|

काठमाडौँ : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर सोमबार मन्त्रालयबाट बिदा भए। २०७९ असार १३  मा जिम्मेवारी सम्हालेका उनी नयाँ सरकार गठन भएसँगै सोमबार मन्त्रालयबाट बिदा भएका हुन्।  

कुँवरले जाँदाजाँदै आफ्नो कार्यकालमा वैदेशिक रोजगारीलाई व्यवस्थापन गर्नेदेखि आन्तरिक रोजगारी प्रवर्धनसम्मका ५३ वटा काम गरेको दाबीसहित प्रगति विवरण सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रगति वितरण सार्वजनिक गरेका हुन्।

उनले सामाजिक सुरक्षा वैदेशिक रोजगारीमा सुधार लगायतका विवरण सार्वजनिक गरेका छन्। उनलेसार्वजनिक गरेको विवरणमा यसअघि नै शुरुवात भएका थिए भने अधिकांश योजना पुरानै रहेका छन्। आन्तरिक रोजगारीमा सुधार, वैदेशिक रोजगारीमा सुधार ठगी नियन्त्रणको प्रयास, श्रम सम्झौता परिमार्जन, सामाजिक सुरक्षा योजना सञ्चालन लगायत विषयलाई प्राथमिकतामा राखेर काम गरेको उनको दाबी छ। 

आन्तरिक रोजगारीमा 

कुँवरका अनुसार लामो समयदेखि चर्चामा रहेको पुनः एकीकरण योजना कार्यान्वयनमा आएको छ। वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै आजभन्दा करिब ३ वर्ष अगाडि ल्याएको योजना कार्यान्वयनमा आएको छ।  प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवर्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गरेको उनले जानकारी दिए।

निवर्तमान मन्त्री कुँवरको प्रगति विवरणमा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको पुनः एकीकरण सम्बन्धी निर्देशिका स्वीकृत भई वैदेशिक रोजगार बोर्डबाट कार्यान्वयनमा ल्याएको जनाइएको छ। स्वीस सरकारको सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुनः एकीकरण परियोजना संघीय, प्रादेशिक र स्थानीय तहमा सञ्चालन हुने गरी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुनः एकीकरण कार्यक्रम स्वीकृत भई सञ्चालनमा छ। 

त्यसैगरी दक्षिण कोरिया सरकारको सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न द्विपक्षीय सम्झौता भएको छ। उक्त योजना पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अगाडि बढाएका थिए तर कार्यान्वयनमा आउन सकेको थिएन। 

देशको श्रम बजारमा प्रवेश गर्ने सम्पूर्ण जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले उनीहरूको क्षमता विकास गरी व्यावसायिक सीप तथा तालिम प्रदान गर्ने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। बजारमा उपलब्ध जनशक्तिलाई सीपयुक्त बनाई रोजगार, स्वरोजगार र उद्यमशीलता अभिवृद्धि बनाउन व्यावसायिक सीप विकास तथा तालिम सञ्चालन गरिएको छ। सीपलाई रोजगारीसँग आबद्ध गर्न कार्यस्थलमा आधारित तालिम सञ्चालनको प्रस्ताव समेत गरिएको छ।

वैदेशिक रोजगारी

नेपाली श्रमिकलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि पठाउने विषयमा छलफल भएको विषय प्रगति विवरणमा उल्लेख गरिएको छ। त्यस्तैगरी रोमानिया प्रवेशको लागि आवश्यक भिसाप्रक्रिया सरल बनाउन काठमाडौं स्थित वैदेशिक रोजगार कार्यालय, ताहाचलमा अस्थायीरूपमा रोमानियन मिशन स्थापना गरी  काम गर्दै आएको छ। 

इजरायल सरकारको तर्फबाट उक्त मुलुकमा नेपाली कृषि कामदार लैजाने सम्बन्धमा अनुरोध भई आएको विषयमा आवश्यक अध्ययन गरी सो सम्बन्धी कार्यान्वयन कार्ययोजना तर्जुमा गर्नका गठित कार्यदलले काम गरिरहेको छ। श्रम स्वीकृत तथा पुनः श्रम स्वीकृतिको कामलाई पुर्ण रुपमा अनलाइन प्रणालीमा आवद्ध गरिएको छ। यसवाटश्रम स्वीकृतिका लागि लामो लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको निवर्तमान मन्त्री कुँवरको विवरणमा उल्लेख छ। नयाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलम भैरहवाको साथै सातवटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने कार्य भइरहेको छ।

