|

काठमाडौं : नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच झन्डै १६ महिनापछि पार्टी एकताको विषयले पछिल्लो समय चर्चा पाइरहेको छ।

पाँच दलीय विभाजन भएर नयाँ सात दलीय सत्ता गठबन्धन निर्माण भएसँगै राजनीतिक समीकरण नै बदलिएको छ। यी दुई दल विभाजनको १६ महिनापछि एक हुन लागेको विषयले राजनीतिक वृत्त तातिएको छ। तर, बाहिर हल्ला भएजस्तो दुई पार्टीबीच एकताको विषयले प्रवेश नै पाएको छैन। 

एमाले र एकीकृत समाजवादी पार्टीका तेस्रो तहका नेताहरूले एकताका लागि पहल जारी राखे पनि पहिलो र दोस्रो तहमा नेताहरूबीच कुराकानी नै भएको छैन। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच कुराकानी नै हुन सकेको छैन।

दुवै अध्यक्ष बसेर आपसमा छलफल नगरेसम्म एकता प्रक्रियाले गति नलिने एमाले  र नेकपा एसका नेताहरू बताउँछन्। 

एमाले नेता महेश बस्नेतले दुवै पार्टीका अध्यक्षलाई भेट गराउन प्रयास गरेका थिए। गत बुधबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहँदा नेता बस्नेत भने अध्यक्ष नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवासमा पुगेका थिए।

उनले खुमलटारमा ओली र प्रचण्डबीचको भेटवार्तामा नेपाललाई पनि मिसाउने तयारी स्वरूप दौडधूप गरेका थिए। तर, उनको दौडधूपले काम गरेन। 

दुवै नेता दुई वर्षपछि एक ठाउँमा देखा पर्दा धेरैको मनमा प्रश्न उब्जियो। अझ दुवै नेता कानेखुसी गरिरहँदा फेरि एक हुन लागेको भान हुन्थ्यो। तर, दुवै नेताहरूबीच सामान्य सञ्चो, बिसञ्चो सोधासोध भयो। ओलीले ‘म त किनारामा बसेर हेर्ने हो’ भने। 

अर्थात् नेपालको चित्त दुखाई प्रचण्डसँग पनि रहेछ। उनले गत आइतबार नयाँ सरकार गठनको समयमा प्रचण्ड एक्लै बालकोट पुगेकोमा चित्त दुखेको बताए। बस्नेतले अध्यक्ष नेपाल एमालेमा आउन सकारात्मक रहेको बताएपछि एमाले र एकीकृत समाजवादीबीचको पार्टी एकताको विषयमा बहस उत्पन्न गराएको छ। 

‘मैले उहाँलाई अब पार्टीमा फर्किन आग्रह गरेको छु। उनले सकारात्मक नै हुनुहुन्छ। तर, गठबन्धनबाट प्रचण्ड एक्लै बालकोट पुगेकोप्रति उहाँको चित्त दुखाइ पाए,’ नेपालसँगको भेटपछि नेता बस्नेतले भनेका छन्। 

एमालेका एक नेताका अनुसार प्रचण्डले आइतबार नेपाललाई पनि बालकोट लिएर गएको भए परिस्थिति सहज हुने रहेछ। प्रचण्डले धोका दिएपछि अध्यक्ष नेपाल खुल्न सकिरहेका छैनन्। 

‘प्रचण्डजीले देउवासँग कुरा नमिलेपछि माधव कमरेडलाई छोडेर बालकोट जानुभयो। तर, माधव कमरेडलाई पनि साथमा लिएर गएको भए परिस्थिति सहज रूपमा अगाडि बढ्थ्यो,’ ओली निकट एक नेताले भने। 

उक्त विषयमा अध्यक्ष नेपाल स्वयंले पनि स्वीकार गरेका छन्। ‘आइतबार त उहाँले जाऔं पनि भन्नुभएन तर प्रधानमन्त्रीमा नियुक्ति भएर शपथग्रहण गरेपछि बसौं, छलफल गरौं भनिरहनुभएको छ,’ नेता नेपालले भनेका छन्, ‘प्रचण्डजीसँग मेरो अब कुनै गुनासो छैन।’

समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बाहिर हल्ला फिँजाइए जस्तो एकताको कुनै सम्भावना नरहेको बताए। 

