|

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको शपथ पुस १५ गते हुने भएको छ।

पुस १५ गते १ बजे प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्।

त्यसपछि रावलले प्रदेशसभाका ५२ जना सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम छ। शपथ ग्रहण गर्ने ५२ जनामध्ये ६ जनाले मातृभाषामा शपथ ग्रहण गर्नेछन्। नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित एक गरी ६ जनाले मातृभाषामा शपथ लिने प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।

उनीहरू ६ जनाले हिजो मातृभाषामा शपथ गर्ने विषयमा प्रदेशसभा सचिवालयमा जानकारी गराएका थिए। नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर १ (क)बाट निर्वाचित कैलास चौधरी, (ख)का लक्ष्मणकिशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ (ख)का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ (क)का घनश्याम चौधरी र (ख)का खुसीराम डगौरा थारूले थारू भाषामा शपथ लिनेछन्।

​त्यसैगरी कांग्रेसकी समानुपातिक प्रदेशसभा सदस्य गीताकुमारी चौधरीले पनि थारू भाषामा शपथ लिनेछिन्। उनी कञ्चनपुरकी हुन्।​

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै मातृभाषामा शपथ लिन चाहनेलाई तीन दिनभित्र निवेदन दिन अनुरोध गरेको थियो। संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ बमोजिम निर्वाचित प्रदेशसभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले प्रदेशसभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गराउने व्यवस्था छ।

सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य मानबहादुर रावल छन्। ६८ वर्षीय रावल कांग्रेसबाट अछाम क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित हुन्। यहाँ प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ३२ र समानुपातिकतर्फबाट २१ सांसद रहेका छन्।

पद तथा गोपनीयताको शपथ लिएपछिमात्र प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्ने व्यवस्था छ। १५ गते पद तथा गोपनीयताको शपथ लिने र पुस १८ गते पहिलो बैठक आह्वान गरिने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.