|

काठमाडौं : मगंलबार दिउँसो ७६ वर्षीय सभापति शेरबहादुर देउवाको विकल्पमा युवा महामन्त्री गगन थापाको उम्मेदवारीले नेपाली राजनीतिक वृत्तमा हलचल नै ल्याइदियो।

नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री थापाको पक्षमा युवा नेताहरू खुलेरै लागे। उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, अर्का सांसद प्रदीप पौडेलसहितका नेताहरूले गगनलाई समर्थन गरे। 

पार्टीभित्रका प्रभावशाली मानिएका युवा नेताहरूले नै समर्थन गरेपछि गगनले नतिजा उल्ट्याउन सक्ने अनुमानहरू हुन थाले। मानिसहरूले कांग्रेस सांसदहरूको ‘विवेक’को अग्नि परीक्षा हुने भन्दै गगनको पक्षमा मतदान गर्न आह्वान पनि गरे।

सामाजिक सञ्जाल र मिडियाहरूमा पनि सोही अनुसार चर्चा परिचर्चा भयो। तर, नतिजाका लागि बुधबार बिहानसम्म कुर्नुको विकल्प रहेन। 

जसले परिवर्तन चाहेनन्...

संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा ६४ मतसहित विजयी भए। ८९ जना सांसदमध्ये ६४ मत पाएर देउवा भारी मतान्तरले दलको नेतामा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी महामन्त्री थापाले जम्मा २५ मत मात्रै पाए। 

चुनावअघि आफ्नो पक्षमा ३७ सांसदको हिसाब गरेर संस्थापन पक्षको ८ मत तान्ने योजनामा रहेका थापाले उल्टै आफ्नो १२ मत गुमाए। मंगलबार साँझसम्मको अवस्था हेर्ने हो भने देउवाको पक्षमा ५२ र गगनको पक्षमा ३७ जना सांसद थिए।

तर, बुधबार बिहानको हिसाब गडबड भयो। मंगलबार साँझ सम्म प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, राजेन्द्र केसीसहितका पाँच जना सांसद गगनको पक्षमा खुलेका थिए। तर, सोही दिन राति नै माहोल परिवर्तन भएको गगन पक्षका एक सांसदले बताए।

उनले १२ जना सांसदहरू मंगलबार राति नै प्रभावित भएर देउवाको पक्षमा मत हालेको जिकिर गरे। ‘गगनजीले चुनाव जित्नुहुन्न भन्नेमा त ढुक्क थियौँ । तर, हामीले सोचेजति मत पनि आएन। हाम्रै १२ जना सांसदहरू प्रलोभनमा परेर उता (देउवा) तिर जानुभयो। यो धरै दुःखद् पक्ष हो,’ ती सांसदले थाहा खबरसँग भने। 

हिजोसम्म गगनको पक्षमा खुलेको दाबी गरेका सांसद राजेन्द्र केसी मतपरिणामबारे खुलेर कुरा गर्न चाहेनन्। मंगलबार हामीसँग ‘युवा’लाई समर्थन गर्ने हो भनेका केसीले भने, ‘यसमा मेरो कुनै कमेन्ट छैन।’ 

संसदीय दलको निर्वाचन अगाडि नै देउवाको जित निश्चित रहेको बताएका उनले पार्टीको आन्तरिक विषयमा आफू नबोल्ने बताए। गगन पक्षका सांसद सञ्जय गौतम सोचेभन्दा कम मत आएकाले यो निर्वाचन अप्रत्याशित रहेको बताउँछन्।

उनले आफ्ना पक्षका ७ सहित अन्य पाँच मत क–कसले देउवालाई हाल्यो त्योबारे समीक्षा भइरहेको बताए। 

‘यो निर्वाचनलाई हामीले अप्रत्याशित रूपमा लिएका छौं। हामीले नाम तोकेर यकिन गरेका मान्छेले नै भोट हालेनन्। क–कसले कता हाले भन्ने विषय बाहिर ल्याउन मिल्दैन। तर, हामी समीक्षा गर्छौँ,’ उनले थाहा खबरसँग भने। 

