|

काठमाडौं : शनिबार राजधानीस्थित भृकुटीमण्डपमा नेपथ्यको कन्सर्ट हेर्न आएका दर्शकको संख्या झण्डै ५ हजार थियो। राति सवा ८ बजे कन्सर्ट सकिएर निस्किँदा कोही एकजनाले रातो र चन्द्र सूर्य गाउन शुरु गर्‍यो। उसैलाई पछ्याउँदै अरुले पनि सँगै गाउन थाले। यो नेपथ्यको २ घण्टा लामो सांगीतिक प्रस्तुतिको प्रभाव थियो। 

लामो समयपछि काठमाडौंमा कन्सर्ट गरेको नेपथ्यलाई दर्शकले राम्रो साथ दिए। सन् २०२२ को अन्तिम दिनका साथै ब्याण्डका गायक अमृत गुरुङको जन्मदिन पनि सोही दिन परेकाले उक्त कन्सर्ट अझ विशेष हुन पुग्यो। हजारौँको भीडले अमृतलाई एकैपटक जन्मदिनको शुभकामना दिँदा अमृत भावुक पनि भएका थिए। 

कन्सर्टमा सर्वसाधारणको भीड त थियो नै साथै हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलगायतका कलाकार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री गगन थापालगायतका नेताहरू पनि सपरिवार उपस्थित भएका थिए।

भटभटे बोलको गीतबाट शुरु भएको कन्सर्ट रातो र चन्द्र सूर्य गाउँदै बिट मारिएको थियो। दुई घण्टाको अवधिमा गाइएका भेडाको ऊनजस्तो, लामपाते सुरती, शिरफूल शिरैमा, छेक्यो छेक्यो जस्ता पुराना लोकप्रिय गीतदेखि नयाँ पछिल्लो समय सार्वजनिक गरिएको नैनीतालसम्म हरेक गीत दर्शकले उत्तिकै इन्जोए गरे। 

दर्शक कुनै गीतमा मन्त्रमुग्ध भएर गम्भीर मुद्रामा सुनिरहेका थिए भने कुनै गीतमा अमृतको इशारामा उफ्रिइ पनि रहेका थिए। हजारौँ मानिस एउटै तालमा उफ्रिँदा भृकुटीमण्डपले सानोतिनो भूकम्पको महशुश गरिरहेको छ जस्तो भान पनि हुन्थ्यो। केही गीतमा भने दर्शक आफ्नो आफ्नो स्थान विशेषको मौलिक नृत्य पनि गरिरहेका थिए। 

शनिबार काठमाडौंमा भएको कन्सर्टसँगै नेपथ्यको एकमहिने सांगीतिक यात्रा पनि सकिएको छ। यसअघि विराटनगर, वीरगञ्ज, नारायणगढ, सुर्खेत, पोखरालगायत उपत्यका बाहिरका ठूला शहरमा कन्सर्ट गरेर ब्याण्ड आफ्नो अन्तिम प्रस्तुतिका लागि काठमाडौं आएको थियो। कोरोना महामारीपछि नेपथ्यको सबैभन्दा व्यस्त महिना पनि यही हो। 

मानवताका लागि गरिएको सांगीतिक यात्रामा नेपथ्यले मानव सेवा आश्रमसँग सहकार्य गरेको थियो। जुन संस्थाले असहाय, अनाथ, शारीरिक तथा मानसिक रुपमा अशक्त सडकआश्रित मानवहरूको उद्धार गर्दै आएको छ। यो सांगीतिक यात्राको मुख्य उद्देश्य मानव सेवा आश्रमको आफ्नै भवन निर्माण गर्नु हो। यो सांगीतिक यात्राबाट आफूहरू सन्तुष्ट रहेको र दर्शकको साथले थप आशावादी बनेको पनि आश्रमका अध्यक्ष रामजी अधिकारीले जनाए।

‘हामीले दुई वर्षभित्र सिंगो मुलुकलाई सडकआश्रित मानवबाट मुक्त गराउने संकल्प लिएका छौं,’ उनले भने, ‘राजधानीका दर्शकहरूबाट पाएको भव्य हौसलाले त्यो संकल्प सजिलै पूरा हुने विश्वास मिलेको छ।’ हाल आश्रम भाडाका घरमा सञ्चालन भइरहेको छ। 

सबैका लागि खाना, नाना र छाना मूल मन्त्र बनाएको आश्रमले विसं २०८२ भित्र नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र निर्माण गर्ने र घोषणाका लागि पहल गर्दै नेपाललाई मानवीयताको राष्ट्रका रुपमा विश्वमा चिनाउने उद्देश्य लिएको छ। हालसम्म देशका सातै प्रदेशमा आफ्नो शाखा तथा सेवा केन्द्रहरू सञ्चालन गरी ७ हजारभन्दा बढी अशक्त तथा असहायहरूको उद्धार, उपचार तथा पालनपोषण गरेको छ भने केहीलाई आफ्नो परिवारसँग पुनर्मिलन पनि गराएको छ। 

