|

काठमाडौं : काठमाडौं महानगरपालिकाले खुलामञ्चमा तीनतले कंक्रिट भूमिगत पार्किङ बनाउने योजना अघि सारेपछि यसको चर्को विरोध भइरहेको छ।

महानगरपालिकाले काठमाडौंको पार्किङ व्यवस्थित बनाउन भन्दै खुलामञ्चमा तीनतले कंक्रिट पार्किङ बनाउन लागेको हो। अधिकांश काठमाडौंवासी कुनै हालतमा यो बन्न नहुने भन्दै प्रतिकार गरिरहेका छन्। 

यस्तो छ खुलामञ्चको इतिहास

सामाजिक, राजनीतिक र सांस्कृतिक महत्त्व बोकेको थलो हो काठमाडौंको खुलामञ्च। तर,त्यही खुलामञ्च बेला–बेला कहिले बसपार्क,कहिले पार्किङ त कहिले व्यापारिक संरचनाका कारण अतिक्रमणमा परिरहन्छ। 

खुलामञ्चमा पार्किङ बनाउन दिन नहुने पक्षमा रहेका पूर्वमन्त्री भीमसेनदास प्रधान यसको इतिहास बुझ्न आवश्यक रहेको बताउँछन्। खुलामञ्चको साँस्कृतिकसँगै राजनीतिक महत्त्व रहेको उनको तर्क छ। प्रधानका अनुसार राजा महेन्द्रले खुलामञ्च बनाएपछि वेलावेलामा पञ्चायतको कार्यक्रम हुन्थ्यो। त्यही ठाउँमा २०३७ जनमत संग्रहको कार्यक्रम, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को संयुक्त जनआन्दोलनका आमसभा भएको थियो। 

‘त्यसैले खुलामञ्चलाई जनआन्दोलनको उद्गम थलो मानिन्छ। स्वर्गीय मदन भण्डारीले पनि त्यही ठाउँबाट भाषण गरेपछि राजनीति चर्चा कमाएका थिए। २०३६ सालमा विश्वेश्वरप्रसाद कोइराला ले सानो माइक राखेर पहिलो पटक खुलामञ्चबाट भाषण गरेका थिए’, उनी सम्झिन्छन्, ‘पछि सबै नेताहरूले त्यहाँ भाषण गर्न थाले।’

पहिले पहिले राजधानीमा पानीको संकट पर्दा टुँडिखेलबाट पानी निकालेर शहरवासीले उपयोग गर्ने गरेको उनी बताउँछन्। ‘टुँडिखेलमा पश्चिमबाट बगेको रामकोट भीमढुंगाडाँडाबाट आएको स्वच्छ र चिसो हावा आउँथ्यो’, उनले भने, ‘स्वच्छ वातावरणमा वृद्धवृद्धा बसेर आराम गर्थे। तर, पछिल्लो समय ठूलठूला संरचना बने। संरचनाले छेकेपछि अहिले प्रदूषित धुवाँ र धुलो मात्र आउने गरेको छ।

टुँडिखेलको विखण्डन

प्रधानका अनुसार लिच्छविकालीन समयमा टुँडिखेल खाली थियो। हरियाली देखिन्थे। हरियाली भएकै कारण बाहिरका मान्छेहरू आकर्षित भएर शहर छिर्थे।

उनी भन्छन्,‘पहिले बूढानीलकण्ठको गंगालाल अस्पतालबाट सुरू भएर सबै समतल हरियाली मैदान थियो। रानीपोखरी बीच भागमा थियो, पूर्वपट्टि बागमती नदी, पश्चिमपट्टि विष्णुमती र बीचमा टुकुचा थियो। टुकुचा र विष्णुमतीको वरिपरि ठूलो ‘ग्रासलाइन’ चौर थियो। त्यो नै टुँडिखेलको पुरानो वास्तविक एरिया हो।’

राणाशासनको समयमा ती समतल मैदानमा शीतलनिवास, नारायणहिटी दरबार, कृष्णशमशेरको दरबार, बागदरबार र सिंहदरबारलगायत संरचना बनेको उनी बताउँछन्। 