‘टुटफुट भएको वर्षदिन पूरा हुँदैछ। अहिले नै एकताको प्रयास सम्भव छैन। कोही एक दुई जना नेताहरूले भेट गर्दैमा एकताको हल्ला फिजाउँनु न्यायसंगत हुँदैन। एकता हुँदै हुँदैन भन्ने पनि छैन। तर, घटनाक्रम त्यसअनुसार विकसित भएको छैन,’ पाण्डेले थाहाखबरसँग भने।

माधव नेपालको स्पष्ट लाइन छ– परिस्थिति पनि परिपक्व हुनुपर्यो नि। मान्छे झुक्किने र भ्रममा पर्ने स्थिति बन्नुभएन। परिमाणमुखी हुनुपर्यो।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले एकताको हल्ला फिँजाएर भ्रम छर्ने तत्वहरू सक्रिय भएको प्रतिक्रिया दिए। उनले माधव नेपालले पार्टी छोडेर जाँदाको तिक्तता अझै ताजै रहेकाले दुई पार्टीबीच एकता सम्भव नरहेको बताए।

‘तत्काल एकता हुने सम्भावना छैन। उहाँहरू छुट्टिएर जाँदाको तिक्तता अझै ताजै छन्। उहाँहरूले भने अनुसार सम्मानजनक रूपमा भित्र्याउन एमाले तयार छैन,’ गुरूङले भने।  

समाजवादी पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले पनि कुनै पनि पार्टीसँग एकीकरण गर्ने विषयमा कुनै निर्णय नभएकाले भ्रममा नपर्न आग्रह गरेका छन्। 

‘बजार हल्लाको भ्रममा नपरौँ। हाम्रो पार्टी नेकपा (एकीकृत  समाजवादी) कुनै पार्टीसङ्ग एकीकरण  गर्ने गरी अगाडि बढेको छैन। यतिबेला पार्टी सुदृढीकरणको योजना बनाउँदै छ,’ उनले भने, ‘पार्टी  विस्तारका अभियानहरू  कसरी अगाडि बढाउने भनेर बिचार विमर्शमा छ।’

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पनि नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने विषयमा कुनै सत्यता नभएको बताए।

‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ। त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले भनेका छन्, ‘पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो। सङ्कटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन। इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन।’

एमाले नेता गोकुल बास्कोटाले समाजवादीसँगको पार्टी एकताबारे विरोध गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, – एमाले समाप्त पार्न न्वारनदेखिको बल लाउने कार्यकर्ता र जनताको कठीन र दृढ एकता,संघर्ष रगत पसिना र आँसुले एमालेरूपी पिपल वृक्षमा फेरि पालुवा पलाएपछि निजी लाभका लागि मात्र खुट्टा उचाल्नेहरू देखि पार्टी नेतृत्व सजग नै होला। भुइँमान्छे र कार्यकर्ताले त अपवाद बाहेक के पो बिराउँंछन र?

अध्यक्ष नेपाल पनि पार्टी एकताको विपक्षमा छैनन्। उनी उपयुक्त मौकाको खोजीमा छन्। आफू कम्युनिस्ट एकताको विपक्षमा नरहेको र त्यसका लागि दुवै पक्ष तयार हुन जरूरी रहेकोमा जोड दिएका छन्। 

‘त्यसका लागि दुवै पक्ष तयार हुनुपर्छ। अब पुरानै कुरामा अलमलिन पनि ठिक हुँदैन,’ उनले भने

किन भेट्न चाँहदैनन् ओली–नेपाल?

पछिल्लो समय ओली र नेपाललाई भेट गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत लागिपरेका छन्।

बुधबार बिहान हात्तिवनमा रहेको एक घरमा बसेर नेपालसँग कुराकानी गरेका प्रचण्डले सोही दिउँसो खुमलटारमा ओली र नेपालको भेटवार्ताको बन्दोबस्त मिलाए। ओली खुमलटार पुग्दासम्म नेपाल पनि आउने सूचना स्वंय ओलीको सचिवालयबाट आइरहेका थिए।

दुवै नेताले कौशीमा बसेर सुन्तला खाएको विषयले खुवै चर्चा पायो। 


खुमलटामार ओली र प्रचण्ड

ओलीलाई झन्डै दुई घण्टा रोकेका प्रधानमन्त्री प्रचण्ड अन्तिम समयसम्म माधव नेपाल आउने आशमा थिए। नेपाललाई खुमलटार जान आग्रह गर्दै एमाले नेता बस्नेतले पनि पहल गरेका थिए। तर, नेपाल जान मानेनन्। तर, नेपाल कोटेश्वरस्थित आफ्नो निवासमै बसे। त्यसदिन उनले अपरान्ह ४ बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कासँग आलोकनगरस्थित पार्टी कार्यालयमा भेटघाट गरे।

