|

धनकुटा : हरेक नयाँ वर्षमा नेपालमा पनि विदेशी पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रम हुने गरेका छन्। नयाँ वर्षमा नेपाल आउने पर्यटकका लागि हुने यस्ता कार्यक्रमले पर्यटन बजारमा नयाँ उमंग ल्याउने गर्छ।

विशेष गरी नयाँ वर्षमा घुम्न जाने धेरैको योजना हुन्छ। त्यसकारण पर्यटन व्यवसायीले आफ्नो व्यापार विस्तारको राम्रो मौकाका रुपमा नयाँ वर्षलाई उपयोग गर्छन्।

नेपाली नयाँ वर्षमा आन्तरिक पर्यटकको चहलपहल हुने भए पनि अंग्रेजी नयाँ वर्षमा विदेशी पर्यटक नेपाल घुम्न आउने गर्छन्। विदेशी पर्यटकमध्ये धेरै भारतिय पर्यटक आउने पूर्वको पर्यटकीय स्थल हो भेडेटार।

भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो वर्ष पुस १६ गतेदेखि १८ गतेसम्म दशौँ फुड फेष्टिबल आयोजना गरिएको छ। ‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने हाम्रो चाहना’ नारासहित होटल एसोसिएसन भेडेटारले महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम, स्थानीय तथा जातीय खानेकुराका परिकार, भेडेटार हेलिटुर, जिपलाइन तथा पाराग्लाइडिङ समेत मुख्य आकर्षण रहने आयोजक होटल एसोसियसन अफ भेडेटारकी कार्यबहाक अध्यक्ष शान्ति मादेन लिम्बूको भनाइ छ। महोत्सवका दौरान कृषि प्रदर्शनी समेत हुने उनले जानकारी दिइन्।

भेडेटारमा हरेक अंग्रजी नयाँ वर्षमा फेष्टिबलको आयोजना हुँदै आएकोमा विगत केही वर्ष भने कोरोना महामारीका कारण हुन सकेको थिए। तर, गत वर्षबाट फेरि सुचारु भएको छ। होटल एसोसिएसन अफ भेडेटारले भेडेटार र आसपासका पर्यटकीय गन्तव्यको पहिचान गरेको आकर्षक टुर प्याकेजको व्यवस्था गरेको आयोजकको भनाइ छ।

त्यसो त सेताम्मे हिउँ फूल्ने कञ्चनजंघा र मकालु हिमालको काखमा लमतन्न परेको धनकुटा बजार र दक्षिणमा चारकोशे झाडी मास्दै फैलिएको सुन्दर नगर धरानलाई हेरेर बसेको पर्यटनग्राम भेडेटार पूर्वको प्रमुख गन्तव्य बनेको छ। विशेषत भेडेटारमा बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुने गरेको छ।

भेडेटारबाट हिमश्रृंखला मकालु, मनास्लु, ल्होत्से र कुम्भकर्णको मनोरम दृश्य धनकुटा बजारको सुन्दरता अनि सेउती र सर्दुकोवीचमा अवस्थित धरानको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। अझ तराईको उखरमाउलो गर्मीको समयमा गर्मी छल्ने आनन्ददायी गन्तव्य बनेको छ भेडेटार।

चाँदीका लहरझैँ टल्केका हिमाल, तराईका सुन्दर फाँट अनि पूर्व पश्चिम फैलिएको चारकोशे झाडी र साँझको गोधुलीले कसको मन तान्दैनर भेडेटार पुगेपछि।

समुन्द्र सतहदेखि एक हजार चार सय ३० मिटरको उचाईमा रहेको भेडेटार धरानदेखि १७ किलोमिटर उत्तर र धनकुटादेखि ३५ किलोमिटर दक्षिणको सुनसरी र धनकुटाको संगमस्थल हो।

एकैछिनमा घाम लाग्नु र एकैछिनमा कुहिरोले ढाक्नु भेडेटारको विशेषता हो। भेडेटारका होटेल व्यवसायी लिलाराज लावतीले छिनछिनको मौसम परिवर्तन हुनु पनि पर्यटक लोभ्याउने भेडेटारको आकर्षण भएको बताउँछन्।

भेडेटारका आकर्षण

तराईको सम्म भूमागदेखि १७ किलोमिटर उत्तरमा मात्र रहेको भेडेटारमा उच्च हिमाली भेगको जस्तो हावापानी पाइन्छ। यस्तै अनौठो हावापानी भएको सुनेर नेपाल भ्रमणमा आएका बेलायतका राजकुमार चाल्स वि.सं २०४० सालमा भेडेटार नै आइपुगेका थिए।

