|

काठमाडौं : दुई वर्षअघि २०७७ सालको जेठमा नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष चयन प्रक्रिया सुरु हुँदा अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी आकांक्षीमध्येका एक थिए। त्यतिवेला बोर्ड अध्यक्षको रूपमा लेखक तथा निर्देशक दयाराम दाहाल चयन भए।

यसपालि स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा प्रवेश गरेका केसीले बोर्ड अध्यक्ष बन्नकै लागि उक्त कदम लिएको अनुमान गरिएको थियो। नभन्दै गत साउनमा उनी बोर्ड अध्यक्ष चयन भए।

झण्डै चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय केसी चलचित्र विकास बोर्डको अध्यक्ष चुनिएको पाँच महिनाभन्दा बढी भइसकेको छ। नियुक्तिदेखि नै विवादमा मुछिएका केसीले बोर्ड अध्यक्षको रूपमा देखिनेगरी कुनै काम गर्न नसकेको चलचित्रकर्मीकै आरोप छ। शैक्षिक योग्यता नपुगेको भन्दै बोर्ड अध्यक्ष केसीको ‘केस’ सर्वोच्चसम्मै पुग्यो। यौनहिंसाको आरोपीलाई अध्यक्ष बनाएको भन्दै धेरैले उनको नियुक्तिको आलोचना गरे।

त्यो बाहेक प्रेम गीत ३ को सेन्सर होस् या फिल्म हलका लागि समय पाबन्दीदेखि हलमा विश्वकप देखाउन नपाउने निर्णय र पछिल्लो महिला सशक्तीकरण समिति सदस्यको रूपमा अभिनेत्री पूजा शर्माको नियुक्तिसम्म, केसी बारम्बार विवादमा आइरहे। तर, विवादलाई छायामा पार्नेगरी उनले कुनै पनि काम गरेका छैनन्। 

‘म जागिर खानको लागि आएको होइन, चलचित्र क्षेत्रलाई जीवन्त पार्ने कोशिसमा आएको हुँ’, अध्यक्ष नियुक्त भएपछि एक अन्तरवार्तामा भनेका थिए, ‘नेपाली चलचित्र क्षेत्रको अपार सम्भावना छ। हामीसँग धेरै प्रतिभा र सिर्जना छन्। संस्थागत रूपमा यसको संरक्षण र प्रवर्धन गर्ने काम बोर्डले गर्छ।’ साथै आफ्नो प्राथमिकता अन्तर्राष्ट्रिय स्तरमा नेपाली, संस्कृति चलचित्र र मौलिकता फैलाउने रहेको पनि उनले बताएका थिए। 

तर कबोल गरेका कुनै पनि काम सुरु गर्ने छनकसम्म उनले दिएका छैनन्। निर्देशक, प्राध्यापक तथा डाक्टर सचिन घिमिरे भन्छन्, ‘उहाँ चलचित्र क्षेत्रमा त्यत्रो समय काम गरेर आउनुभएको हो। तर, अहिले नेपाली चलचित्र क्षेत्रमा फरक र गुणस्तरीय चलचित्र बनाएर राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमै आफूलाई अब्बल साबित गर्न खोजिरहेकाहरूको मनोविज्ञान बोर्डले बुझेको छ कि छैन भन्ने प्रश्न खड्किरहन्छ।’

आफूले बोर्डको सबै कार्यकाल देखेको र अधिकांश अध्यक्षले चलचित्र क्षेत्रको आवश्यकता र भूमिकाअनुसार काम गर्न नसकेको अर्का निर्देशक तथा लेखक मनोज पण्डित बताउँछन्। 

