'दैवले परिवारको खुशी लुट्यो'

|

काभ्रे :  जिल्लाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालको आइसियुबाहिर एक महिला गम्भीर घाइते आफन्तको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेकी भेटिन्छन्। गहभरी आँसु लिएर अस्पतालको आइसियुबाहिर कुरिरहेका उनी उपचारत आफन्तको स्वास्थ्यमा सुधार भएको खबर सुन्न व्यग्र प्रतीक्षामा छिन्।

परिस्थिति भने उनले सोचेअनुरूप भइरहेको छैन। उनले चाहेको, आशा गरेको जस्तो पनि हुन सकेको छैनन्। उनी घरीघरी आइसियुको ढोकातिर आँखा दौडाइ रहिन्छन्। कोही देखे बिरामीको अवस्था सोधिहाल्छिन्। तर जवाफमा उपचार भइरहेको छ। उनले अपेक्षा गरेको जवाफ पाउँदिनन् र झन् आतिन्छिन्। यो दृश्य आइसियु वडाको बाहिरपार्टी घाइतेलाई कुरिहेकी हिरामाया तामाङको हो।

गत मंसिर २७ गते राति काभ्रेको बेथानथोक गाउँपालिका–५ स्थित च्याल्टीमा छेवार (व्रतबन्ध)मा सहभागी भएर फर्किने क्रममा बस बेथानचोक–४ चलालमा दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाए भने २२ जना घाइते भएका थिए। घाइतेहरूमध्ये केही अझै जिल्ला तथा राजधानीका विभिन्न अस्पतालमा उपचारत् छन्।

बस दुर्घटनामा बनेपा नगरपालिका–११ सल्लेकी हिरामायाले आमा र दुई दाजुसहित ८ जना आफन्त गुमाउन पुगिन्। जसमा आमा ७९ वर्षीया निर्मला तामाङ, दाजुहरू ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङसहित २७ वर्षीया कोपिला तामाङ, २८ वर्षीया मञ्जु तामाङ, ४३ वर्षीया हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ र ११ वर्षीय पुष्कर तामाङ छन्। अन्य मृतकहरू पनि छेवारमा आएका उनका आफन्त नै हुन्।

आमा सहितका आफन्त गुमाउनु पर्दाको पीडा त हिरामायालाई छँदै छ। त्यसमाथि जीवन मरणको दोसाँधबीच आइसियुमा मृत्युसँग लडिरहेको भाइ रवि तामाङको चिन्ताले उनीलाई झन् सताएको छ।

तीनजना दाजुभाइ मध्ये दुई दाजुहरू गुमाएका उनलाई भाइ पनि गुमाउनुपर्ने हो कि भन्ने डर उत्तिकै छ। त्यसैले उनी हरसमय आइसियुबाहिर भाइको स्वस्थ्य लाभको लागि भगवानसँग प्रार्थना गरिरहेकी छन्। बस दुर्घटनाका गम्भीर घाइते तामाङको टाउकोमा गहिरो चोट लागेको छ। दुर्घटनाको एक साता बितिसक्दा पनि उनको होस खुल्न सकेको छैन।

‘आमा र दाजु सबै गुमाए, बाँचेको एकजना भाइको अवस्था पनि राम्रो हुन सकेको छैन’, गहँभरी आँसु पार्दै हिरामायाले भनिन्, ‘आमासँगै ८ जना आफन्तको एउटै चिहान बनाइदिए, दैवले हाम्रो खुशी लुटे।’

उनले थपिन्, ‘भाइलाई राम्रो भए मात्रै पनि एकजना माइती त छ भनेर थोरै भए नि मन बुझाउन पाउँथेँ। श्रीमान, छोराहरूको के भर भोलि केही भएमा, दुःख सुःखमा साथ दिने भनेको माइती नै हो। अब भाइ पनि रहेन भने त मेरो आफ्नो माइती भन्ने कोही हुँदैन।’

अस्पतालका डाक्टरका अनुसार बिरामीको टाउको, हात लगायतका ठाउँमा धेरै चोट रहेकोले होस खुल्दा दुखाई सहन नसक्ने भएकाले बेहोस हुने औषधि चलाएर सोही अवस्थामा नै उपचार भइरहेको छ। घाइते तामाङको स्वास्थ अवस्था केही सुधार आए पनि खतरामुक्त भने भइनसकेको अस्पतालले जनाएको छ।