‘ती संरचना बनिसकेपछि बचेको भाग रानीपोखरी हो। त्यहाँ खेलकुद मैदान र पोखरी थियो, २०१३ सालतिर टुँडिखेल व्यवस्थापन गर्नका लागि राजा महेन्द्रले हाकु बाजे भनिने व्यक्तिलाई जिम्मेवारी दिएपछि टुँडिखेलको विखण्डनको काम सुरू भयो,’उनले सुनाए।

टुँडिखेलको बीच भागमा ‘गुरूमापा’ वृक्षको ठूलो रूख थियो। उनी भन्छन्,‘रूख भएको ठाउँमा प्रत्येक फागु पूर्णिमामा जात्रा हुन्थ्यो, घोडेजात्रामा काठमाडौंमा  सबै देवी देवताको मन्दिरको रथ साटेर ठूलो जात्रा हुन्थ्यो। पछि राजाहरूले ती रूख काटेर सैनिक मञ्च बनाइयो। त्यसपछि टुँडिखेलमा जात्रा हुनै छाड्यो। यसरी जात्रालाई पनि विस्थापित गरियो।’ 

उनका अनुसार २०१८ सालतिर राजा महेन्द्रले बचेको टुँडिखेल भागलाई सिमेन्टको पोल लगाई संरक्षण गर्न बार लगाए। ‘तर बिस्तारै शहीद गेट खोलियो,’प्रधान भन्छन्,‘सुन्धारा पछाडि भएको सेनाको सचिवालय भवन टुँडिखेलमा बनाउन दिइयो,महानगरपालिकाले ‘भ्यु टावर’ निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्ससगँ सम्झौता गरेसँगै त्यहाँ निर्माण सामग्री राखेपछि टुँडिखेल झनै अस्तव्यस्त बन्दै गयो।’

अनि सुरू भयो अकुपाइ अभियान

यही ऐतिहासिक खुलामञ्च र टुँडिखेलको अतिक्रमण बढ्दै गयो र पहिलेकै अवस्थामा फर्काउन २०७६ साल २३ असोजबाट सर्वसाधारणहरूलाई विशाल मानव साङ्लो निर्माण गरी तीन महिने ‘अकुपाइ टुँडिखेल अभियान’ सुरू भयो।

सम्पदा अभियन्ताले प्रत्येक शनिबार विभिन्न चेतनामूलक कार्यक्रम गर्ने योजना बनाए। जसअनुसार पहिलो चरणमा ०७६ असोज २३ गतेको विश्व स्वतन्त्रता दिवसका दिन विरोध स्वरूप मानव साङ्लो बनाइयो। दोस्रो साता खरीको बोट पुनर्स्थापित, तेस्रो साता साहित्यिक सम्मेलन, चौथो साता सम्पदाका महत्त्व र त्यसमा देखिएका विकृति प्रतिबिम्बित गर्ने सम्पदा लडाइँ नामक पुस्तकबारे छलफल गरियो। 

त्यस्तैगरी,पाँचौँ साता खेलकुदको दृष्टिकोणले टुँडिखेलको महत्त्व प्रतिबिम्बित गर्न तेक्वान्दो प्रदर्शनी, छैटौँ साता खुलामञ्चमा जनताको डोजर लगेर सरसफाइको थालनी, सातौँ साता स्थानीयको खुलामञ्चसँगको कथा र स्मृति वाचन कार्यक्रम भयो। 

त्यस्तै,आठौँ र नवौँ साता खुलामञ्चमा चित्र निर्माण तथा सरसफाइ,दशौँ साता सवारीसाधन मुक्त खुलामञ्च बनाउने अभियानस्वरूप काठमाडौं महानगरपालिकाका वडा २८ को सहकार्यमा सूचनाहरू टाँसियो।

एघारौँ साता ‘हामी नबिर्सौं’ शीर्षकसहित खुला ठाउँ, काठमाडौं, टुँडिखेल, खुलामञ्च लगायतका विषयवस्तु समेटेर फोटो प्रदर्शनी भयो। त्यस्तैगरी बाह्रौँ साता वीर अस्पताल र दरबार हाइस्कुलका अधिकारीसँग छलफल र  तेह्रौँ साता पत्रकार सम्मेलन गरिएको थियो।

