नगरपालिका–७ का चेतन नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा एमालेका तर्फबाट खटिएका थिए। त्यहाँ मतदान प्रक्रिया बिहानदेखि नै विवादित बनेको थियो। त्यहाँ नेपाली काँग्रेसका कार्यकताले बुथ कब्जा गर्न खोजेका थिए। नेकपा एमाले निकट (चेतनसहितका) कार्यकर्ताले त्यसको प्रतिवाद गरेका थिए।

त्यसै कुरालाई लिएर चेतनको हत्या गरिएको बताइन्छ। चेतनका आफन्तका अनुसार उनलाई नेपाली काँग्रेसका नेता कार्यकर्ताले लखेटी लखेटी शुरुमा कुटपिट गरेका थिए। त्यसपछि ज्यान बचाउन घरभित्र खाटमुनि लुकेर बसेको अवस्थाबाट बाहिर निकालेर निर्मम तरिकाले कुटेर हत्या गरिएको थियो।

मतदान केन्द्रमा भएको विवादले उग्र रूप लिएपछि सो घटना घटेको हो। नेपाली काँग्रेस तथा सत्ता गठबन्धनका नेता तथा कार्यकर्ताले चेतनाको हत्याको आरोप खेपिरहेका छन्।

अहिलेसम्म चेतनको हत्या आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। हत्या आरोपमा किटानी जाहेरी दर्ता भएकामध्ये १० जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो। उनीहरूमध्ये अधिकांश काँग्रेस कार्यकर्ता रहेको र जम्मा २४ जनाविरुद्ध किटानी जाहेरी परेको प्रहरीले बताएको छ।​

शुरुमा २२ जनाविरुद्ध किटानी जाहेरी आएको थियो। पछि थप २ जनाविरुद्ध किटानी परेको छ’, बाजुराका प्रहरी निरीक्षक रवीन्द्र कठायतले भने, ‘तीमध्ये १० जनालाई नियन्त्रणमा लिएका छौं, घटनाको अनुसन्धान भइरहेको छ।’

उनका अनुसार अहिलेसम्म ऐडीको हत्या घटनामा संलग्न भएको आरोपमा त्रिवेणी गाउँपालिका–७ का अध्यक्ष जुद्धबहादुर ऐडीसहित १० जना पक्राउ परेका छन्। घटनाका फरार १४ जना आरोपीको खोजी भइरहेको छ। त्रिवेणी गाउँपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको क्रममा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर कांग्रेसका सञ्जीव ऐडीको पनि मृत्यु भएको थियो। सोही राति कांग्रेस कार्यकर्ताले अनेरास्ववियुका नेता चेतनलाई घरमै गएर कुटपिट गरी हत्या गरेका थिए।

घटना भएको महिना दिन बितिसक्दा पनि दोषी कानूनी दायरामा नआएको भन्दै बाजुरामा अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ। उनीहरूले निरन्तर यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैरसरकारी कार्यालय बन्द गराउँदै आएका छन्। महिना दिन बित्दा पनि अभियुक्त पक्राउ नगरी प्रहरीले चरम लापरबाही गरेकाले यातायात, शैक्षिक संस्था, सरकारी कार्यालय र बजार बन्द गराएको अनेरास्ववियुका नेता लक्ष्मण रोकायाले बताए।

ऐडीका लागि न्यायको माग गर्दै अनेरास्ववियुले बाजुरामा यातायात सेवा अनिश्चितकालका लागि बन्दको आह्वान गरेको छ।

वडाध्यक्ष निलम्बन

हत्या आरोपित जुद्धबहादुर ऐडी निलम्बनमा परेका छन्। चेतन हत्या प्रकरणमा मुछिएपछि पक्राउ परेका वडाध्यक्ष ऐडीलाई मंगलबार पुर्पक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरिएको छ। ऐडी थुनछेक आदेशमार्फत कारागार चलान भएपछि स्वतः निलम्बनमा परेको निर्वाचन आयोगले जनाएको छ। जिल्ला अदालत बाजुराका स्रेस्तेदार पुष्पराज पाण्डेका अनुसार उनको घटनामा कुनै संलग्नता नरहेको पाइए निलम्बन स्वतः फुकुवा हुनेछ।​

ऐडीसहित थप ९ जनालाई कारागार चलान गरिएको बताइएको छ। सरकारी वकिलको कार्यलय बाजुराले २४ जनाविरुद्ध जन्मकैद माग दाबीसहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो। २४ जनामध्ये १० जना मात्र प्रक्राउ परेका छन्।

एकजना उपचाररत रहेकाले प्रहरीले ९ जनालाई मात्र जिल्ला अदालतमा पेश गरेको जनाएको छ। बाँकी १४ जना फरार छन्। उनीहरूको खोजतलासमा प्रहरी सक्रिय छ। जिल्ला अदालत बाजुराले बाँकी १५ जनालाई ३० दिनभित्र अदालतमा हाजिर हुन पत्राचारसँगै वारेन्ट जारी गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.