|

इलाम : दोलखाकै तत्कालीन जिरी बहुउद्देश्य स्कुलबाट ०२९ मा एसएलसी उत्तीर्ण गरेपछि रिञ्जीफुर्वा शेर्पा उच्च शिक्षाका लागि राजधानी हानिएका थिए। पहाडी क्षेत्रमा जन्मिएका उनको विज्ञान पढ्ने रहर थियो।

तर, दुग्ध विकास संस्थानको त्यो एउटा विज्ञापनले उनको लक्ष्य मोडिदियो। उनी चिज मेकरतर्फ आकर्षित भए। ४७ वर्ष अघिको घटना सम्झँदै शेर्पा भन्छन्, ‘एलएलसी पास गरेपछि कलेज पढ्न राजधानी झरेको थिए। जागिर खोज्दै जाँदा दुग्ध विकास संस्थान पुगे। त्यहाँ चिज उत्पादनको दुईवर्षे तालिम गर्नुपर्ने र काम गरेवापत पैसा पनि उपलव्ध गराइने उल्लेख थियो। पहाडको मान्छे पैसा पनि खासै नहुने भएकाले अवसर सम्झेर स्विकारे।’

स्विस एसोसिएसन फर टेक्निकल एसिस्टेन्ट (साटा)ले संस्थानसँग सहकार्य गरेको उक्त कार्यक्रमअन्तर्गत चीज उत्पादन विधि सिक्न फिलिपिन्ससमेत जान पाइन्थ्यो। त्यसले शेर्पालाई लोभ्यायो। ‘विदेशमा समेत तालिम लिन पाइने र थोरै भए पनि तलब पाउने कुराले संस्थानकै पढाइलाई अघि बढाइयो’, उनले विगत सम्झिए, ‘पढाइ सक्नासाथ संस्थानमै जागिर पाउने कुराले झनै हौस्याएको थियो।’

नभन्दै ०३४ मा उनी संस्थानका चौथो तह कर्मचारी नियुक्त भए। देशको राजनीतिक अस्थिरतासँगै उनको जागिर मोह पनि घट्दै गयो। २०३६ सालमा पञ्चायती व्यवस्था फाल्न अप्रत्यक्ष रूपमा भूमिका खेल्दै जागिर छाडे। बेरोजगार जस्तै बनेका उनको भेट इलामका निमा शेपासँग भयो।

र उनी पशुपतिनगरको निसानेमा प्रशान्ति डेरीमा काम गर्न थाले। उनी त्यसबेला अवस्था सम्झन्छन्, ‘निसानेमा चिज कारखाना खोल्दा धेरैजसो दूध भारत जान्थ्यो। वर्खामा डेरीमा जम्मा हुने हिउँद लागेपछि फेरि भारत जाने गर्थ्यो।’

चिजको सर्भेको लागि राँके–रक्से हुँदै उनी २०६३ साल कार्तिकमा माईपोखरी आएपछि प्रशान्तिको शाखा त्यही खोले। त्यो समयमा दुधको मूल्य निक्कै कम थियो। माइपोखरी आसपासको क्षेत्रबाट दैनिक २ सय लिटर दूध संकलन हुने गरेको शेर्पा सुनाउँछन्, ‘त्यसबेला दुध ५÷६ रुपैयाँमा बिक्री हुन्थ्यो। एसएनएफ ३.५–८.२ हुन्थ्यो कम भएकोलाई गालेर बढी बनाइदिए। किसानहरूलाई उन्नत जातको डालेघाँसहरूको व्यवस्था गरिदिएपछि दूधको बजार पनि विस्तार भयो। किसानहरूको प्रयासले यहाँसम्म पुग्न सफल भए।’

४ वर्षसम्म प्रशान्तिको शाखा चलाएपछि उनी आफैँ उद्यमी बन्नका लागि शेर्पा डेरी खोलेर चलाउन थाले। डेरीकै आम्दानीबाट ६ रोपनी जग्गा खरिद गरेर २०७२ सालमा सन्दकपुर–३ देउरालीमा नयाँ उद्योग बनाए।

लगनशीलता र मेहनतलाई देखेर डेनमार्क सरकारको सहयोगमा संचालित उन्नती परियोजनाले ५० प्रतिशत अनुदान सघाएपछि राहत महसुस गरेको अनुभव सुनाउँछन्।

