|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्योलमा परेको छ। निर्वाचनको मितिबारे निर्णय गर्न विद्यार्थी संगठनहरूसँग सोमबार बैठक बसे पनि त्रिविले निर्णय लिन सकेन। 

‘छलफल भयो, सबै विद्यार्थी संगठन निर्वाचनको लागि एकमत भए। तर त्रिविले गम्भीरतापूर्वक लिएन’, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले थाहाखबरसँग भने, ‘औपचारिक बैठक भनेर बोलाइयो तर अनौपचारिक पनि भएन। माइन्युट पनि लिएर आएनन्।’ 

उनले विद्यार्थी संगठनहरू स्ववियु निर्वाचन फागुन १४ वा २८ गते दुवै मितिमा गर्न सहमत भएको बताए। ‘अब अर्को पटक त्रिविका पदाधिकारीहरूसँग मितिबारे छलफल गरी निर्णय लिने भरेर छुट्टियौँ’, उनले भने। एक हप्ताभित्र अर्को बैठक बस्ने र निर्णय लिने उनले जानकारी दिए। 

त्रिविका तत्कालीन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्ववियु निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएपछि त्रिविले फागुन १४ मा गर्ने गर्ने तयारी गरेको थियो। त्रिविले यसका लागि आंगिक क्याम्पसहरूलाई तयारी गर्न भनेको थियो। 

तर, बुधबार त्रिवि विद्यार्थी कल्याण परिषद्ले आगामी फागुन २८ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको छ। यही प्रस्तावबारे निर्णय लिन त्रिविले सोमबार बैठक बोलाएको हो। तर,केही निर्णय हुन सकेन।

१४ वर्षदेखि नियमित भएन स्ववियु निर्वाचन

त्रिविले २०६५ सालअघिसम्म शैक्षिक क्यालेण्डरमा २/२ वर्षमा फागुन १४ गते चुनाव गराउने कार्यतालिका राखेर स्ववियु निर्वाचन गराउँदै आएको थियो। तर, त्रिवि क्याम्पसमा १४ वर्ष अर्थात् २०६५ सालयता नियमित निर्वाचन हुन सकेको छैन।

त्रिविका ६२ वटा आंगिक क्याम्पस छन्। ०६५ चैत ६ गतेपछि आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु चुनाव भएको थियो। त्यसवेला देशभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्नराज्य (आरआर), जनप्रशासन सहित उपत्यकामा ९ आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो। 

स्ववियु विद्यार्थीको मतद्वारा चुनिने वैधानिक संस्था हो। क्याम्पस कलेजका लागि आमनिर्वाचन जतिकै यसकाे महत्त्व हुन्छ। यो निर्वाचनबाट योग्य नेतृत्व छानिन्छ र उसले विद्यार्थीको हक–अधिकारको निम्ति काम गर्छ। तर,नियमित निर्वाचन नहुँदा विश्वविद्यालय सभादेखि क्याम्पसहरूका महत्त्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन।

‘डेमोक्रेसीको अभ्यास गर्ने सर्वोत्तम उपाय भनेको स्ववियु निर्वाचन हो। यो निर्वाचनमा सबै दलको प्रतिनिधित्व हुन्छ’, नेविसंघ त्रिचन्द्र क्याम्पसका नेता गोविन्द कोइराला भन्छन्’, यसबाट योग्य अव्यक्ति चुनिन्छ। उसले विद्यार्थीहरूको हक–अधिकारका निम्ति आवाज बुलन्द पार्छ। तर, नियमित निर्वाचन गराउने पक्षमा त्रिवि नै देखिँदैन।’

सरकार परिवर्तनले निर्वाचनमा प्रभाव पार्ला?

सोमबार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नयाँ सरकार गठन भएको छ। नयाँ सरकारले स्ववियु निर्वाचनप्रति कस्तो नीति लिने हो भन्ने चासो छ।

सरकार परिवर्तनले निर्वाचनमा केही प्रभाव नपर्ने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले केही प्रभाव नपार्ने बताए।

‘फागुन २८ गते नै स्ववियु निर्वाचन गर्ने नगर्ने विषयमा अब विद्यार्थी संगठनसँग बसेर छलफल गर्छौँ’,उनले भने, ‘यही मितिमा गर्ने निर्णय भए पनि सरकार परिवर्तनले केही प्रभाव पर्दैन। सरकारले सुरक्षा व्यवस्था मात्रै गरे हुने हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.