|

पर्वत : सहारा क्लब पोखराको आयोजनामा हुने २२ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा कुल १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

पुस १४ गतेदेखि २३ गतेसम्म हुने प्रतिस्पर्धामा आयोजक सहारा क्लब, धरान फुटबल क्लब, सङ्कटा क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च बोइज युनाइटेड फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, भुटानिज युथ स्पोर्ट्स क्लब, मिन्नेसोटा अमेरिका तथा विभागीय क्लबहरू नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब भिड्दै छन्।

यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता सञ्चालन गर्ने भनी एन्फाबाट समय तालिका प्राप्त गरेको भए पनि पुस १३ गतेको मैत्रीपूर्ण खेलका कारण प्रतियोगिता दुई दिन पछि सरेको हो। यसअघि १२ टिम सहभागी हुने भनिए पनि मैत्रीपूर्ण खेलकै कारण १० टिमको सहभागिता रहने छिनोफानो भएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए।

पोखरा रङ्गशालामा हुने खेलका लागि आयोजक सहारा क्लबले ‘टाई सिट’ पनि निकालिसकेको छ। पहिलो दिन पुस १४ गते सहारा क्लब पोखरा र धरान फुटबल क्लबबीच खेल हुनेछ। यसबाट विजयी टोलीले पुस १६ गते सशस्त्र प्रहरीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

पुस १८ गते नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र सङ्कटा क्लबबीचको खेल हेर्न पाइनेछ। यसबाट विजयी हुने टोलीले पुस १६ गतेका लागि राखिएको खेलबाट विजयी बनेर आएको टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

पुस २० मा हुने सेमिफाइनल खेलमा पुस १८ गतेको खेलबाट विजयी बन्ने आर्मी वा सङ्कटामध्येको एक टोलीले पुस १६ गतेको खेलबाट विजयी बनेर आएको टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। पुस गते हुने खेलमा सहारा र धरानबीच भएको खेलबाट विजयी बनेर गएको टोलीले एपिएफको टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

पुस १५ गते पुलिस क्लब र चर्च बोइजबीच प्रतिस्पर्धा हुनेछ। यो खेलबाट विजेता बन्ने टोलीले पुस १७ गते हुने खेलमा मच्छिन्द्र क्लबसँग खेल्नुपर्नेछ। यी ३ टोलीमध्येको एक टोली सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा अर्कोतर्फबाट मनाङ मर्स्याङ्दी वा भुटानिज युथसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

मनाङ मर्स्याङ्दी र भुटानिजबीचको खेल पुस १९ गते हुनेछ। यी दुईमध्येको एक टोली सेमिफाइनलमा प्रवेश गर्नेछ। यो समूहबाट जाने टोलीको सेमिफाइनल खेल पुस २१ गतेका लागि राखिएको छ। गोल्डकपको फाइनल खेल पुस २३ गते गर्ने गरी ‘टाइसिट’ तयार पारिएको छ।

यस पटकको संस्करणमा पुरस्कार राशिमा विजेतालाई २ लाख र उपविजेतालाई १ लाख रूपैयाँ नगद वृद्धि गरिएको छ। गत वर्ष विजेताले १० लाख र उपविजेताले ५ लाख रूपैयाँ पाएका भए पनि यो संस्करणमा भने विजेताले १२ लाख र उपविजेताले ६ लाख रूपैयाँ नगद प्राप्त गर्ने भएका छन्।

२०५८ सालमा क्याराभान गोल्डकपको नामबाट शुरु भएको मोफसलकै ठूलो प्रतियोगिता मानिने यो गोल्डकप यस वर्षबाट ‘आहा ! रारा पोखरा गोल्ड कप’ मा परिणत भएको हो। २०५८ सालमा ‘क्याराभान गोल्डकप’ नाम रहेकोमा त्यसयता ‘आहा ! रारा गोल्ड कप’ भन्ने गरिएको थियो।

गत वर्षको खेलमा विभागीय टोली एपिएफ क्लब विजेता बन्दा मनाङ मर्स्याङ्दी क्लबले उपविजेतामा चित्त बुझाएको थियो। अहिलेसम्म भएका खेलमा नेपाल पुलिस क्लब ६ पटक विजेता र २ पटक उपविजेता, मनाङ मर्स्याङ्दी क्लब ६ पटक विजेता र ६ पटक नै उपविजेता, थ्रि स्टार क्लब ५ पटक विजेता र एक पटक उपविजेता भएका छन्।

सहारा क्लब (पोखरा) एक पटक विजेता र २ पटक उपविजेता, एपिएफ क्लब एक पटक विजेता र एक पटक उपविजेता, अफ्रिकन यूनाइटेड क्लब  र सङ्कटा क्लब १/१ पटक विजेता, त्रिभुवन आर्मी क्लब ४ पटक उपविजेता बनेका छन्। कार्ल्टन फुटबल क्लब, फ्रेन्ड्स क्लब, जाउलाखेल युथ क्लब र अफ्रिकन रुट्स एसोसिएशनले पनि १/१ पटक उपविजेतामा नै चित्त बुझाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.