नेताहरू भन्छन्- आज साँझसम्म सबै विषय प्याकेजमै टुंगिन्छ

|

काठमाडौं : राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय भोलि साँझ ५ बजेबाट सकिँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठनका लागि गरेको आह्वान भोलि सकिँदैछ।

सरकार निर्माणका लागि पाएको समय घर्किएसँगै पाँच दलीय गठबन्धन बहुमत पुर्‍याउने तयारीमा जुटेको छ।

गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्। कांग्रेस ८९, माओवादी केन्द्र ३२, नेकपा एस १०, लोसपा ४ र राजमो एक सिट रहेको छ। 

यस्तै, जनमत पार्टी (६ सिट) र नागरिक उन्मुक्ति पार्टी (चार सिट) पनि गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने भएका छन्। संसदमा हुने २७५ सदस्यमध्ये सरकार निर्माणका लागि १३८ सिट आवश्यक पर्छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुने तयारीमा छ। रास्वपाका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा पार्टीले ढोका बन्द नगरेको बताए। संसदमा २० सिट रहेको रास्वपा आफ्ना एजेण्डा पूरा भए सरकारमा सहभागी हुने तयारीमा जुटेको छ।

कांग्रेसलाई गठबन्धन भत्किने डर, देउवामाथि दबाब 

सत्ता गठबन्धनभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन बाँकी नै छ। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल माओवादी केन्द्रमध्ये कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन। 

सभापति शेरबहादुर देउवाले पहिलो कार्यकाल आफूले पाउनुपर्न अडान लिइरहेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पहिलो कार्यकाल छोड्ने पक्षमा छैनन्।

स्रोतका अनुसार देउवालाई पहिलो कार्यकाल छोड्न पार्टीभित्रबाटै दबाब रहेको छ। गठबन्धनमा आबद्ध दलको हैसियतले प्रचण्डलाई पहिलो कार्यकाल दिनुपर्ने माओवादीसहित कांग्रेस सांसदहरूको तर्क रहेको छ। 

माओवादी सांसद माधव सापकोटाले माओवादीले पहिलो कार्यकाल पाउने गरी मोटामोटी सहमति भइसकेको बताए। उनले आज साँझसम्म राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र सातवटै प्रदेशको मुख्यमन्त्रीबारे प्याकेजमा सहमति हुने बताए। 

‘पहिलो कार्यकाल माओवादी केन्द्रले पाउनेगरी सहमति हुँदै छ। यसबारे शेरबहादुर देउवा पनि सकारात्मक हुनुहुन्छ। आज साँझ सबै विषयमा प्याकेजमा सहमति हुन्छ,’ सांसद सापकोटाले थाहाखबरसँग भने। 

यस्तै, कांग्रेस सांसद एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ सरकार निर्माणको तयारी भइरहेको जानकारी दिए। उनले संविधानको धारा ७६ (२) अनुसार नै सरकार गठन गर्नेगरी गृहकार्य गर्न लागेको जानकारी दिए। 

‘सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय टुंगो लाग्न बाँकी छ। आज साँझ नै सहमति हुन्छ। राष्ट्रपतिले तोकेको समयमा ७६ (२) अनुसार नै सरकार गठन हुन्छ। समय थपेर अर्को उपधारामा जाने सम्भावना छैन। भोलि तोकिएको समयमा सरकार गठनका लागि राष्ट्रपति कहाँ बहुमत पुर्‍याएर जान्छौँ,’ डा. महतले थाहाखबरसँग भने। 

कांग्रेसका अर्का सांसद भीमसेनदास प्रधान गठबन्धनमा आबद्ध दलको हैसियतले माओवादीले सरकारको पहिलो कार्यकालमा दाबी गर्नु स्वाभाविक भएको दाबी गर्छन्। 