यही अभियान र दबाब चलेपछि महानगरपालिकाले चासो लियो। अन्ततः महानगरपालिकाले पहिलो पटक २०७७ फागुन ५ गते खुलामञ्चमा भएको टहराहरू भत्कायो। महानगरपालिकाले दोस्रो पटक डोजर चलाएर निर्माण सामग्री राख्न बनाइएका संरचनाको सबै वरिपरिको बार भत्कायो।

त्यसपछि खुला भयो खुलामञ्च। अतिक्रमणकै कारण २०७२ यता त्यहाँ ठूलो राजनीतिक भाषण भएको थिएन। तर,सबै संरचना हटेपछि २०७८ साल भदौ २८ गते अर्थात् अतिक्रमणको ६ वर्षपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध खुलामञ्चमा आमसभा गरेको थियो। तर,फेरी महानगरपालिकाले यसको संरक्षण गर्नुको साटो कंक्रिटको संरचना बनाउने योजना बनाएको छ। 

जनताको लागि खुलामञ्च खुलै राखौँ : पूर्व सांसद राई

काठमाडौं–३ का पूर्वसांसद कृष्णबहादुर राई खुलामञ्च राजनीतिक,साँस्कृतिक एवं धार्मिक रूपमा यसको महत्त्व रहेकाले यसलाई खुलै राख्नुपर्ने बताउँछन्।

उनी भन्छन्,‘पञ्चायत कालबाट नै खुलामञ्चमा राजनीतिक भाषणलगायत विभिन्न सामाजिक सन्देश सम्प्रेषण गर्ने ठाउँ थियो,जनताको लागि आमसभा गर्नलाई छुट्याइएको ठाउँ हो यो। त्यसैले यो ठाउँलाई संरक्षित गरी जनताका लागि खुलै राख्नुपर्छ।’ 

‘कुनै हालतमा कंक्रिटको संरचना बन्न हुँदैन’

सम्पदा संरक्षण अभियन्ता कुनै हालतमा त्यस ठाउँमा कुनै पनि पनि कंक्रिटका संरचना बन्न नहुने माग र यसको विरोध गर्दै आएका छन्। सम्पदा संरक्षण एवं अकुपाइ टुँडिखेलका अभियन्ता गणपतिलाल श्रेष्ठ भन्छन्, ‘खुला ठाउँ संरक्षण गर्ने अभिभारा महानगरपालिकाको हो, तर यसको मर्म महानगरले बुझेन। खुलामञ्च सार्वजनिक जग्गा हो। सरकारी र सार्वजनिक कामपाले महत्त्व बुझेन जस्तो लाग्यो।’

महानगरपालिकाले एकोहोरो यो निर्माणमा लाग्नु गलत रहेको उनले बताए। ‘यो ठाउँ राजनीतिक,सांस्कृतिक,सामाजिक रूपले यसको महत्त्व छ। विपद् आई पर्दा आश्रयस्थल पनि यही हो’, उनले भने।

यसैबीच अकुपाई टुँडिखेल अभियानले यी ऐतिहासिक खुलामञ्चमा त्यस्ता भूमिगत भूमिगत पार्किङ संरचना निर्माण नगर्न महानगरपालिकाका प्रमुख बालेन साह र उप्रमुख सुनिता डंगोललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ।

 सम्भावना मात्रै हेरेका हौँ : महानगरपालिका 

महानगरपालिकाको दशौँ कार्यपालिका बैठकले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णय गरेको हो। ५ हजार भन्दा बढी सवारीसाधन अट्ने गरी तीनतले भूमिगत पार्किङ बनाउने योजना महानगरको छ।  

महानगरपालिका प्रवक्ता नवीन मानन्धर भन्छन्,‘तीनतले भूमिगत पार्किङ बन्छ/बन्दैन भनेर अहिले सम्भावना हेरेको हौँ,’उनले भने। पाँच वर्षअघिदेखि नै यो पार्किङ बनाउने योजना रहेको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.