|

बनेपा : देशमा रोजगारी नभएको भन्दै युवाहरू वैदेशिक रोजगारीका लागि मेनपावर धाइरहेको देखिन्छ। दिनहुँ सयौँको संख्यामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीका लागि जानेहरूको दृश्य सामान्य हुन थालेको छ।

अझै युवाहरू विदेशिने तरखरमा छन् भने कतिपय कोरिया, जापान, अष्ट्रेलिया लगायतका देशमा जान भाषा पढिरहेका छन्।

यस्तो अवस्थामा मेहनत र लगनशील भएर काम गर्न सके स्वदेशमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, महिषपालक ४३ वर्षीय कुमार कार्की। जिल्लाको खानीखोला गापा–१ स्थित स्याउरीथलीमा कार्कीले भैँसी पालेर मासिक एक लाख २० हजार कमाउँदै आएका छन्।

कार्की बिहान उठेदेखि सुत्नुअघिसम्म भैँसीगोठमै व्यस्त हुन्छन्। उनको दिनचर्या भैँसी चराउने, घाँस काट्ने, कुँडो खुवाउने, दूध दुहुने, खुवा बनाउने जस्ता कामले भ्याईनभ्याई छ।

स्थायी घर जिल्लाकै रोशी गापाको निंगाले भए पनि उनले करिब ५ घण्टाको दूरीमा रहेको खानीखोला गापामा पर्ने स्याउरीथलीमा भैँसीपालन गर्दै आएका छन्। उनको गोठबाट दैनिक ४५ लिटर दूध उत्पादन हुन्छ। उत्पादित दूधबाट उनी खुवा बनाउँछन्। कार्कीका अनुसार ४५ लिटर दूधबाट ४ धार्नी खुवा तयार हुन्छ। उक्त खुवा उनले पनौती र बनेपा ल्याएर बेच्ने गर्छन्।

उनले गोठमै लिन आउनेलाई खुवाको प्रतिकिलो २०० र बजारमा पुर्‍याउँदा २५० लिने गर्छन्। अहिले उनको गोठमा १३ वटा भैँसी छन्। तीमध्ये ८ वटा भैँसीले दूध दिइरहेका छन्। उनले सधैँ एकै ठाउँमा घाँस नपाइने हुँदा वेलावेला गोठ सार्दै हिँड्नु परेको समस्या बताए।

उनले अहिलेसम्म कतैबाट अनुदान लिएका छैनन्। जे जति छ, त्यो आफ्नै लगानी र मेहनत हो।​

भैँसीपालनबाट राम्रै आम्दानी भएका बताउँदै उनी यही पेशाबाट छोराछोरीको पढाइ खर्चसँगै घरपरिवारको गुजारा चलेको बताउँछन्। उनका श्रीमती, छोरा र छोरी गरी ४ जनाको परिवार छ।

उनले खुवा बेचेर मासिक एक लाख २० हजार रुपैयाँ आम्दानी भए पनि भैँसीको दाना, घरखर्च, पढाइ सबै खर्च कटाएर ५० हजार रुपैयाँ बच्ने गरेको बताए। भैँसीलाई उनीहरूले लेकमा पाइने घाँस र दाना खुवाउँछन्। जंगलछेउमा भएकाले बाघ आउने गरे पनि अहिलेसम्म कुनै क्षति भने नभएको सुनाए। उनको भैँसी फार्म भने दर्ता छैन।  

भैँसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि विदेश जाने सोच समेत त्यागेको बताए। ‘विदेश जाने सोचमा थिएँ। भैँसीपालनबाट राम्रो आम्दानी हुन थालेपछि सोच परिवर्तन गरेँ’, उनले भने, ‘मेहनत गरे विदेशमा कमाउने आम्दानी यही हुने रहेछ।’

खानीखोला गापा अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले कार्कीको भैँसीगोठमै पुगी गापाले कृषकलाई भैँसी वितरण कार्यक्रम ल्याउने तयारीमा रहेकाले फार्म दर्ता गर्न सल्लाह दिएका छन्। स्वदेशमै केही गरौँ भन्ने सोचले काम गर्नेलाई आफ्नो सहयोग रहने उनले बताए। पछिल्लो केही वर्षयता खानीखोला खुवाका लागि विशेष क्षेत्रका रूपमा चिनिन थालेको छ।

दुग्ध उत्पादक किसानलाई अनुदान

गापा अध्यक्ष थिङले दुग्ध उत्पादक किसानलाई अनुदान दिने गरी गापाको आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम समेटेर योजना अघि बढाइसकेको जानकारी दिए।

उनले कार्यविधि निर्माण गरी दुग्ध उत्पादक किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिइने बताए। उनका अनुसार कृषि एवं पशुपन्छी सम्बन्धी कार्यक्रमलाई सहकारी र समूहमार्फत सञ्चालन गर्ने गरी काम अघि बढाइरहेको छ।

अध्यक्ष थिङले जसको उत्पादन उसैलाई अनुदान कार्यक्रममार्फत किसानलाई एक सयभन्दा बढी भैँसी वितरण गर्ने तयारीमा जुटिरहेको बताए। त्यस्तै उनले यसै आर्थिक वर्षभित्र गाउँपालिकाको प्रमुख उत्पादनको रूपमा रहेको कफीलाई मुख्य नगदे बालीको रूपमा विकास गरी अनुदानका कार्यक्रम ल्याउने बताए।

उनले फिल्डमा कृषकले कृषि एवं पशुपन्छी पाले पनि कानुनी प्रक्रिया थाहा नभई फार्म दर्ता नहुँदा अनुदान दिन समस्या भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.