महामन्त्री थापाले पनि आफूले सोचेभन्दा कम मत पाएको स्वीकार गरेका छन्। उनले कांग्रेसका अधिकांश सांसदहरू पुरानै शैलीमा पार्टी चलाउने पक्षमा उभिएको बताएका छन्। 

‘कांग्रेसका अधिकांश सांसद साथीहरू पार्टीलाई पुरानै शैलीमा चलाउने पक्षमा उभिनुभयो। यसलाई म स्वीकार्छु। अब म मलाई मत नदिने साथीहरूको पनि मन जित्ने प्रयास गर्छु। फेरि केही समयपछि निर्वाचन हुन्छ। हामी फेरि प्रतिस्पर्धा गरौँला। त्यो बेलासम्म नयाँ परिणाम आउला, त्यसबेलासम्म आफ्नो पक्षमा नतिजा ल्याउँछु भन्नेछ। यो परिणाम मेरा लागि अनपेक्षित थियो। मैले अझै मिहिनेत गर्नुपर्ने भएको छ।’ 

गगनको परिपक्वता

२०३३ सालमा जन्मिएका गगनकुमार थापा उमेरले देउवाभन्दा ३० वर्ष कान्छा हुन्। ४६ वर्षको उमेर पार गर्दै गरेका थापा दुई पटक मन्त्री भइसके। प्रखर वक्ताका रूपमा चिनिएका महामन्त्री थापा ०६२/०६३ सालको जनआन्दोलनपछि चर्चामा आएका नेता हुन्।

समसामयिक विषयहरूमा सामाजिक सञ्जालमार्फत तत्काल प्रतिक्रिया जनाइहाल्ने थापा पार्टीको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए। उनी २०४६ सालको जनआन्दोलनदेखि नै सक्रिय थिए। त्यसबेला उनी कक्षा ९ मा पढ्दै आइरहेका थिए।  

समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे। थापा राजाको सक्रिय शासनका बेला कांग्रेस पार्टीभित्र गणतन्त्रको आवाज रूपमा उठाउने प्रखर युवा नेताको रूपमा परिचित हुन्।

तर, उनै थापालाई पार्टीका बहुमत सांसद्हरूले मन पराएनन्। शेखर समूहका एक सांसदले गगनमा देशको नेतृत्व गर्नसक्ने परिपक्कता नरहेको दाबी गरे। थापामा सबैलाई मिलाए लैजान सक्ने क्षमता विकास नभएकाले अझै केही वर्ष संघर्ष गर्नुपर्ने ती सांसदको भनाई छ। 

‘गगनजीले अपरिपक्कता प्रस्तुत गर्नुभयो। संसदीय दलको नेता हुन त्यही सजिलो छैन्। उहाँभन्दा धेरै सिनियर नेताहरू हुनुहुन्छ। उहाँहरू (सिनियर नेता) गगनजीको उम्मेदवारीमा असन्तुष्ट हुनुहुन्न थियो। त्यसकारण हाम्रो समूहमा भएको भोटसमेत पाउनुभएन,’ नाम उल्लेख नगर्ने सर्तमा ती सांसदले थाहा खबरसँग भने।

राजनीतिक विश्लेषक पुरूषोत्तम दाहालले गगन थापाले निर्वाचनका बेला मत माग्ने क्रममा अपरिपक्कता देखाएको बताए। 

‘गगनजीले निर्वाचनका बखत मत माग्ने क्रममा संसदीय मर्यादा विपरीत आफ्ना अभिव्यक्तिहरू दिइरहनुभएको थियो। उहाँले म अब संसदीय दलको नेता बन्छु भन्नु ठिक थिएन। जुन आज आएर प्रमाणित भयो,’ उनले भने। 

विश्लेषक दाहालले २०४६ सालको आन्दोलनदेखि संघर्ष गरेर आएका वृद्ध नेताहरूलाई वेवास्ता गर्नु गगनको गल्ती भएको बताए।

‘गगनजीको समय छ। उहाँले समयको मागलाई सम्बोधन गर्न सक्नुपर्छ। ०४६ सालदेखि रगत बगाइरहेका मान्छे छन्। उनीहरूको काम छैन भनेर अपमान गर्नुभयो। उनीहरूलाई बाहिर राख्नु नै गगनजीको गल्ती हो,’ दाहालले भने। 

किन व्याक भए शेखर ?

