|

धनकुटा : धनकुटाको तत्कालीन मुगा गाउँ पञ्चायतमा २०२२ साल भदौ २९ गते जन्मिएका हुन् राजेन्द्र राई। बुबा तेजबहादुर राई र आमा मोतीमाया राईका पुत्र २०४९ सालमा जनप्रतिनिधिका रूपमा जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भए। उनी योपटक नेपाल सरकारका विनाविभागीय मन्त्री भएका छन्। 

धनकुटा सदरमुकामको माथिल्लो गोकुण्डेश्वर माविमा पढ्ने क्रममा राई अनेरास्ववियुमा संगठित भएका हुन्। २०३६ सालमा काठमाडौँमा भएको अनेरास्ववियुको एकताको पाँचौँ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधि थिए। त्यतिवेला उनी आठ कक्षामा पढ्थे।

राई २०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएलसी दिएलगत्तै पूर्णकालीन राजनीतिमा लागेका हुन्। २०४७ सालमा अनेरास्ववियुको धनकुटा जिल्ला अध्यक्ष भएका राईले एमालेको युवा संगठनमा पनि काम गरे। २०४९ मा तत्कालीन जिविस सदस्यबाट जनप्रतिनिधि बनेका उनी २०५४ मा जिविस उपसभापतिमा निर्वाचित भए।

त्यसपछि राईले जिल्ला पार्टीको सचिवालय सदस्य, किसान महासंघको केन्द्रीय सदस्य र राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्षको जिम्मेवारी पनि सम्हाले। २०६६ असारमा भएको जिल्ला अधिवेशनबाट उनी एमालेको धनकुटा जिल्ला अध्यक्ष निर्वाचित भए। उनले एमालेको धनकुटाको २ कार्यकाल नेतृत्व गरेका थिए।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नं. २ मा राई तत्कालीन राप्रपाका महामन्त्री तथा हाल कांग्रेसका केन्द्रीय कार्यसम्पादन सदस्य सुनिल थापासँग ४५४ मतले पराजित भएका थिए। राई ९ हजार ६३६ मत ल्याउँदा थापा १० हजार ९३ मत ल्याएर विजयी भएका थिए।

२०७४ सालको स्थानीय निर्वाचनमा धनकुटाका ७ वटै तह आफ्नो पार्टीलाई जिताएर राईले एमाले अध्यक्ष केपी ओलीबाट म्यान अफ दि इलेक्शनको उपाधि पाएका थिए। २०७४ सालमै भएको प्रतिनिधिसभा निर्वाचनमा राईले उनै थापालाई १० हजार ४५९ मतले पराजित गरेका थिए। एमाले र माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका राईले ३७ हजार ३३३ मत पाउँदा थापाले २६ हजार ८७४ मत पाएका थिए। त्यस वेला राप्रपामा रहेका थापालाई कांग्रेस र जनता समाजवादीको समर्थन रहेको थियो।

त्यसपछि राई २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रको एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धनकुटा अध्यक्ष भए। केपी ओलीले संसद् विघटन गरेपछि सोही समूहमा लागेका राई अदालतको आदेशसँगै एकता भंग भएपछि पुनः एमाले धनकुटाको अध्यक्ष भए। २०७८ मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट राई केन्द्रीय सदस्य निर्वाचित भए।

एमालेले हाल उनलाई धनकुटा इन्चार्जको जिम्मेवारी पनि दिएको छ। प्रतिनिधिसभा निर्वाचनमा राई ३० हजार १०१ मत पाएर निर्वाचित भए। उनका प्रतिद्वन्द्वी कांग्रेसका सुनिल थापाले २८ हजार ७०४ मत पाएका थिए। राईले थापालाई एक हजार ३९७ मतले पराजित गरेका थिए। उनै राई हाल बिनाविभागीय मन्त्री बनेका छन्।

राईभन्दा अगाडि धनकुटाबाट रकम चेम्जोङ र सुनिलबहादुर थापा २/२ पटक मन्त्री भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.