‘पहिलो समस्या विकास बोर्डले आफ्नो उद्देश्य स्थापित गर्न नसक्नु हो। चलचित्र क्षेत्रको विकासमा बोर्डको भूमिका कहाँ र कस्तो हुन्छ भन्ने कुरा पहिचान गर्न नसक्नु ठूलो समस्या हो।’ आफूले देखेका तीन वटा समस्याका बारेमा बताउँदै पण्डित भन्छन्, ‘दोस्रो समस्या नेपाली चलचित्र क्षेत्रसँग ‘इन्टरनल कम्युनिकेसन’ गर्न नसक्नु, समस्या, आवश्यकता र भिजन माग्न नसक्नु हो। के गर्‍यो भने चलचित्र क्षेत्रको विकास हुन्छ भन्नेमा न कुनै स्पष्ट नीति बनाएको छ। न कुनै परियोजनाको निर्माण गरेको छ।’ साथै बनेका पनि चलचित्र क्षेत्रका आवश्यकता के हो भन्ने विषयमा अध्ययन नगरी बनाइने गरेको उनी बताउँछन्। 

‘विकास बोर्ड भनेको राज्य हो। सिनेमाको विषयमा राज्यको स्पष्ट अवधारणा के हो त भन्ने कुरा विकास बोर्डले स्थापित गरिदिने हो’, तेस्रो समस्याका बारेमा उनी भन्छन्, ‘यत्रो वर्षसम्म पनि त्यो गर्न सकेको छैन। यो कुरामा विकास बोर्डको अहिलेसम्मका सबै नेतृत्व चुकेका छन्।’ 

‘बोर्डले केही गरेकाे छ र?’ चलचित्र समीक्षक तथा पत्रकार अनुप सुवेदी प्रश्न गर्छन्। साथै सल्लाह सुझाव दिनका लागि चलचित्र विकास बोर्डले आफू रहेको महशुस गराउन समेत चुकेको उनी बताउँछन्। 

‘चलचित्रमा कसरी थेसिस लेख्ने अथवा अरु स्वतन्त्र बुद्धिजिवीलाई पनि कसरी किताब लेख्न लगाउने र चलचित्रमा कसरी अनुसन्धान गर्न लगाउने हाम्रो नेपाली चलचित्रको प्राज्ञिक पाटोलाई कसरी अगाडि बढाउने भनेर एउटा कार्यसमिति गठन भएको थियो। चलचित्रमा कसरी रिसर्च गर्ने भनेर प्रमुख सल्लाहकार भएर मैले कार्यविधि नै बनाएको थिएँ’, बोर्डसँग सहकार्यको आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै घिमिरे भन्छन्, ‘हामीले त्यो कार्यविधि बुझायौँ। चार पाँच चरणको भत्ता पनि खायौँ। तर त्यो कार्यविधि कहाँ पुग्यो भनेर हामीलाई जानकारी समेत भएन।’

आफूले भत्ता लिनका लागि मात्र नभएर जानेको पाटोबाट समग्र चलचित्र क्षेत्रको हितका लागि योगदान गर्न सकियोस् भन्ने हिसाबले प्रमुख सल्लाहकारको रूपमा काम गरेको घिमिरेले बताए। साथै जे कामका लागि आफू जोडिएको हो त्यो काम अघि बढ्न सक्दैन भने भत्ता पनि लिनुहुँदैन भनेर पाएको भत्ता पनि फिर्ता गर्ने मानसिकतामा आफूहरू पुगेको पनि उनले बताए। 

यसअघि अभ्यासमा आउन लागेका विदेशमा जाने नेपाली फिल्महरूलाई प्रोत्साहन, स्टोरी बोर्ड कन्सेप्ट लगायतका सकरात्मक पक्षलाई अझ प्रभावकारी रूपमा अघि बढाए चलचित्र क्षेत्रकै लागि राम्रो हुने घिमिरे बताउँछन्। 

