|

म्याग्दी : भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको प्रतीमा नेपालको कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिलाबाट निर्माण गरिने भएको छ।

नेपालमा पुस ३ गते बसेको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले रामको प्रतीमा निर्माणका लागि प्रयोग गरिने शालग्राम शिला खोजीका लागि स्वीकृित दिएपछि अहिले कालीगण्डकी नदीमा अयोध्या लैजान २ वटा शिला खोजी भइरहेको छ। त्यसका लागि नेपाल सरकारका तर्फबाट सरकारी टोली म्याग्दीमा आएर कालीगण्डकी नदीमा शिलाको खोजिरहेको छ।

विश्वकै दुर्लभ मानिएको शालग्राम शिला बेनी नगरपालिकाले जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउने छ भने त्यहाँबाट प्रक्रिया पूरा गरी अयोध्यामा लैजाने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए।

कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिलाको खोजी र उत्खननका लागि सरकारी निकायका प्रतिनिधिसहितको टोलीले कालीगण्डकीमा शिला खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिए।

मन्त्रालयबाट आएका प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शालग्रामको विशाल शिला छनोट गरेको थियो। त्यो शिला निकाल्न सम्भव नभएपछि गलेश्वर आसपासका क्षेत्रबाट उत्खनन गरिने केसीले बताए।

‘अयोध्यामा निर्माणाधीन राममन्दिरमा पुग्ने शिलाले बेनी नगरकै प्रचारप्रसार हुन्छ, प्रदेश सरकारको अनुरोधमा खोजीमा सघाएका छौँ’, नगरप्रमुख केसीले भने। उत्खनन गर्दा नदीबाट हुनसक्ने क्षतिका बारेमा समेत टोलीलाई सचेत बनाइएको मेयर केसीको भनाइ छ।

शालग्राम शिला बेनीको दोभानदेखि गलेश्वर आसपासको कालीगण्डकी क्षेत्रबाट निकालिने उनले बताए। तीन दशक अगाडीसम्म कालिगण्डकीमा अत्यधिक पाइने शालग्राम शिला अहिले सडक सञ्जालको विस्तार, नदीमै राखिएको क्रसर उद्योगको अवैध उत्खनन लगायत विभिन्न किसिमका मानवीय र प्राकृतिक कारणले लोप हुँदै गएको छ। शालग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रूपमा पुज्ने गर्छन्।

कालिगण्डकी नदीमा मात्र पाइने शालग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमूल्य शिला भए पनि नदी दोहनका कारण शिला पाउन मुस्किल भएको टोलीका प्रतिनिधिहरुको भनाइ छ। शालग्राम शिला पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा हुने अवैध उत्खनन तीव्र छ।

यसरी बन्यो शालग्राम शिला अयोध्यामा लैजाने वातावरण

गत साउनमा अयोध्या भ्रमणमा गएका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले अयोध्याको राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेट गरे।

अयोध्या भ्रमणबारे जानकारी गराउँदै निधिले त्यहाँको निर्माणाधीन राममन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीका तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने र राममन्दिरमा राखिने रामको प्रतीमा नेपालको कालीगण्डकी क्षेत्रको शालग्राम शिलाबाट निर्माण गर्ने प्रस्ताव राखे।

निर्माणाधीन राममन्दिरमा जनकपुरधामको जानकीमन्दिरका तर्फबाट धनुष राख्ने रामको प्रतीमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएको थियो।

नेपाल फर्किएपछि निधिले नेपाल सरकारलाई भारतीय पक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएको जानकारी दिए। त्यसपछि पुस ३ गते बसेको तत्कालीन सरकारको मन्त्रिपरिषद्को बैठकले कालीगण्डकी क्षेत्रमा मात्र पाइने दुर्लभ शालग्राम उत्खनन गरेर जनकपुरसम्म पुर्‍याउने अनुमति दियो।

त्यसलगत्तै सरकारी प्रतिनिधि सहितको टोली अयोध्या लैजाने शालग्राम शिला खोजीका लागि म्याग्दीमा आएको हो।

मन्त्रिपरिषद्को निर्णयसँगै शालग्राम शिलाको खोजी शुरु भएको हो। यहाँबाट शालग्राम शिला जनकपुरधामस्थित जानकीमन्दिरमा लगिने भएको छ। जनकपुरबाट शालग्राम शिला र धातुको धनुषसँगै अयोध्या लगिने बताइएको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.