गगन थापाले निर्वाचनदेखि नै संसदीय दलको नेतामा उम्मेदवारी दिने बताउँदै आइरहे पनि नेता शेखर कोइराला यस विषयमा मौन थिए।

उनले संसदीय दलमा आफ्नो समूहबाट कसको उम्मेदवारी रहन्छ भन्ने विषय खुलाएका थिएनन्। तर, थापा निरन्तर यस विषयमा अभिव्यक्ति दिइरहे। स्वयं शेखरसँग पनि दलको नेतामा उम्मेदवारी दिने विषयमा समूहगत छलफल नगरेका थापाले मिडिया स्टन्टका लागि प्रधानमन्त्रीको एजेन्डा बोकिरहे। तर, निर्वाचनमा होमिएका कोइराला यस विषयमा मौन बसे। 

जब दलको नेता चयनको विषयले प्रवेश पायो उनले आकांक्षा देखाए। यस विषयमा दुई नेताबीच कुरा मिल्न सकिरहेको थिएन। दुवै नेता छुट्टाछुट्टै दलको नेतामा लड्ने निधो गरे। तर, उक्त समूहका नेताहरूले एक्लाएक्लै लड्दा पराजय हुने भएकाले मिलेर जान सुझाव दिए।

सोही बमोजिम सोमबार र मंगलबार भएको छलफलपछि मात्रै गगन उम्मेदवार बन्ने टुंगो लाग्यो। पार्टीको १५ औं  महाधिवेशनमा सभापतिमा सहयोग गर्ने सहमतिअनुसार गगन नै सर्वसम्मत दलको उम्मेदवार भए। शेखरले गगनलाई दलको नेतामा सहमति दिनुमा भित्री कारण रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताए। 

निरन्तर गगनले संसदीय दलको नेतामा दाबी गरेपछि र आफू पनि पराजित हुने देखेपछि कोइराला ‘ब्याक’ भएको ती केन्द्रीय सदस्यको दाबी छ। 

‘गगनजीले आफूले निर्वाचन अगाडि देखि नै संसदीय दलको नेतामा उम्मेदवारी दिने बताउँदै आइरहनुभएको थियो। शेखर दाइलाई पनि थाहा थियो कि अब चुनाव जित्दिनँ। त्यही भएर गगनजीलाई दिनुभएको हो,’ ती नेताले भने। 

राजनीतिक विश्लेषक पुरूषोत्तम दाहालले गगनलाई उचालेर पछारिएको बताए। उनले आफू निकट नेताहरूबाटै खुट्टा तान्ने प्रवृत्ति रहेकाले गगनले पनि सोही नियती भोग्नु परेको बताए। 

‘गगनलाई उनी निकट नेताहरूले उचालेर पछारे। नत्र भने शेखर किन संसदीय दलको नेतामा उठेनन्? किनकी उनलाई थाहा थियो म पराजित हुन्छु,’ उनले भने। 

मङ्गलबारको दौडधुप

आफ्नो समूहबाट नेता शेखर कोइरालाले संसदीय दलको नेतामा उम्मेदवारी दिने दाबी गरेका थिए। तर,  समूहबाट देउवाविरूद्ध संसदीय दलको नेताका लागि कसले उम्मेदवारी भन्ने विषय मंगलबार बिहान मात्रै टुंगो लाग्यो। सोमबारददेखि छलफलमा रहेका सो समूहका नेताहरूले मंगलबार मध्यान्ह मात्रै  गगनको नाममा सहमति जुटाए। 