‘कुनै एउटा व्यक्तिले घरमा गरेको काम र राष्ट्रको ढुकुटीले चल्ने संस्थामा गरेको काममा फरक हुन्छ। यसमा पारदर्शिता हुनुपर्छ भन्ने हाम्रो सोच हो। र अनुभूति गर्न सकिने खालको कामहरू होउन भन्ने सामान्य अपेक्षा हाे’, उनी भन्छन्, ‘जस्तो बक्स अफिसको बारेमा कति काम गर्न सकियो, कति गर्न सकिएन बाहिर आउनु पर्‍यो। ‘डिजिटाइजेसन’ त्यत्रो ठूलो प्रोजेक्ट चलिरहेको थियो। त्यो के भयो आउनुपर्‍यो। हाम्रो आफ्नो गुणस्तर बढाउन के पहल भइरहेको छ, बोर्ड आफैँले के गरिरहेको छ? यो सबै बाहिर आओस्। पारदर्शी होस्, ताकि हामीले पनि सकेको ठाउँमा योगदान गर्न सकियोस्।’

यतिवेला नेपाली चलचित्रले जुन किसिमको रुपान्तरण खोजिरहेको छ बोर्ड अध्यक्षबाट त्यसमा जोडबल पुग्ने काम होस् भन्ने आफूहरूको चाहना रहेको घिमिरे बताउँछन्। उनी भन्छन्, ‘नीतिगत रूपमा, प्राज्ञिक रूपमा, चलचित्रको गुणस्तरका रूपमा, नयाँ पुस्तालाई पनि बुझेर हाम्रो चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न पहल गर्नुपर्‍यो। मातृभाषाका सिनेमाको पीडा सम्बोधन गर्दै बोर्डको एउटा आक्रामक प्रस्तुति देखिनुपर्यो। हाम्रो पनि संस्था छ, त्यहाँ पनि क्याप्टेन छ भन्ने कुरा महशुस गराउन सक्नुपर्‍यो।’ 

अहिलेको अवस्थामा सिंगो नेपाली फिल्म क्षेत्रलाई समेटेर एउटा बृह्त छलफल हुन जरुरी रहेको पण्डित बताउँछन्। उनी भन्छन्, ‘एउटा गहन छलफलपछि १ वर्षे, २ वर्षे अनि ५ वर्षे एउटा स्पष्ट कार्यसूची बनाओस्। विकास बोर्डले मनगढन्ते काम गर्ने होइन, एउटा क्यालेण्डर बनाओस् र त्यसअनुसार काम गरोस्।’ बोर्डले राज्यको नीति निर्माण गर्ने निकाय र चलचित्र क्षेत्रको संयोजन मात्रै गरिदिए पनि अर्थपूर्ण काम हुने उनको भनाइ छ। अहिले मात्र नभएर बोर्डले जसरी काम गर्नुपर्थ्याे त्यसरी कहिल्यै पनि काम नभएको र चलचित्र क्षेत्रको समस्या र आवश्यकता बुझेर काम गरेमा वर्तमान अध्यक्षले सम्मानजनक अवतरण भने गर्न सक्ने उनी बताउँछन्। 

नेपाली फिल्म उद्योग जहाँ पुग्नुपर्थ्यो त्यो उचाइमा पुग्न सकेको छैन। त्यसको एउटा मुख्य कारण राज्यले कला तथा सिनेमाको महत्त्व नबुझ्नुलाई पनि मानिन्छ। एउटा व्यक्तिले जुन परिणाममा काम गर्न सक्छ राज्यको पहल भएमा त्यसको प्रतिफल कैयौँ गुणा बढी हुन सक्छ। फिल्म क्षेत्रलाई राज्यसँग जोड्ने एकमात्र संस्था हो चलचित्र विकास बोर्ड। लामो समयदेखि चलचित्रमै सक्रिय र यो क्षेत्रलाई बुझेका व्यक्ति नै बोर्डमा पुग्दा पनि चलचित्र क्षेत्र अविभावकविहीन जस्तो अवस्थामा हुनु भने सिंग्गो उद्योगकै लागि दुःखद कुरा हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.