परिवार बस्नका लागि बनाइएको घर भाडामा लिएर सेवा शुरु गरेको आश्रमले हाल देशका विभिन्न स्थानमा आफ्नै भवन निर्माणको काम गरिरहेको छ। मुख्य कार्यालय मकवानपुरको हेटौँडामा भवन निर्माण भइसकेको छ भने रुपन्देही, चितवन शाखाको निर्माण अन्तिम अवस्थामा पुगेको छ। अन्य १३ जिल्लामा निर्माण भइरहेको छ। 

७७ वटै जिल्लामै सेवा पुर्‍याउने गरी आश्रमले हाल १९ जिल्लाका २३ ठाउँबाट सेवा सञ्चालन गरिरहेको छ। अहिलेसम्म कुनै पनि विदेशी संस्थाबाट सेवा नलिइ सञ्चालन भएको संस्था मुख्य गरी मुठ्ठीदान तथा तीनवटै तहका सरकारबाट प्राप्त अनुदानबाट चलिरहेको छ। जन्मदिन, विवाह वर्षगाँठ, पर्वलगायतका अवसरमा मानिसहरूले गर्ने दान, लत्ताकपडा, खाद्यान्न, औषधी सहयोग, देश तथा विदेशमा रहेकाहरूले गर्ने आर्थिक सहयोगले हालसम्म संस्था चलिरहेको छ। अहिले पनि १६ सयभन्दा बढी मानिस प्रत्यक्ष रुपमै आश्रममा आश्रित भएकाले उनीहरूको स्याहारका लागि नियमित रुपमा सहयोगको आवश्यकता रहिरहने आश्रमका अध्यक्ष अधिकारी बताउँछन्।

देशभर भइरहेको आश्रमका निर्माणाधीन भवनलाई पूर्णता दिन, कुनै पनि विपत्ति वा कठिन अवस्था आइपरेमा प्रयोग गर्न मिल्ने गरी कम्तिमा २५ करोड रूपैयाँ बराबरको अक्षयकोष स्थापना गर्न, देशको कुनै पनि स्थानमा अति कष्टपूर्ण जीवन बिताइरहेकाहरू देखिए यथाशीघ्र उद्धार हुने परिपाटी निर्माण गर्न आश्रमले नेपथ्यसँग सहकार्य गरेर सांगीतिक यात्रा गरेको हो। साथै मानिसहरूमा मानवताको बिजारोपण गरी सडकमा पुगेका मानिसहरूको यथार्थ अवस्था, उनीहरूप्रति गर्नुपर्ने मानवीय व्यवहारका बारेमा जनचेतना जगाउन तथा सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणका नेपथ्यसँग सहकार्य गरिएको पनि उनले जनाए। 

‘देशभरिबाट ६० हजारभन्दा बढीले प्रत्यक्ष रुपमै सहभागिता जनाउनु भयो। यो हामीले सोचेजस्तै प्रभावकारी पनि रह्यो।’ नेपथ्यसँग सहकार्य गर्दाको प्रसंग जोड्दै अधिकारीले भने, ‘सडक नाटकलगायतका अन्य साँस्कृतिक कार्यक्रमहरू हामी गर्दै नै आएका थियौँ। संगीतले अझ धेरै मान्छेलाई जोड्ने भएकाले यो पटक सांगीतिक कार्यक्रम गर्ने योजनामा थियौँ। कोसँग सहकार्य गर्ने भनेर खोज्दै जाँदा हाम्रो भावनासँग मेल खाने नेपथ्य भेटियो।’ साथै सबै ठाउँका कार्यक्रममा त्यहाँको स्थानीय निकायको पनि महत्वपूर्ण साथ रहेको उनले बताए।

मानवसेवा आश्रमले गरिरहेको काम र उद्देश्यबारे बनाइएको डकुमेन्ट्री देखाएर शुरु भएको कन्सर्टको बीचमा पनि अमृतले आश्रमबारे भनिरहेका थिए। गीत संकलनका क्रममा नेपालका विभिन्न भागहरू भ्रमण गरेका अमृतले गीतमा भुइँ मान्छेका भावना समेट्ने गर्छन्। एक महिना लामो सांगीतिक यात्रामा मानव सेवा आश्रमले गर्दै आएको कामको प्रसंसा गर्दै अमृतले सबैलाई सहयोगको लागि आह्वान गर्दै राजनीतिक नेताहरूलाई देशमा रोजगारको सिर्जना गरेर विदेशिएका युवालाई देशमै रहने वातावरण मिलाएर नेपाललाई सुन्दर, शान्त र विकासको बाटोमा लैजान प्रयास गर्न पनि आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.