वैदेशिक रोजगारीमा गई वैदेशिक रोजगार बोर्डबाट कल्याणकारी कार्य अंगभंग वा मृत्यु भएका कामदार र निजका परिवारलाई उपलब्ध गराउने आर्थिक सहायता र छात्रवृत्ति सम्बन्धी सेवालाई समेत अनलाइनमार्फत सेवा प्रधान गरेको विषय कुँवर मन्त्री  हुनुअघि नै भएको थियो। 

श्रम सम्झौता परिमार्जनको श्रमिकको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि बढाइएको छ। साउदी अरेबिया, सेसेल्ससँग नयाँ श्रम सम्झौता एवं संयुक्त अरब इमिरेट्स, मलेसिया र कतारसँग भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन तथा पुनरवलोकन गर्ने कार्य प्रारम्भ भएको गरिएको उल्लेख छ। त्यस्तै गरी  श्रम तथा रोजगार कार्यालय, पोखरा र बुटवललाई वैदेशिक रोजगारसम्बन्धी पूर्व स्वीकृति दिने उल्लेख छ।

५  महिनामा ६ करोड ठगीको उजुरी  

चालु आर्थिक वर्षको ५ महिनामा ६ करोड ५६ लाख ५९ हजार मागदावी सहतको ४ सय १० वटा उजुरी दर्ता भएको श्रम रोजगार मन्त्रालयले जनाएको छ। उजुरी दर्ता भएको छ। जसमध्ये विभागले ६९ वटा उजुरीको .१ करोड, ४० लाख ८४ हजार क्षति–पूर्ति भराएको छ भने ३ वटा उजुरीको ८ लाख ४६ हजार बराबरको मिलापत्र गराएको पूर्वमन्त्रीको विवरणमा उल्लेख छ।  

त्यसैगरी वैदेशिक रोजगारीको आवरणमा वैदेशिक रोजगार विभागबाट इजाजतपत्र प्राप्त गरेका संस्था बाहेकका अन्य संस्था तथा व्यक्तिले ठगी गरेको भनी ७८० वटा उजुरी दर्ता भई  २८ करोड २३ लाख २० हजार माग दाबी परेको छ। यीमध्ये १०१ वटा मुद्दा विभागले मिलापत्र गराई सात करोड १० लाख ६९ हजार क्षतिपूर्ति भराएको छ भने २७ वटा मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा  ९ करोड ४७ लाख ६५ हजार माग दाबीसहित मुद्दा दर्ता गरेको छ।

सामाजिक सुरक्षा योजना सञ्चालन 

सामाजिक सुरक्षाकोष योजना सञ्चालन मार्गदर्शन स्वीकृत गरिएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन योगदानकर्ताको हितलाई मध्यनजर गरी सामाजिक सुरक्षा सञ्चालन कार्यविधि पारित गरी सञ्चालनमा ल्याएको छ।  

कम्तीमा २ वर्ष योगदान गर्नेलाई १० प्रकारका घातक रोग लागेमा सेवा अवधिभर एकैपटक वा पटक पटक गरी १० लाखसम्म उपचार खर्च प्रदान गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी वैदेशिक रोजगारीमा रहेकालाई पनि सामाजिक सुरक्षामा आबद्ध गरेको छ। 

रेमिट्यान्समा रुमलिनु हुँदैन : मन्त्री श्रेष्ठ
सरकारले वैदेशिक रोजगारीभन्दा पनि आन्तरिक रोजगारी प्रवर्धन गर्नुपर्ने निवर्तमान मन्त्री कुँवरले बताए। उनले भने, ‘सरकारले आन्तरिक रोजगारीको खोजी गर्न जरुरी छ। रेमिट्यान्समा रुमलिएर युवालाई बेच्न हुँदैन।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.