‘न्यानाे कपडाको व्यवस्था गराैँ, नभए विद्यालय बन्द गरौँ’

|

काठमाडौं : पछिल्लो समय देशभर चिसो बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस छ।

सबैभन्दा थोरै तापक्रम जिरीको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२.१ डिग्री सेल्सियस छ। 

विभागले तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन सबैसँष आग्रहसमेत गरेको छ। 

तर यही वेला विद्यार्थी बालबालिकाहरू विद्यालयमा पढ्नका लागि चाहिने भौतिक संरचना अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन्। यता संघदेखि प्रदेशसम्मका राजनीतिक दलका नेताहरू भने कुर्सीका लागि लुछाचुँडी गरिरहेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आइतबार नयाँ सरकार गठन भएको छ। त्यही वेला नयाँ गठबन्धनमा सहभागी दलका नेताहरू विभिन्न मन्त्रालय रोज्दै ती आफूले पाउनुपर्ने दाबी गरिरहेका छन्। तर चिसोले कष्टकर जीवन बिताइरहेका सर्वसाधारणका समस्याहरूबारे भने चुँइक्क बोलेका छैनन्।

गत भदौ २४ गते दार्चुलाको महाकाली नगरपालिका-२ पण्डारोस्थित भुवनेश्वरी आधारभूत विद्यालय बाढीले बगायो। विद्यालय भवन नभएकै कारण त्यहाँ यतिखेर त्रिपाल टाँगेर कक्षा सञ्चालन भइरहेको छ। त्रिपाल टाँगेर पढे पनि डेस्क बेन्च भने अझै छैनन्।

३१ जना विद्यार्थी चिसो भुइँमै बसेर पढिरहेका छन्। यसरी पढिरहेका विद्यार्थीका तस्वीर अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि सरकारको चर्को विरोध र आलोचना भइरहेको छ।

त्यही वडाको अर्को स्कुल सरस्वती माध्यमिक विद्यालय पनि बाढीले बगाएकाले त्यहाँ पनि उही समस्या छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलका अनुसार यो वर्षको वर्षातमा बाढी पहिरोका कारण यी दुई विद्यालयमात्र नभएर ताप्लेजुङ, लमजुङलगायत अन्य जिल्लाका विद्यालयमा पनि बाढीले क्षति पुगेको छ।

तर कति विद्यालयमा क्षति पुग्यो भन्ने यकिन तथ्यांक भने प्राधिकरणसँग छैन। संरचना अभावकै कारण ती विद्यालयहरूको हालत पनि भुवनेश्वरी र सरस्वती विद्यालय जस्तै छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार अघिल्लो वर्ष बाढी पहिरोबाट ९ सय विद्यालयमा क्षति पुगेको थियो।

२०७७ साल साउनमा आएको वर्षाका कारण हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका–३ को धर्मोदय माध्यमिक विद्यालय भत्कियो। त्यहाँ पनि अहिले विद्यार्थीहरू भुइँमै बसेर पढिरहेका छन्। यस्ता तस्वीरले वेलाबखत सामाजिक सञ्जालमा चर्चा पाउँछ।

यस्तै विकट जिल्लाहरूमा पर्याप्त संरचना बन्न नसक्दा अहिले पनि डेस्क बेञ्चको अभाव छ। हिमाली जिल्लासँगै तराईका जिल्लाहरूमा हुस्सु लागेको छ। त्यहाँ पनि पर्याप्त संरचना अभावले विद्यार्थीहरू भुइँमै बसेर पढिरहेका छन्। तर त्यसतर्फ व्यवस्थापनका लागि राज्यको आँखा परेको छैन।

चिसोबाट निमोनियाँको जोखिम धेरै

चिसो मौसममा अन्य समयको तुलनामा निमोनियाको जोखिम धेरै हुने भएकाले यो मौसममा चिसोबाट जोगिनुपर्ने चिकित्सकहरू बताउँछन्। त्रिवि शिक्षण अस्पताल पल्मोनोलोजी एण्ड क्रिटिकल केयर मेडिसिन विभागका उप–प्राध्यापक डा. निरज बम भन्छन्, ‘जाडो मौसममा बालबालिकादेखि वृद्धसम्म धेरैलाई सताउने स्वास्थ्य समस्यामध्ये निमोनिया एक हो, चिसो मौसममा अन्य समयको तुलनामा निमोनियाको जोखिम धेरै हुने भएकाले यसबाट बच्नुपर्छ।’

