|

ललितपुर : उरुग्वेको मन्टेभिडियोबाट सुरु भएको विश्वकप फुटबलको २२औँ संस्करण कतारमा सम्पन्न भइसक्दा विश्वकप फुटबलले ९० वर्ष पार गरिसकेको छ।

ब्राजिलले सबैभन्दा बढि ५ पटक विश्वकप उचाल्दा जर्मनी र इटालीले ४–४ पटकजितेका छन्। यस्तै अर्जेन्टिनाले ३ पटक जित्दा फ्रान्स र उरुग्वेले २–२ पटक र इंगल्याण्ड र स्पेनले एक एक पटक उपाधि जितेका छन्।

यसबीचमा ब्राजिलका पेले, अर्जेन्टिनाका डियागो म्यारोडोना, जर्मनीका गर्ड मुलर, पोल्याण्डका लाटो, इटालिका पाउलो रोसी, ब्राजिलका रोमारियो, रोनाल्डो, फ्रान्सका जिनेदिन जिदाने  लगायतका खेलाडीको चर्चा सन् २००० सम्म रह्यो।

यो भिडमा सबैभन्दा अग्रस्थानमा पेलेकै नाम आयो। कतिले फुटबल र विश्वकपको कुरा गरिहाल्दा पेलेकै नाम अघि सार्ने गर्थे। सन् २००० पछि हालसम्म अर्जेन्टिनाका लियोनियन मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाम अगाडि छ। तरपनि फुटबलको इतिहास बुझ्ने हो भने पेलेलाई अगाडि राखेर नसम्झने कमै होलान्।

सन् १९४० ब्राजिलको स्टेट अफ मिनिस गेरैसमा अक्टुबर २३, मा जन्मेका पेलेले सन् २०२२ डिसेम्बर २९ मा प्राण त्याग गरे। पेलेलाई आफ्नो खेल जीवनमा ’फुटबलको राजा’ भनेर पनि चिनिन्थ्यो। पेलेको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो। ३ वटा विश्वकप ब्राजिललाई जिताउन सफल पेले  विश्व फुटबलको इतिहासमा सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीको भिडमा उच्च स्थानमा छन्।

चारवटा विश्वकप खेल्दा उनले तीन वटा विश्वकप आफ्ना देशका लागि दिलाउन सफल भए । उनले सन् १९५८ मा स्विडेनमा भएको विश्वकप , सन् १९६२ मा चिलीमा भएको विश्वकप  र सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा उपाधि जितेका थिए।

सन् १९५६ निकै सानो स्तरमा रहेको क्लब सान्टोसमा आबद्ध हुँदै त्यही क्लबलाई विश्व जगतमा निकै चर्चित बनाउन महत्वपूर्ण भूमिका खेले। पहिलो विश्वकप केवल १७ वर्षमा जितेका उनलाई कालो मोतीका रुपमा समेत धेरैले चिन्ने गर्छन्। फुटबलको तेज गतिका खेलाडीसँगै मन्द मुस्कान र विनम्रताका कारण पेले विश्वका प्रशंसकहरूको मन–मस्तिष्कमा बस्न सफल छन्। 

फुटबल करियर 

आफ्नो २१ वर्षे व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलमा सहभागी भएर १ हजार २ सय ८१ गोल गर्दै किर्तिमान पनि राखेका छन्। एउटै खेलाडीले ३ पटकसमम विश्वकप जिताएको रेकर्ड उनकै नाममा छ। उनी सन् १९५८ , सन् १९६२ र सन् १९७० मा ब्राजिललाई विश्वकप जिताउन सफल भएका थिए। उनले देशका लागि ९२ म्याचमा ७७ गोल गरेका छन्।​

अभावसँगै गुज्रिएको बाल्यकाल 

ब्राजिलको अति विपन्न  परिवारमा हुर्केका पेलेलाई फुटबल क्षेत्रमा आउन त्यत्ति सहज थिएन। गरिबीका कारण अरुले जसरी फुटबल सजिलै उनले पाएर खेल्न सकेनन्। तैपनि उनको फुटबल खेल्ने तिब्र इच्छा र लगावले उनलाई फुटबलको उच्च तहसम्म पुर्‍याई दियो।

उनको परिवारमा फुटबल खरिद गर्न सक्ने आर्थिक हैसियत नभएका कारण, विभिन्न कपडा र फलफूलको बल बनाएर खेल्ने गर्थे। लाउन खान नै धौ धौ भएका बेला फुटबल खेल्नका लागि लगानी गर्ने कुनै बाटो थिएन। खाली सडकमा कपडाका डल्लोलाई बल बनाएर छलाएर हिड्थे।

उनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ’शताब्दी कै महान् खेलाडी’को उपमा दिएको थियो भने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले  सन् २००० मा ’शताब्दीका उत्कृष्ट फुटबल खेलाडी’को उपमा दिएको थियो। ब्राजीलियन सरकारले भने उनलाई ’राष्ट्रिय विभूति’ घोषणा गरेको थियो।