‘ओलीले संसद् विघटन गर्दादेखिको सहयात्रीको नाताले माओवादीले सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक हो। यसमा कांग्रेस पनि लचक हुनुपर्छ,’ उनले भने।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले पहिलो दाबी आफूहरूको हुने जानकारी दिए। उनले शीर्ष नेताहरू बसेर सरकारको नेतृत्व र अन्य विषयमा सहमति गर्ने बताए। 

कांग्रेस सांसद राजेन्द्र केसी पहिलो कार्यकाल माओवादीलाई दिन नहुने तर्क राख्छन्। उनले भने, ‘संसदमा सबैभन्दा ठूलो दल भएको हैसियतले सरकारको नेतृत्व माओवादीलाई दिनु हुँदैन।’

पार्टीभित्र दबाबमा परेका प्रधानमन्त्री देउवा पनि प्रचण्डसँग भद्र सहमति गरेर पहिलो कार्यकाल छोड्न सहमत भएका छन्। दुवै नेताहरूले गठबन्धनमा आबद्ध दलका मुख्य नेताहरूलाई साथमा राखेर सरकारको कार्यकाल आलोपालो गर्नेगरी सहमति गर्ने तयारी गरेका छन्। किनकि २०७४ सालमा प्रचण्डले केपी ओलीसँग एक्लाएक्लै मौखिक सहमति गर्दा सरकारको नेतृत्व आधा कार्यकाल पाएका थिएनन्।

सोही डर देउवा र प्रचण्डलाई पनि रहेको स्रोतको दाबी छ।  देउवानिकट एक सांसदले प्रचण्डलाई पहिलो कार्यकाल दिन देउवा सकारात्मक रहेको थाहा खबरलाई जानकारी दिए। गठबन्धन फुटे प्रचण्डले एमालेसँग मिलेर राजनीतिक खेल खेल्ने डर कांग्रेसलाई छ। 

‘प्रचण्डजीले पहिलो कार्यकाल नछोड्ने अड्डी कस्नुभएको छ। उहाँ बरू गठबन्धन तोड्ने तर, पहिलो कार्यकाल नछोड्ने अडानमा हुनुहुन्छ। यसले झन् अस्थिरता बढाउँछ भन्ने सुझाव हामीले सभापतिलाई दिएका छौँ,’ नाम उल्लेख नगर्ने सर्तमा ती सांसदले भने, ‘प्रचण्ड एमालेसँग निरन्तर संवादमा भएकाले गठबन्धन तोडिने सम्भावना छ। यसले कांग्रेसलाई ठूलो क्षति हुन्छ।’ 

'पर्ख र हेर'मै एमाले

राष्ट्रपतिले दिएको समय सकिँदै गर्दा कतिपयको ध्यान नेकपा एमालेमाथि छ। ग्ठबन्धन फुटाउन निरन्तर प्रयासरत रहेको एमालेको भूमिका कस्तो रहन्छ भन्ने आम चासो छ। एमाले नेताहरूले गठबन्धन भत्काउन प्रचण्डसँग निरन्तर संवाद राखेको प्रयास असफल भएपछि एमाले पर्ख र हेरको रणनीतिमा छ।

माओवादी केन्द्रले गठबन्धन नछोड्ने संकेत पाएपछि एमाले प्रतिपक्षमा बस्ने भएको छ।  एमालेले सरकार निर्माणका लागि तत्काल कुनै भूमिका नखेल्ने भएको छ।

एमाले महासचिव शंकर पोखरेलले जनताले प्रतिपक्षमा बस्ने म्यान्डेड दिएकाले अहिले आफूहरूको कुनै भूमिका नरहने बताए। 

‘गठबन्धनको सरकार बनाउने तयारी भइरहेको छ। यसमा हाम्रो के भूमिका हुनु? जनताले प्रतिपक्षमा बस्ने म्यान्डेड दिएका छन्। सरकार निर्माणका विषयमा एमालेको कुनै भूमिका हुँदैन। अब एमाले घाम तापेर बस्छ,’ महासचिव पोखरेलले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.