|

रौतहट : कठ्यांग्रिँदो चिसोका कारण रोतहटको दलित बस्तीका बासिन्दाको बिजोग भएको छ।

कठ्यांग्रिने चिसोमा रौतहटको दलित बस्तीका बासिन्दा पराल ओछ्याएर सुत्न बाध्य छन्। चन्द्रपुर नगरपालिका वडा नं ९ डुमरियामा रहेका करिब ९५ घर मुसहर बस्तीका बासिन्दा न्याना ओढ्ने ओछ्याउने नहुँदा पराल ओछ्याएर सुत्न बाध्य भएका हुन्। दिनभरि ज्याला मजदुरी गरेर दुई छाकको जोहो गर्ने दलित बस्तीका बासिन्दा चिसोका कारण काममा जानसमेत नसकेको बताउँछन्।

सरकारले जनता आवास कार्यक्रमअन्तर्गत बनाइदिएको पक्कीघरसमेत गुणस्तरहीन भएकाले उनीहरूलाई वर्षाको पानी घरभित्र छिर्ने, चैत-वैशाखमा हावाहुरीले सताउने र जाडोमा जस्तापाताबाट शीत झरेर सुत्नै नसक्ने स्थानीय बासिन्दा रामदेव माझीले बताए।

तराईमा बढेको शीतजस्ता पाताबाट घरभित्र नै तपतप चुहिने गरेकाले घरमा पराल ओछ्याएर सुते पनि माथिबाट शरीरमा शीत झर्ने गरेको रामदेवले बताए। विपन्न मुसहर बस्तीको कन्तबिजोगबारे तीनै तहको सरकारले वास्ता नगरेको स्थानीयको गुनासो छ।

झ्यालढोका नभएका नाममात्रका पक्कीघरमा बस्नै नसक्ने अवस्था रहेको स्थानीय शान्ति देवी बताउँछिन्। शीतलहरमा घरभित्रै शीत झर्ने, वर्षाको पानी पनि घरभित्रै छिर्ने र हावाहुरी आउँदा पनि घरमा पकाएर खान नसक्ने अवस्था रहेको गुनासो उनको छ।

जाडो याममा बालबालिका बचाउनै कठिन भएको उनको भनाइ रहेको छ। नाममात्रको पक्कीघरमा स्थानीय पराल ओछ्याएर सुत्न बाध्य रहेका छन्। बाक्लो हुस्सु र शीतलहरबाट जोगिन सो दलित बस्तीका बासिन्दा परालको घुर अर्थात आगो तापेर दिन र रात कटाउन बाध्य छन्।

दैनिक ज्याला मजदुरी गरेर आफ्नो गुजारा चलाउँदै आएका सो बस्तीका बासिन्दा केही दिनदेखिको हुस्सु र शीतलहरका कारण काममा जानसमेत नसक्दा हातमुख जोर्न धौधौ परेको अर्का स्थानीय बासिन्दा रामवचन माझीको भनाइ रहेको छ।

जाडोमा लगाउने न्यानो कपडाको अभावमा आफ्ना बालबालिकाको ज्यान जोगाउनै आफूहरूलाई समस्या हुँदासमेत सम्बन्धित निकायले कुनै वास्ता नगरेको रामवचनले गुनासो गरे।

स्थानीय सरकारले अरु केही नगरे पनि आफ्नो बस्तीमा आगो ताप्न दाउरा व्यवस्था गरिदिनुपर्ने माग स्थानीय अक्लु माझीको छ। नगरपालिकाले जाडोबाट बच्न दाउरा वितरण गरेको आफूले सुने पनि आफ्नो बस्तीमा दाउरा दिन कोही नआएको उनको भनाइ रहेको छ।

जाडोका कारण डुमरियाको मुसहर बस्तीको अवस्था नाजुक रहेको स्थानीय बासिन्दा विक्रम चौधरीको भनाइ रहेको छ। स्थानीय सरकारले सो दलित बस्तीका बासिन्दालाई जाडोबाट बचाउन तत्काल उचित राहत उपलब्ध गराउनुपर्ने चौधरीको माग रहेको छ।

रौतहट जिल्लाका अधिकांश दलित तथा विपन्न बस्तीका बासिन्दा जाडोका कारण प्रभावित भए पनि स्थानीय सरकारले उनीहरूलाई जाडोबाट बचाउने उपाय अवलम्बन गर्न सकेको छैन।

जाडोमा दलित बस्ती (तस्वीर):

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.