उनका अनुसार निमोनिया जुनसुकै समयमा हुने भए पनि चिसो मौसममा निमोनिया संक्रमण गराउने ब्याक्टेरिया, भाइरस, ढुसी, माइक्रोप्लाज्म अथवा परजीविहरू बढी सक्रिय हुने हुँदा यो समयमा निमोनियाको समस्या धेरै देखिने गर्छ।

अभिभावक भन्छन् : न्यानो कपडा उपलब्ध गराऔँ, नभए विद्यालय बन्द गरौँ

चिसो यो मौसममा विद्यार्थीहरू भुइँमै बसेर पढ्नुपर्ने बाध्यताले विद्यार्थीका अभिभावकहरूसमेत धेरै चिन्तित छन्। नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी राज्यले कि विद्यार्थीहरूका लागि न्यानो कपडाको व्यवस्थापन गर्नुपर्ने नभए विद्यालय बन्द गर्नुपर्ने माग गर्छन्।


‘चिसो अत्यधिक बढ्दै छ, बढी हिमाली र तराईका जिल्लाहरूमा चिसोको समस्या हुन्छ। तराईतिर बढी गरिबीकै कारण अभिभावकले न्यानो कपडा किन्न सक्दैनन्। यसमा स्थानीय तहले उपलब्ध गराउनुपर्छ नभए विद्यालय बन्द गरेर भए पनि छोराछोरी चिसोबाट बचाउनुपर्छ,’ उनले भने।

सरकारले विद्यालय भौतिक संरचना निर्माणमा बेवास्ता गरेकै कारण अहिले विकट जिल्लाहरूमा विद्यार्थीहरू भुइँमै बसेर पढ्नुपर्ने, शौचालय अभावलगायत समस्या भोग्न बाध्य भएको उनले बताए।

‘बालबालिकाहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने राज्यको कर्तव्य हो,’ उनी भन्छन्, ‘तर सुविधासम्पन्न स्कुलका भवन नहुँदा अनेकन सास्ती भोगिरहेका छन् विद्यार्थी, खै अब कहिले पो यसमा राज्यको आँखा पर्ने हो।’

फर्निचरको व्यवस्था गर्दै छौँ : नगरपालिका

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सूचना अधिकारी रामप्रसाद उपाध्याय भौतिक संरचना निर्माणका लागि मागअनुसार विद्यालयलाई बजेट दिँदै आएको दाबी गर्छन्।

‘प्रदेश सरकारले दुईकोठे भवनका लागि २० लाख, चारकोठे भवनका लागि ४० लाख, ६ कोठे भवनका लागि ५० हजार, शौचालय निर्माणका लागि १० लाख बजेट उपलब्ध गराउँदै आएको छौँ,’ उनले भने।

उनले विद्यालयमा के कस्तो अवस्थामा अध्ययन र अध्यापन भइरहेको छ भन्नेमा स्थानीय तहले अनुगमन गर्नुपर्ने बताए। महाकाली नगरपालिकाका प्रवक्ता शंकरसिंह डोबालले भुवनेश्वर र सरस्वती माविको भवन निर्माणको पहल भइरहेको बताए। ‘यी दुई विद्यालयको जग्गासमेत बाढीले बगाएर छैन, जग्गा पनि व्यवस्था गर्नुपर्नेछ, यही आर्थिक वर्षमा विद्यालय बन्छ,’ उनले भने।

यो चिसोबाट बच्न तत्काल फर्निचरको व्यवस्था गर्ने उनले बताए। उनले भने, ‘हामी काठहरूको व्यवस्था गरेर पनि विद्यार्थीहरूलाई भुइँमा बस्ने बाध्य पार्दैनौँ, यो समस्याको समाधान गर्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.