|

गौर : बाक्लो हुस्सु र शीतलहरमा रौतहटकी नीतुकुमारी राम बोरासँगै कापीकलम बोकेर विद्यालय आउँछिन्। कक्षा ४ मा अध्ययनरत ​उनी बोरा बोकेर विद्यालय आउनु दैनिकी बनेको छ।

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १ मा रहेको दलित प्राथमिक विद्यालयको भवन छैन। भवन नभएकाले उनीहरू खुला चौरमा बसेर पढ्छन्। त्यसका लागि उनी घरबाट बोरा बोकेर आउने गरेकी हुन्। उनीजस्ता करिब १८० जना विद्यार्थी उक्त विद्यालयमा दैनिक बोरा बोकेर पढ्न आउँछन्।

शिशु कक्षादेखि ५ कक्षासम्म खुला आकाशमुनि बसेर पढ्न विद्यार्थी बाध्य छन्।

फतुवा विजयपुर नपा-१ शीतलपुरमा उखुबारीको बीचमा रहेको विद्यालयको अवस्था दयनीय हुँदा पनि नगरपालिकाले कुनै वास्ता नगरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र हजराले बताए।

२०६४ सालमा स्थापित उक्त विद्यालयमा भवनको नाममा एउटा सानो फुसको छाप्रो रहेको छ। उक्त विद्यालयमा कक्षा कोठा, डेस्क, बेन्च, कालोपाटी लगायत केही सामग्री छैनन्। अरू त परको कुरा रह्यो‚ विद्यालयमा अफिस कोठाको नाममा ६ वटा प्लाष्टिकका कुर्सी मात्र रहेको विद्यालयका शिक्षक रामेश्वर महराले बताए।

सरकारले शिक्षाको नाममा वर्षेनि ठूलो रकम खर्च गर्ने गरे पनि उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीले पाँच कक्षा पास गर्ने वेलासम्म डेस्क र बेन्चको मुख समेत देख्न पाउँदैनन्।

कक्षा ४ मा अध्ययनरत इन्द्रकुमारी पासवानले आफूले अहिलेसम्म आफ्नो विद्यालयमा डेस्क र बेन्च समेत नदेखेको बताइन्। उनी बिहान खाना आएर कापी र कलमसँगै विद्यालय आउने वेला बोरा लिएर आउँछिन्।

विद्यालय आएपछि चर्को घाम होस् वा शीतलहर उनी बोरा ओछ्याएर पढ्न थाल्छिन्। उनीसँग यसको विकल्प पनि त छैन।

वर्षाका वेला भने विद्यालय बन्द हुने गरेको छ। यसले गर्दा उनीहरू भिजेर पढ्नु नपरेको शिक्षक रामेश्वर महराको भनाइ रहेको छ।

चिसो याममा भने बकैया खोलाको छेउमा मुटु कमाउने चिसो सिरेटोसँगै बाक्लो हुस्सुमा विद्यार्थीहरू बोरा ओछ्याएर पढ्न बाध्य छन्।​ भवनबिनाको त्यस विद्यालयमा पढ्न आउने विद्यार्थीलाई शिक्षकले कक्षा छुट्याएर समूहमा पढाउने गरेका छन्।

विद्यालय भवनका लागि नगरपालिकामा पटक पटक ताकेता गर्दा समेत वास्ता नगरेको अर्का शिक्षक शिरालालप्रसाद यादवले गुनासो गरे। विद्यालयमा पकाउने ठाउँ समेत नहुँदा विद्यार्थीले दैनिक दिवा खाजा समेत खान नपाएको शिक्षकहरूको भनाइ छ।

खाजा पकाउने ठाउँ नभएकाले आफूहरूले विद्यार्थीलाई दिवा खाजाको रूपमा चाउचाउ र बिस्कुट दिने गरेको प्रधानाध्यापक राजेन्द्र हजाराले स्वीकार गरे।

तत्कालीन वडाध्यक्ष सञ्जय साहले विद्यालय भवन बनाउन भनी ४ कट्ठा जमिन किनेर नगरपालिकाको २४ लाख बजेटमा भवन बनाए पनि उक्त जमिन विद्यालयको नाममा छैन।

वडाध्यक्ष साहले दलित प्राथमिक विद्यालयका लागि किनेको जग्गा कसको नाममा छ भन्ने कुरा आफूहरूलाई थाहा नभएको शिक्षकहरू बताउँछन्।

पूर्व वडाध्यक्ष साहले नगरपालिकाको बजेटबाट किनेको जमिन विद्यालयको नाममा नभएका कारण विद्यालयको अवस्था नाजुक रहेको शिक्षकहरूको भनाइ छ। त्यस विषयमा पूर्व वडाध्यक्ष साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

विद्यालयको भवनको यस्तो अलपत्र अवस्था हुँदा विद्यार्थीहरू चिसो भुईंमा बोरा ओछ्याएर पढ्न बाध्य भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.