प्रशंसकहरू माझ निकै राम्रो क्रेज बनाएका पेलेपछि अर्जेन्टिनाका डियागो म्यारोडोनाको नाम पनि सँगै चर्चामा आउने गर्दथ्यो । म्याराडोनाको पनि केही वर्ष पहिले नै निधन भइसकेको छ।

पेलेले आफूमा भएको प्रतिभालाई भगवानको उपहार मान्थे। उनी फुटबलका माध्यमबाट संसार घुम्न तथा दुखी गरिब, तथा क्यान्सर पीडित र  युद्धको चपेटामा परेका मानिसहरुलाई सहयोग गर्न पाएकोमा आनन्दित हुन्थे। उनले आफ्नो बाल्यकालमा जस्तो फुटबलका लागि संघर्ष गर्न नपरोस् भनि ब्राजिलका गरिब बालबालिकाका निम्ति विभिन्न सहयोग जुटाएका थिए।

विवाह र रोमान्स 

पेलेले आफ्नो जीवनमा ३ जना सँग विवाह गरे भने अरु केहीसँग रिलेसनमा रहे। पेलेका ७ जना सन्तान भए। २५ वर्षको उमेरमा रोजमेरी डोस रेइस चोल्बीसँग सन् १९६६ मा पहिलो विवाह गरे। उनकी पहिलो पत्नी रोजमेरीबाट १ छोरा र २ छोरीसहित ३ सन्तान जन्मिए।

सन् १९८२ मा रोजमेरीसँग सम्बन्ध विच्छेद पश्चात १७ वर्षीय किशोरी टेलिभिजनकी कार्यक्रम संचालिका झुझा मेङ्गेलसँग प्रेममा रहे। जतिबेला  पेले ४१ वर्षका थिए। १९८६ मै पेले र झुझा छुट्टिए।

त्यसअघि सन् १९६४ मा आफ्नै घरमा काम गर्ने अविवाहित एनिजिया माकाडोसँग रिलेसनसिपमा रहेको पनि बताइन्छ। उनीहरुवीचको सम्बन्धबाट सान्ड्रा रेकिना माकाडो जन्मिएकी थिइन्।

पेले आफ्नो पीता हो भन्ने पुष्टि गराउन उनले लामो समय कसरत गरिन्। सन् २००६ मा सान्ड्राको निधन भइसकेको छ।  आसिरिया नासिमेन्तोसँग सन् १९९४ मा विवाह गरे।

ब्राजिलियन गायिका एवं साइकोलोजिष्ट ३४ वर्षीय आसिरियासँग ५४ वर्ष कटेका पेलेले विवाह गरेका थिए। यिनीहरुबाट जुम्ल्याहा २ सन्तान भए। उनीहरु सन् २००८ सम्म मात्रै सँगै रहे। तेस्रो पत्निका रुपमा जापानी मूलकी मार्सिया आओकी रहिन्। सन् १९८० को न्यूयोर्कको एक पार्टीमा भेटेपछि गुप्त रुपमा प्रेम सम्बन्धमा रहेका उनीहरु सन् २०१० पछि मात्र प्रेम सम्बन्ध सार्वजनिक रुपमा देखियो । मार्सियाबाट कुनै सन्तान भएन।​

स्वास्थ्य समस्या

पेलेको ८२ बर्षको उमेरमा निधन भएको छ। ब्राजिलको साव पावलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार गराइरहेका ब्राजिलियन खेलाडी पेलेको अन्तत: क्यान्सरकै कारण निधन भयो।  क्यान्सर रोगसँग एक वर्षदेखि संघर्ष गर्दै आएका पेलेको निधनबारे उनकी  छोरी किले नासिमेन्तोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् पुष्टि गरेकी छिन्।

पेलेको अवस्थाबारे उनले निरन्तर रुपमा सामाजिक सन्जालमा अपडेट गराइरहेकी थिइन्।  फिफाद्वारा शताब्दीकै महान् खेलाडीको उपमा पाएका पेलेलाई पछिल्ला केही वर्ष यता थुप्रै स्वास्थ्य समस्याहरुले सताएको थियो।​

मृगौला र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका पेलेलाई सेप्टेम्बर २०२१ मा पेटको आन्द्रामा रहेको ट्युमर हटाइएको थियो। आन्द्रामा क्यान्सरपछि उनलाई निरनतर रुपमा केमोथेरापि दिइराखिएको थियो।

पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको संक्रमण भएपछि फेरि अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनको अवस्था दिन दिनै कमजोर बनेको थियो। 

यसअघि सन् २०२० को फेब्रुअरीमा कोरोना सङ्क्रमित बनेपछि पेलेको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो। सन् २०१० को विश्वकपसम्म स्वस्थ रहेका पेलेमा सन् २०१२ पछि विभिन्न समस्याहरु आए। त्यही वर्ष उनको कम्मरको हड्डीको शल्यक्रिया भयो। त्यसपछि  उनी सहारा बिना हिडडुल गर्न असमर्थ रहे। 

विभिन्न एजेन्सीको सहयोगमा 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.