आगामी महाधिवेशनमा शेखरलाई सभापतिमा सहयोग गर्ने सर्तअनुसार गगन संसदीय दलको नेतामा उम्मेदवार हुने विषयले अन्तिम निष्कर्ष पायो। उम्मेदवारको विषय टुंगो लागेपनि निर्वाचित हुन बहुमत सांसद खोज्नुपर्ने चुनौती शेखर समूहमा थपियो। 

पहिले नै बहुमत सांसद आफ्नो पक्षमा रहेका देउवा ढुक्क हुने अवस्था आएन किनकी गगनको पक्षमा युवा सांसदहरू धनराज गुरूङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत खुलेर लागेका थिए। उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले शशांक कोइराला, प्रकाशमान सिंह र रामचन्द्र पौडेललाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरे। 

घरमै भोट माग्न आएपछि उनीहरूले पनि हुँदैन भन्न सकेनन्। सहयोग गर्छौं भन्ने आश्वासन पाएका उनी ढुक्क त भएनन तर, सान्त्वना पाएपछि फर्किए। लाजिम्पाटस्थित एक होटलमा बसेका थापाको निगरानीका लागि सभापति देउवाले प्रहरी परिचालन गरेको आरोप लगाइएको छ। 

कांग्रेस महामन्त्री समेत रहेका थापा बसेको लाजिम्पाटस्थित एक होटलमा मंगलबार राति निरन्तर निगरानी गरिरहेको शंका लागेपछि समर्थकले दुई जना व्यक्तिलाई घेरेर नियन्त्रणमा लिएका थिए। दुवै जनाको साथबाट नेपाल प्रहरीको परिचय पत्र भेटिएको थापाका सहयोगी सबिन मुडभरीले बताएका छन्।

२१ वर्षअघिको घटना स्मरण

उमेरले ४६ वर्ष पार गर्दै गरेका थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिइरहँदा उनले आफ्नो २१ वर्ष अगाडिको एउटा घटना स्मरण गरेका छन्।

जतिबेला सिंहदरबारमा संसदीय दलको नेताको चयनका लागि सुशील कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुँदै थियो। तर, थापाले उक्त निर्वाचन हेर्नका लागि मुख्य गेटबाट प्रवेश पाएनन् तर, उनै थापा आज मूल गेटबाट प्रवेश गरेर संसदीय दलको नेताको उम्मेदवारका रूपमा प्रवेश गरे।

बुधबार बिहान संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा मतदान गर्न जाने क्रममा थापाले आजभन्दा २१ वर्ष अगाडि संसदीय दलको नेता चयनका लागि भएको निर्वाचन हेर्न नपाएको घटना स्मरण गर्दै भनेका थिए, ‘२०५८ सालमा शेरबहादुर देउवा र सुशील कोइरालाबीच भएको संसदीय दलको नेताका लागि भएको निर्वाचनमा मैले यो ठाउँबाट प्रवेश पाएको थिइनँ। पछाडिको गेटबाट निर्वाचन हेरेको थिएँ। त्यो दिन दिउँसो थियो। २०/२१ वर्षपछि मूल गेटबाट उम्मेदवारको रूपमा छिर्दै गर्दा मलाई स्वभाविक रूपमा गौरव छ। २० वर्षपछि एउटा उम्मेदवार त बदलियो तर, परिणाम चाही बदलिने होकि होइन भन्ने कुरा मतदाताले सोच्नुहुनेछ भन्ने लागेको छ।’ 

थापाले भनेजस्तो उम्मेदवारको रूपमा मूलगेटबाट प्रवेश गरेपनि पराजित रूपमा सोही गेटबाट बाहिरिनुपर्यो। उनी दलको नेतामा मात्रै पराजित भएनन् प्रधानमन्त्री बन्ने बाटो नै बन्द भयो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.