|

धनगढी : सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको कार्यालय व्यवस्थापन गर्न सकस भएको छ। प्रदेशसभा सचिवालयलाई दलका कार्यालयका लागि कोठा अभाव भएपछि व्यवस्थापनमा समस्या आएको हो।

यसअघि दलका कार्यालयको रूपमा प्रयोग गरिएका संरचना प्रदेशको अस्थायी राजधानीस्थित धनगढी उपमहानगरपालिकाले भत्काएपछि समस्या आएको बताइएको छ। उपमहानगरले सडक चौडा पार्ने भन्दै मुख्य सडक क्षेत्र आसपासका संरचना भत्काइरहेको छ।

उपमहानगरले शुरु गरेको सडक विस्तारको क्रममा पुराना दलका कार्यालय स्थापना गरिएका संरचनामा डोजर चलेपछि दलको कार्यालय अभाव भएको हो।

उक्त समस्याका कारण केही दिनका लागि अस्थायी रूपमा यहाँ दलको कार्यालय व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी देवबहादुर बोगटीले जानकारी दिए। प्रदेशसभा सचिवालयका अनुसार अहिले ४ सिट रहेको नेकपा एकीकृत समाजवादीलाई पुरानै दलको कार्यालय उपलब्ध गराइएको छ।

सबैभन्दा ठूलो कार्यालय नेकपा एकीकृत समाजवादीलाई उपलब्ध गराएपछि अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका लागि मिटिङ हलमा दलको कार्यालय स्थापना गरिएको छ।

त्यस्तै अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको कार्यालयमा एमालेको दलको कार्यालय बनाइएको छ भने विधायन तथा प्रदेश मामिला समितिको कार्यालयमा माओवादी केन्द्रको कार्यालय बनाइएको छ।

सार्वजनिक लेखा समिति वा सामाजिक विकास समितिमध्ये एक कार्यालयमा नागरिक उन्मुक्तिको कार्यालय बनाउने तयारी भइरहेको छ। यस्तै नागरिक उन्मुक्ति पार्टी नयाँ दल भएकाले उसको लोगो र होर्डिङ बोर्ड सम्बन्धमा आधिकारिकता मागेर कार्यालय दिइने बताइएको छ।

एकजना मात्रै सांसद रहेको राप्रपाका लागि प्रदेशसभा सचिवालयले दलको कार्यालय उपलब्ध नगराउने भएको छ। त्यस्तै स्वतन्त्र एक सांसदले पनि दलको कार्यालय नपाउने तर उनीहरूलाई एक एक कार्यकक्ष प्रदान गरिने जनाइएको छ।

सुदूरपश्चिम प्रदेशमा १५ गते (भोलि) पद तथा गोपनीयताको शपथ ग्रहण हुँदै छ। भोलि १ बजे प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्।

त्यसपछि रावलले प्रदेशसभाका ५२ जना सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम छ। शपथ ग्रहण गर्ने ५२ जनामध्ये ६ जनाले मातृभाषामा शपथ ग्रहण गर्नेछन्।

नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित एक गरी ६ जनाले मातृभाषामा शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ।

पद तथा गोपनीयताको शपथ लिएपछि प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्नेछन्। यहाँ १५ गते पद तथा गोपनीयताको शपथ लिने र पुस १८ गते पहिलो बैठक आह्वान गरिने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.