|

पाेखरा : पोखराको मुख्य पर्यटकीय स्थलमध्येको एक हो बाराही घाट। जुन पोखरामा सबैभन्दा धेरै मान्छेको आवतजावत हुने ठाउँमा पर्छ। त्यहाँको मुख्य विशेषता फेवा तालको बीचमा रहेको तालबाराही मन्दिर हो जहाँ पुग्नका लागि डुंगा तर्नैपर्ने हुन्छ। साथै डुंगा चढ्नकै लागि पनि देश तथा विदेशबाट मानिसहरू त्यहाँ आउने गर्छन्। 

फेवाताल किनारमा एउटा ठूलो बोर्डमा डुंगाको भाडाबारे लेखिएको छ, ‘तालबाराही गएको आएको रू ६०, चालकसहित प्रतिघण्टा रू ८००, आफैँ चलाएमा रू ७००...’

पारी डाँडामा रहेको शान्ति स्तुपनजिकै घाम पुग्दा ५/६ कक्षामा पढ्नेजस्ता देखिने स्कुले पोशाक लगाएका दुईजना नानी झोलासहित एउटा हातमा लाइफ ज्याकेट अर्को हातमा डुंगा चलाउने पन्ना लिएर बजार क्षेत्रबाट ताल किनारतिर आउँदै छन्। भर्खर बितेको दिनका बारेमा कुरा गर्दै, मान्छेको भीड छिचोल्दै उनीहरू फलामे साङ्लोमा ताल्चा लाएको डुंगानजिक पुगेका छन्।  

एकजना नानी डुंगामा चढेर आफ्नो झोला बिसाउँछिन्, अर्की झोलाबाट चाबी निकालेर ताल्चा खोल्नतिर लाग्छिन्। एकजना भर्खरै स्कुल जान शुरु गरेको बालक बाबुजस्तो देखिने अधवैंशेको हात समातेर त्यही डुंगा भएतिर जान्छन्। जसको अर्को हातमा तरकारी, तेलजस्ता भान्साका सामग्री छन्।

अधवैंशेनजिक आएसँगै एकजना नानी पन्ना कसिलोसँग समाउँदै आज म चलाउँछु भन्छिन्। ती पुरुषले बालकलाई डुंगामा चढाएर आफू पनि चढ्छन्। तिम्रो वेला भएको छैन भावमा डुंगा चलाउने जिद्दी गरिरहेकी नानीतिर हात सार्छन्। ती नानीले पनि थप जिद्दी नगरी पन्ना उनको हातमा दिन्छिन्।

त्यसपछि पानीमा पन्नाको फराकिलो भाग पानीमा डुबाएर खियाउन थाल्छन् उनी। यसो गर्दा डुंगा किनारबाट अलिकति अगाडि सर्छ। यो प्रक्रियाले निरन्तरता पाउँछ साथै डुंगाले पनि गति लिन्छ। 

ताल किनारमै दुईजना युवा विनोद खनाल र असिम पाण्डे एउटा थोत्रिइसकेको डुंगाको मर्मत गरिरहेका छन्। उनीहरूले यो काम गर्न थालेको झण्डै १० वर्ष भयो। खास घर बुटवल रहेका उनीहरू कामको शिलशिलामा पोखरा आएका थिए। त्यसयता उनीहरू यस्तै काममा लागेका छन्।

डुंगा बनाउने काम त उनीहरूको होइन तर हरेक नयाँ डुंगा पुरानो हुँदै गएपछि मर्मतका लागि उनीहरूसम्म आउने गर्छन्। जहाँ उनीहरू पानी छिर्ने ठाउँ टाल्ने, रंग लगाउने आदि काम गर्छन्। यति वेला उनीहरू बत्ति बाको डुंगा बनाइरहेका छन्। 

खास नाम बत्तिबहादुर गुरुङ भए पनि फेवा किनारमा बत्ति बा भनेपछि उनलाई नचिन्ने कोही छैन। ताल तर्दै गरेका नानीहरूतिर हेर्दै बत्ति बा आफ्नो बाल्यकाल सम्झन्छन्, ‘पहिले त अझ यस्ता डुंगा हुन्थेनन्। मुढा खोपेर आफैँ बनाउनुपर्थ्यो। स्कुल आउने जाने त्यही डुंगाबाटै हो। पुरानो भएपछि पानी पस्न थाल्थ्यो। कति पटक चलाउँदा चलाउँदै पल्टेर पौडी खेलेर पनि निस्केको छु।’ 

उमेरले साढे ६ दशक नाघेका उनी आज पनि डुंगा चलाउँछन्। साथै केही डुंगाचालकलाई रोजगारी पनि दिएका छन्। आफू जन्मे हुर्केको गाउँ तालपारी देखाउँदै उनी भन्छन्, ‘बाराही त पहिले पनि उत्तिकै महत्व बोकेको मन्दिर हो तर मान्छेको आउजाउ पछिल्ला केही वर्षमा निकै बढेको छ। पहिले बाध्यताको रुपमा मात्रै प्रयोग हुने डुंगा अहिले हजारौँ परिवारको मुख्य आयस्रोत बनेको छ।

भर्खरै नानीहरू चढेको डुंगातिर हेर्दै बत्ति बा भन्छन्, ‘आउन जानको लागि सीधा बाटो छैन। स्कुल जान आउन, किनमेल गर्न, केही बनाउन परे सिमेन्ट, बालुवा सबै डुंगाबाटै हो। मैले थाहा पाउँदा यहाँ यति धेरै घर थिएनन्। मान्छे पनि कम आउँथे। हेर्दाहेर्दै धेरैथोक फेरियो‚ केही अझै फेरिएको छैन। यो यहाँको जीवनशैली हो।’

डुंगा मर्मतस्थलमा केही डुंगा फेरि तालमा जान तयार भएर बसेका छन् भने केही मर्मतका लागि आफ्नो पालो पर्खिरहेका छन्। डुंगा बनाउनका लागि सबैभन्दा राम्रो सालको काठ हुने र त्योबाहेक चाँप, खयरलगायत अन्य काठको पनि बनाउन सकिने बत्ति बा बताउँछन्। काठ राम्रो भए र पलाँस नपरे एउटा डुंगाको आयु २०/२५ वर्षसम्म भएको उनको अनुभव छ। 

फेरि नानीहरूतिरै इशारा गर्दै बत्ति बा भन्छन्, ‘त्यो उमेरमा म एक्लै वारिपारि गर्थेँ। अहिले डुंगा सजिला आएका छन्। आज नभए भोलि त्यो नानीले पन्ना आफ्नो हातमा लिन्छिन्। अनि एक्लै आउजाउ गर्छिन्। अरुलाई चढाएर चलाउँछिन्। मैले फेवाताल खुम्चेको पनि देखेको छु, फैलिएको पनि देखेको छु। कोही पछिसम्म यही डुंगा चलाएर पनि बस्छन्। कोही अर्कैको डुंगा खियाउन जान्छन्।’ जिन्दगीको पनि फेवातालमा तैरिरहेको डुंगाको जस्तो सीधा बाटो नहुने उनी जिकिर गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.