आशा मारिसकेका विद्यार्थीमा खुशी

|

काठमाडौँ : सरकारले दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यका आएका विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुलो दिन आवेदन मागेको १० महिनापछि आइतवार (आज)देखि बाँड्न शुरु गरेको छ। ऊर्जा प्रवर्द्धन केन्द्रका प्रशासन प्रमुख रणबहादुर थापाले ऊर्जा प्रवर्द्धन केन्द्रीय कार्यालय मध्य बानेश्वरबाट चुलो बाँड्न शुरु गरेको जानकारी दिए।

सरकारले २०७८ फागुनमा दुर्गम क्षेत्रबाट उपत्यकामा आएर भाडामा बसेर सरकारी कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई स्वच्छ चुलो कार्यक्रम माग संकलन सम्बन्धी सूचना जारी गरेको थियो।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई एलपी ग्याँसको बढ्दो मूल्यको समस्याबाट राहत दिन भन्दै यसका लागि २०७८ फागुन २५ गतेभित्र निवेदन दिन सूचना जारी गरेको थियो। अहिलेसम्म सरकारले दिने छाँटकाँट नगरेपछि विद्यार्थीहरूले आशा मारिसकेका थिए। अन्ततः चुलो पाएपछि उनीहरूमा खुशी छाएको छ। 

पहिलो चरणमा २‚८६५ जनालाई मात्रै चुलो वितरण गरिने

ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार दुर्गम क्षेत्रका लागि ८ हजार चुलो दिइने भनिएकोमा ७ हजार ६ सय जनाको आवेदन पर्‍याे। त्यसैगरी लोपोन्मुख आदिवासी‚ जनजाति तथा दलित वर्गका लागि ५ हजार चुलो दिइने भनिएकोमा करिब ८ हजार विद्यार्थीले निवेदन दिए।

सरकारले पहिलो चरणमा १३ हजार चुलो वितरण गर्नेछ। राज्यले यसअघि जारी गरेको सूचनाअनुसार चुलो वितरण नगरी फेरि ०७९।८० का लागि गत भदौमै चुलोका लागि आवेदन खुला गरिसकेको छ।

उक्त सूचनाका आधारमा करिब ७ हजार निवेदन परिसकेको ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार दोस्रो चरणमा ७ हजारजनालाई चुलो वितरण गरिनेछ। पहिलो र दोस्रो चरणको संख्याको आधारमा राज्यले कुल २० हजार विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुलो दिनुपर्नेछ।

यद्यपि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पुस ८ गते जारी गरेको सूचनामा २ हजार ८६५ जनालाई यही पुस १७ गतेदेखि २२ गतेसम्म प्रतिविद्यार्थी एक थान चुलो बाँड्ने भनिएको छ।

सूचनामा उल्लेख छ, ‘क्रम संख्या बमोजिम उल्लिखित मिति तथा समयमा विशेष कारणबाट सम्बन्धित व्यक्ति विद्युतीय चुलो वितरण कार्यक्रम उपस्थित हुन नसक्ने अवस्थामा २०७९।१०। २५ र २६ (माघ २५ र २६) गते उपस्थित हुन अनुरोध छ।’ 

चुलो पाउन आवश्यक कागजात

सूचनाअनुसार क्रम संख्या नम्बर अनुसार चुलो वितरण गरिनेछ। आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि ४ बजेसम्म वितरण गरिनेछ। शुक्रवारका दिन बिहान ११ बजेदेखि ३ बजेसम्म चुलो वितरण गरिनेछ।

विद्यार्थीहरूले चुलो लिन आउँदा अनिवार्य नेपाली नागरिकताको सक्कल प्रमाणपत्र र एक प्रति प्रतिलिपि र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र (सक्कल) र एक प्रति प्रतिलिपि लानुपर्नेछ।

दाउरा र एलपी ग्याँसलाई प्रतिस्थापन गर्ने योजना

सरकारले आव २०७९।८० को बजेटमार्फत ‘एलपी ग्यास छोडौँ, बिजुली जोडौँ’भन्ने अभियान सञ्चालन गर्ने योजना ल्याएको छ।

खाना पकाउने इन्धनको रूपमा प्रयोग हुने दाउरा, गुइँठा र एलपी ग्याँसलाई प्रतिस्थापन गर्न बायोग्याँस,विद्युतीय चुलो, सुधारिएको चुलो तथा अन्य उपयुक्त आधुनिक एवं किफायती प्रविधिको व्यापक रूपमा प्रवर्द्धन गरी करिब एक लाख घरधुरीमा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँचमा पुर्‍याइने बजेटमा उल्लेख छ।

एलपी ग्याँसमा प्रदान हुँदै आएको अनुदान क्रमशः कटौती गरि विद्युत् उपयोगमा अनुदान प्रदान गर्ने नीति पनि सरकारको छ।

बाँकी विद्यार्थीलाई कहिले ? 

ऊर्जा प्रवर्द्धन केन्द्रका प्रशासन प्रमुख थापाले चुलो खरिद प्रक्रियामै ढिलाइ भएकाले समयमा वितरण गर्न नसकिएको जानकारी दिए। उनका अनुसार बाहिर देशबाट चुलो ल्याउन टेन्डर आह्वान भयो।

‘छनोट भएको कम्पनीले सामान ल्याउने प्रक्रिया थाल्यो’‚ उनले भने,‘तर चुलाबारे कम्पनी केही कुरामा स्पष्ट नभएकाले मापदण्डअनुसारको चुलो ल्याउन सकेन। त्यही भएर ढिलाइ भएको हो। अब त ल्याएर पनि बाँड्न शुरु भइसक्यो।’ 

उनले पहिलो चरणमा करिब ३ हजारलाई चुलो वितरण गरिने र बाँकीलाई क्रमशः वितरण गर्दै जाने बताए। ‘बाँकी विद्यार्थीलाई हामी विस्तारै वितरण गर्दै जान्छौँ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.