|

काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा जनचेतनामूलक सडक नाटक ‘जुनकिरी’ देखाइएको छ। बागमती प्रदेशको आर्थिक सहयोग तथा खानीखोला गापाको सहकार्यमा आदिइत्यादि नामक संस्थाले तयार पारेको बालविवाहविरुद्ध जनचेतना जगाउन उक्त नाटक देखाइयो।

बालविवाहलाई मुख्य केन्द्रबिन्दुमा राखेर निर्मित ४५ मिनेटको नाटकमा अभिभावक कुलतमा लाग्दा र छोराछोरीको पढाइमा ध्यान नदिँदा उनीहरूको शिक्षामा कस्तो असर पर्छ भन्ने विषयवस्तु समेत उजागर गर्न खोजिएको छ। नाटकमा परिवारभित्रको कलहका कारण बालबालिकाको शिक्षा र जीवनमा पर्ने असरलाई देखाइएको छ।

त्यसैगरी ८ जना कलाकारको प्रस्तुति रहेको उक्त नाटकमा शैक्षिक क्षेत्रका विसंगति देखाउँदै सुधारको सन्देश समेत छ। आइतबारदेखि उक्त नाटक पुस २१ गतेसम्म चल्नेछ। गापाभित्रका ८ वटा माविमध्ये पहिलो दिन धार्ने र बालविकास मावि, शारदा मावि, जनहित मावि र बुद्ध मावि धाप्लेमा देखाइएको छ भने भृकुटी, कुमारी मावि र जनविकास उच्च माविमा देखाउन बाँकी छ।

कलाकारहरूले पुरु लम्सालको लेखन तथा निर्देशन रहेको उक्त नाटकमा कलाकारहरू सुशीलसिंह ठकुरी, दिवाकार घिमिरे, दीपमाला परियार, अनामिका लामिछाने, शान्ति भट्टाराई, तिर्सना राई र रविन लामाको जीवन्त अभिनय छ।

जनहितका सहप्रधानाध्यापक कुमारबहादुर दर्लामीले केही दिनअघि मात्रै विद्यालयमा अध्ययनरत एक छात्राले बालविवाह गरेसँगै अन्य दुई साथी समेत पढ्न आउन छाडेको बताउँदै बालविवाहको प्रचलन न्यूनीकरण गर्न यस्ता खाले जनचेतनामूलक नाटक प्रभावकारी बन्न सक्ने बताए।

नाटक हेर्न आएका स्थानीय कान्छीमाया लामाले समुदायको यथार्थ चित्रण बोकेको नाटक हेर्न पाउँदा खुसी लागेको बताए। उनले भनिन्, ‘बालविवाहका कारण मेरै आफन्तले नाटकमा देखाएको जस्तो समस्या भोग्नु परेको थियो। नाटक त मेरै बहिनीको समस्यालाई हेरेर बनाएको जस्तो लाग्यो।’

लम्सालको वृत्तचित्र ‘गोरु पर्व’ बंगलादेशमा आयोजना हुने २१ औँ अन्तरराष्ट्रिय ढाका फिल्म फेस्टिभलमा छनोट भएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.