उद्योगमा अहिले चीज लामो समयसम्म भण्डारण गर्न, लामो समयसम्म चीजको गुणस्तर कायम राख्न सहयोग पुगेको उनले बताए। ‘कोल्ड स्टोर नहुँदा बर्खामा बनाएको चिज टिकाउन साह्रै मुस्किल थियो, सयौं किलो चीज हुस्सुले कुहिएर फ्याँक्नु समेत परेको थियो, तर कोल्डस्टोर बनाएपछि धेरै फाइदा पुगेको छ’, शेर्पाले भने, ‘अब हिउँद–बर्खा कहिल्यै चिज बिग्रिने छैन।’

खास ८ देखि १२ डिग्री सेल्सियस तापक्रममा चीज राख्नुपर्ने भए पनि कोल्डस्टोरमा ८ देखि १५ डिग्रीमा चीज राख्दा ६ महिनासम्म नबिग्रने उनले बताए। कोल्डस्टोरको भुइँमा टायल बिछ्याएपछि भुइँको चिसो कम भएको, चिज सफा राख्न, माटो, सिमेन्टबाट चिजलाई बचाउन सहयोग पुगेको उनले सुनाए। कोभिडको महामारी सुरु हुनुभन्दा पहिलो उनले दैनिक २ हजार लिटर दुधको चिज बनाउने गरेका थिए। तर लकडाउन सुरु भएपछि भने उद्योग बन्द गर्नुपर्दा नोक्सानी व्यर्होनुपरेको उनले बताए।

‘चैत्र १३ गतेसम्म त राम्रै चलेको थियो त्यसपछि दशा सुरु भयो। नाकाबन्दी र भुकम्पले थलिएको व्यपार उठ्न नपाउँदै कोरोनाले फेरी समस्या ल्याइदियो’, उनले भने।

 ५ महिना उद्योगले संकट व्यहोरेपछि गत भदौ १५ गतेबाट दैनिक १ हजार लिटर दुध संकलन हुँदै आएको शेर्पाले बताए। कोभिडको महामारीबाट कृषि र दुग्धजन्य उत्पादनमा असर परेपछि प्रदेश सरकारले राहतको कार्यक्रम अघि बढाउँदा शेर्पा समेत लाभान्वित भए। स्टकमा रहेको करिब २ हजार ३ सय केजी चिज र मखन बिग्रिएपछि प्रदेशबाट राहत पाएको उनले सुनाए

‘२२–२३ सय केजी जति चिज र मखन बिग्रियो वडाको सिफारिसमा भेटेनरी मार्फत प्रदेश सरकारलाई जानकारी गराएपछि २ लाख ६० हजार राहत पाए’, शेर्पाले भने, ‘कृषकहरूलाई एक केजी दूधमा १० रुपैयाँ दिएको रहेछ दर्ता भएका उद्योगलाई १ केजी चिज वा मखनमा १ सय रुपैयाँ राहत दिएको रहेछ।’

उनको उद्योगमा अहिले १० वटा संस्थाबाट दुध संकलन हुँदै आएको छ।

जसमा सहकारीमा दर्ता भएका संस्थाहरू पनि छन् र पान लिने प्रक्रियाका लागि संगठित भएका किसानहरूको समूह पनि। शेर्पाले पशु तथा कृषि विकासको क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत पशु सेवा विभागबाट उत्कृष्ट दुग्ध व्यवसायी पुरस्कार–२०७४ पनि प्राप्त गरेका छन्। दुग्द्यजन्य क्षेत्रमा उनको सक्रियताका कारण विभिन्न समयमा पुरस्कृत भइरहेका छन्।

दुग्द्यजन्य क्षेत्रमा भविष्य देखेर नै लगानी गरेको शेर्पा सुनाउँछन्। आजकाल इलामको उत्तरी क्षेत्र सन्दकपुरका किसान र उद्योगीका लागि उनी प्रेरणाका पात्र बनेका छन्। शेर्पा इलामका चीज उद्योगीहरूको छाता सँगठन हिमालयन चीज उत्पादक संघको अध्यक्षसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.