अस्पतालमा घाइतेको अवस्था बुझ्न र आफन्तलाई भेट्न पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङसँगै संसदद्वय मीना तामाङ, रुकु चौलागाईंलगायत पुगेका थिए। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी डुण्डिराज न्यौपानेका अनुसार बा३ख ४३८५ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको थियो।

दुर्घटनामा ज्यान गुमाउने ८ जनाको भने चार दिनपछि स्वयम्भूमा अन्त्येष्टि गरिएको थियो। मृतक कुमार तामाङको साइँलो छोरा जयराम मलेसिया र कान्छो छोरा अम्मर जापानबाट नेपाल फर्किएसँगै शवको अन्त्येष्टि गरेका हुन्।

भाग्यले मर्नबाट छल्यो

हिरामाया बिहान बनेपा–११ सल्लेबाट भान्जाको छेवारको लागि सोही बसमा आफन्तहरूसँगै च्याल्टी पुगेका थिइन्। अरू आफन्त जस्तो छेवारमा नै उनी पनि व्यस्त भइन्। उनका अनुसार छेवार नसकिँदै काम विशेषले छिट्टै फर्किनुपर्ने भएपछि उनी अरू आफन्तसँग बिदाबारी गरी एकजनाको मोटरसाइकलमा घर फर्केकी थिइन्।

तर उनले घर आइपुग्दा नपुग्दै बस दुर्घटना भएको खबर सुन्नुपर्‍यो। तर, उनी दुर्घटनामा धेरै मान्छेको मृत्यु भएको अस्पष्ट खबर पनि को–को परे भन्ने यकिन हुन सकिनन्। उनको अस्पष्टताकै बीच दुर्घटनाका मृतक र घाइते जिल्लास्थित आस्पतालमा ल्याइयो।

जब उनी धुलिखेल अस्पताल पुगिन् त्यसपछि थाहा पाइयो कि आमा, दाजुसहित परिवारका ८ जना सदस्य गुमाइसकेकी रहिछन्। ‘अस्पताल पुग्दा थाहा पाएँ कि बिहान एउटै बसमा भान्जाको छेवरमा गएका परिवारका १२ मध्ये ८ जनाको मृत्यु भइसकेको रहेछ’, उनले भनिन्, ‘सायद मेरो लेखान्तमा अहिले नै मर्न लेखेको रहेनछ क्यारे। त्यसैले त्यो दुर्घटनामा पर्नबाट जोगियो। तर जोगिएर के गर्नु सबै आफन्त गुमाउनु पर्दा मरे तुल्य भएकी छु।’

श्रेया र शेरबहादुर, जसले बुबाआमा गुमाइन्

उक्त दुर्घटनामा ६ वर्षीया श्रेया तामाङ र २३ वर्षीय शेरबहादुर तामाङले आ–आफ्ना बुबा र आमा सदाका गुमाउन पुग्यो। बनेपास्थित अर्किड स्कुलको नर्सरी कक्षामा अध्ययनरत श्रेया शिर मेमोरियल अस्पतालको बालशाखामा उपचारपछि घर फर्किए।

तर, श्रेयालाई आफ्नो बाबु आमा गुमेको सूचना छैन। उनी अभिभावकविहीन बन्न पुगेकी छन्। श्रेयाका बुबा बुद्ध फर्निचर र आमा कोपिला थांका लेख्ने काम गर्दै आइरहेका थिए। श्रेया उनीहरूको एक मात्र सन्तान हुन्।

त्यस्तै, २३ वर्षीय शेरबहादुर तामाङले बुबा आमा गुमाउनु परेको छ। उनका आमा हेमा तामाङ र बुबा आकुर तामाङ दुवैले उक्त घटनामा ज्यान गुमाउनु भएको थियो। श्रेया र शेरबहादुरका बुबाआमा लगायत बिहान बनेपा–११ सल्लेबाट मामा बनेर गएका थिए।

दिनभर छेवारमा व्‍यस्त भई साँझ पौने ६ बजे फर्कने क्रममा बेथानचोक–४ गणेस्थान नजिकै मूल सडकमा पल्टिएको थियो। दुर्घटनामा बनेपा ११ का ८ जना र वडा नं. १४ का २, तेमालका, बेथान्चोककाका २-२ र  मण्डनदेउपुर, ललितपुरसँगै मकवानपुरका एक-एक जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.