माधव नेपालको स्पष्ट लाइन छ– ‘परिस्थिति पनि परिपक्व हुनुपर्यो नि!मान्छे झुक्किने र भ्रममा पर्ने स्थिति बन्नुभएन। परिणाममुखी हुनुपर्यो।’

​यता एमाले अध्यक्ष ओली नेपाललाई बालकोटमा निम्ता गरिरहेका छन्। तर, उनले जान अस्वीकार गर्दै आइरहेका छन्। 

अध्यक्ष नेपालले ओली आफूलाई भेट्न आए रातो कार्पेट ओच्छ्याएर स्वागत गर्ने बताउँदै आइरहेका छन्।

बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको छलफलमा अध्यक्ष नेपालले भने– केपी ओली मेरो घरमा आउन खोज्दा मैले अस्वीकार गरेको भन्ने कुरा आएको छ। कुरा त्यसो होइन, उहाँ आए म रातो कार्पेट ओच्छ्याएर स्वागत गर्थें। 

शीतल निवास भेटले ल्याएको तरंग

गत सोमबार शीतल निवासमा प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण समारोह आयोजना भएको थियो। अपरान्ह ४ बजे राखिएको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो। सोही समारोहमा उपस्थित थिए पूर्वसहकर्मीद्वय ओली र नेपाल। 

पूर्वप्रधानमन्त्रीका हैसियतमा दुवै नेता सँगै जोडिएको कुर्सीमा बस्न पुगे। दुवै नेता दुई वर्षपछि एक ठाउँमा देखा पर्दा धेरैको मनमा प्रश्न उब्जियो। अझ दुवै नेता कानेखुसी गरिरहँदा फेरि एक हुन लागेको भान हुन्थ्यो।

तर, दुवै नेताहरूबीच सामान्य सञ्चो, बिसञ्चो सोधासोध भयो। ओलीले ‘म त किनारामा बसेर हेर्ने हो’ भने। 

शीतल निवासमा दुई वर्षपछि एक ठाउँमा ओली-नेपाल

ठूलो दल बन्ने एमालेको दाउ !

नेकपा एमाले प्रतिनिधिसभामा दोस्रो दलका रूपमा छ। २७५ मध्ये एमाले ७८ सिटसहित दोस्रो ठूलो दल बनेको हो। अहिले एमालेको उद्देश्य प्रतिनिधिसभामा पहिलो दल बन्ने रहेको छ।

पहिलो दल नेपाली कांग्रेस हो। कांग्रेसको ८९ सिट छ। कांग्रेसका एक जना सांसद टेकबहादुर गुरूङ निलम्बनमा परेसँगै ८८ सिटमा खुम्चिएको छ।

एमाले पनि १० सिट थपेर ८८ सिटमा पुग्ने तयारीमा छ। त्यसका लागि एमालेले एकीकृत समाजवादी पार्टीसँग रहेको १० सिटतर्फ आँखा लगाइरहेको छ। गत वर्ष भदौ २ गते पार्टी फुटाएर गएका माधव नेपाललाई फकाउन एमाले नेताहरू लागिरहेका छन्। 

एमालेको यो प्रस्तावमा समाजवादीका अधिकांश सांसदहरू सहमत छन्। नाम उल्लेख नगर्ने सर्तमा समाजवादीका एक सांसदले भने, ‘हामी एमालेसँग एकता होस भन्ने पक्षमा छौं। पुराना तितामिठा अनुभवलाई भुलेर नयाँ शिराबाट अगाडि बढ्नुपर्छ भन्ने कतिपय साथीहरूको माग छ। यसबारे अध्यक्ष कमरेड (माधव नेपाल) पनि सकारात्मक हुनुहुन्छ। उहाँ नतिजामुलक भेट होस भन्ने चाहनुहुन्छ।’

पार्टीले थ्रेस होल्ड काट्न नसकेका कारण पार्टी एकता नहुने भए पनि केही सांसदहरु मन्त्री बन्नका लागि एमालेमा जानसक्ने विश्लेषण समाजवादीकै नेताहरुले गरिरहेका छन्। त्यो जोखिम टार्नका लागि पनि सकभर पार्टी एकता गर्नुपर्नेमा उनीहरुको जोड रेहको स्रोत बताउँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.