उनले भेडेटारको अग्लो चुचुरोमा चढेर सगरमाथा चढनुको आनन्द लिएको अनुभव सुनाएर गएका बताइन्छ। पहिलो पटक विदेशी पर्यटन आएर चुचुरामा प्रवेश गरेका कारण उक्त चुचुराको नाम नै चाल्स प्वाइन्ट राखिएको छ। हाल चाल्स चढेको चुचुरामा ३० फिट अग्लो टावर बनाइएको छ।

यही टावर पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बनेको छ। यो टावरबाट धरान धनकुटा सप्तकोशीको फाँट चारकोसे झाडी एंव तराईका मनमोहक फाट धित मरुन्जेल अवलोकन गर्न सकिने तेह्रथुमका डिबी पौडेलले बताए।

अझ भ्यूटावरबाट विहानीपख देखिने दृष्य कैद गर्न र सिजनको बेला टावरबाट दृष्य अवलोकन गर्न दैनिक सयौ पर्यटकहरु आउने गरेको छन्। यो टावरमा प्रवेश गर्न शुल्क तिनुपर्ने व्यवस्था गरिएको छ।

भेडेटारमा पर्यटकलाई लक्ष्यित गरि जीपलाइन सञ्चालनमा आएको छ। कार्तिकदेखि बैशाखसम्म पिकनिक खान देशका विभिन्न भागबाट आगन्तुकहरु भेडेटार पुग्ने गरेका छन्।

प्रायः बढी युवायुवतीहरुको युगल जोडी रोमाञ्चित बन्न, माया प्रिती साट्न र विवाहित जोडी हनिमुन मनाउन पनि भेडेटार नै पुग्ने गर्दछन्।

नाम्जेको आकर्षण

धनकुटाको नाम्जे गाउँ सिएनएनले गरेको सर्वेक्षणमा विश्वकै १२ औं गन्तव्य मध्ये आठौं उत्कृष्ट गन्तव्यको सूचीमा सूचीकृत छ। नाम्जेमा होमस्टे सञ्चालनमा रहेको छ।

त्यसबाहेक व्यवस्थित होटल, सरसफाइ, संग्रहालयको भवनसमेत निर्माण भएकाले पर्यटकको आकर्षण बढेको होमस्टे सञ्चालक समितिका अध्यक्ष अनिल रानामगरले जानकारी दिए। यहाँ होमस्टेमा मगरको हुर्रा नाच हेर्न पाइने व्यवस्था गरिएको मगरले बताए।

नाम्जेबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालु हिमालसमेत देख्न सकिन्छ। प्राकृतिक सम्पदा, रुखबिरुवा, स्वच्छ हावापानी नै नाम्जेको प्रमुख आकर्षण बनेको छ।

मगर जातिको बाहुल्य रहेको नाम्जे क्षेत्र सांस्कृतिक विविधताले पनि चर्चित छ। विशेष गरी तिहारका बेला नाचिने हुर्रा नाम्जेको अर्को आकर्षण हो।

नमस्ते झरना

पूर्वका चर्चित पर्यटकीय गन्तव्यहरूमध्ये नमस्ते झरना पनि पर्छ। यो फरक गन्तव्यका रूपमा परिचित छ। विशेषगरि गर्मीको सिजनमा गर्मी छल्न चिसोपानीसँग खेल्न झरनासम्म पुग्ने गरेको छन्। सरकारी बिदा र शनिवारको दिन यहाँ भिड लाग्ने गरेको छ।

जहाँ ६० मिटर उचाइबाट झरेको पानीको फोहोरालाई झरनाका रूपमा देख्न पाइन्छ। एकदमै प्राकृतिक यो झरना तथा पानीको फोहोरासँग खेल्न अहिले दिनहुँ थुप्रै पर्यटक पुग्ने गरेका छन्। भारतको विहार र पश्चिम नेपालबाट शैक्षिक भ्रमण तथा अवलोकनका निम्ति पनि समूहमा झरना हेर्न पुग्ने गरेका छन्।

पर्यटक बढ्न थालेसँगै नमस्ते झरना पुग्ने बाटो अहिले व्यवस्थित गरिएको छ। त्यस्तै, आवश्यक अन्य पूर्वाधारसमेत निर्माण गरिएको छ। नमस्ते झरनालाई जिल्ला विकास समितिले करिब दुई दशकअघि नै पर्यटकीयस्थलको रूपमा सूचीकृत गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.