|

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरको कार्यभार सम्हालेको ८ महिना भयो। निकै छोटो समयमा चर्चामा आएका उनले यति वेला भने चर्चा पाएकै गतिमा आलोचना खेपिरहेका छन्। 

त्यसो त आलोचना मात्र होइन पछिल्लो समय मेयर साहले गर्ने हरेक निर्णयको चर्चा र आलोचना दुवै सराबरी हुने गरेको छ। उनका हरेक निर्णयमा सामाजिक सञ्जाल प्रयोगकर्ता दुई ध्रुव (पक्ष) मा बाँडिएर एकअर्कामाथि खनिने गरेका छन्। निर्वाचन अगाडि र पछाडि केही समय चर्चामा रहेका उनको अहिले भने आलोचना गर्नेहरू नै बढिरहेको देखिन्छ। पछिल्लो समय खुल्लामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णय गरेसँगै उनको आलोचना अझ बढेको छ।

काठमाडौंको खुल्लामञ्च सर्वसाधारणका लागि बन्द छ। काठमाडौंको पुरानो बसपार्कमा ११ तल्ले भ्यु टावर बनाउने भन्दै बसपार्क खुलामञ्चमा सारियो। खुलामञ्चबाट बसपार्क हटाएको २ वर्ष भयो। यो २ वर्षको अवधिमा त्यस क्षेत्रमा न बसपार्क बन्यो, न त सर्वसाधारणका लागि नै खोलियो। काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानलाई खुला राख्ने घोषणापत्र लिएर चुनाव जितेका बालेन त्यही खुल्लामञ्चमा भूमिगत पार्किङ बनाउने अभियानमा छन्। 

महानगरपालिकाको १० औं नगर कार्यपालिकाको बैठकले काठमाडौंको मुटुमा रहेको खुल्लामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णय गर्‍यो। भूमिगत पार्किङका लागि डिपिआर भइरहेको महानगरका प्रवक्ता नविन मानन्धर बताउँछन्। मेयर साहले पुरानो बेथिति सच्याउलान् भन्ने अपेक्षा गरेका जनता यति वेला उनै मेयरविरुद्ध उत्रिन थालेका छन्। महानगरपालिकाले गरेको सो निर्णयको विरोधमा सम्पदा अभियन्ताहरूसमेत उत्रिएका छन्।

गत सोमबार अक्युपाई टुँडिखेलका अभियन्ताले खुल्लामञ्चलाई खुलै राख्नुपर्ने माग गर्दै  महानगरमा ध्यानाकर्षणपत्र बुझाए। उपमेयर सुनिता डंगोलले पत्र बुझ्दै जनतासमक्ष छलफल नगरी नबनाउने बताइन्। तर मेयर बालेनले भने आधिकारिक रुपमा यसबारे आफ्नो धारण व्यक्त गरेका छैनन्। पार्किङ अगाडि बढाउने पक्षमा रहेको महानगरका प्रवक्ता मानन्धर बताउँछन्।

यी हुन् मेयर बालेनका चर्चित काम 

काठमाडौं महानगर प्रमुखको जिम्मेवारी सम्हालेसँगै उनले लोकप्रिय योजना सुनाएका थिए। जसमा जनताका सामान्य समस्यालाई पहिलो प्राथमिकतामा राखिएको थियो।

उपत्यकाको फोहोर व्यवस्थापन नभएसम्म टीका माला नलगाउने घोषणासमेत उनले गरे। उपत्यकाको समस्या समाधान गर्न सार्वजनिक शौचालय, फुटपाथ व्यवस्थापन, भूमिगत पार्किङ खाली गराउने, गुनासो सुन्न कल सेन्टर स्थापना, पूर्वाधार एम्बुलेन्स सञ्चालन, टुकुचा खोज्ने अभियान, सुकुम्वासी बस्तीमा डोजर, खुल्लामञ्चमा भूमिगत पार्किङलगायतका चर्चित योजना अगाडि सारे।

पाइलैपिच्छे ठेस 

गत वैशाखमा निर्वाचित भएसँगै मेयर बालेनले लोकप्रिय योजना सार्वजनिक गरे। जनताका सामान्य तर दैनिक भोग्दै आएको समस्यालाई आफ्नो योजनामा उतारे। लोकप्रिय योजनाको निकै चर्चा पनि भयो तर यति वेला कतिपय विषय अदालतमा पुगेका छन् भने कतिपय योजनामा आलोचना खेप्दै छन्। 

चुनावको अन्तिम मत परिणाम आउनुअगाडि नै महानगरको फोहोरको समस्या पहिचान गर्न ल्याण्डफिल साइटमै पुगेर फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना सुनाएका मेयर साहले यति वेलासम्म फोहोरको समस्या समाधान गर्न सकेका छैनन्। फोहोरलाई स्रोतमा नै वर्गीकरण गर्नेलगायतका योजना सुनाएको महानगरले सो कामलाई निरन्तरता दिन सकेको छैन।

केही समयअगाडि थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाउन लागेसँगै एकपटक फेरि उनको चर्चा भयो। सामाजिक सञ्जालमा दुईथरी विचार आउन थाले। एकथरीले सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्ने भन्दै उनको पक्ष लिइरहेका थिए भने अर्काथरी विकल्पबिनै सुकुम्वासी हटाउनु गलत भएको भन्दै आवाज उठाउन थाले। यति वेला भने खुल्लामञ्चमा बनाउने भनेको भूमिगत पार्किङले सुकुम्वासी बस्तीको चर्चा छायामा परेको छ। 

उपत्यकामा सार्वजनिक शौचालयको समस्या समाधान गर्न भन्दै होटल, रेष्टुरेन्ट, बैंकका शौचालयलाई सार्वजनिक गर्ने निर्णय महानगरले गरेको थियो। तामझामका साथ उद्घाटन गरेको सार्वजनिक शौचालय यति वेला अलपत्र अवस्थामा रहेका छन्। महानगरको आह्वानपछि बैंक,रेष्टुरेन्टलगायतका ३३ वटा संस्थाले सम्झौता गरेको थिए। खुला भएका शौचालय कति खुला छन् कति बन्द भए महानगरसँग यकिन तथ्यांकसमेत छैन। 

मेयर साहले चालेको अर्को धेरै नै विवादित भएको कदम हो- फुटपाथ व्यवस्थापन र त्यस क्रममा फुटपाथमा व्यापार गर्नेहरूमाथि नगर प्रहरीले गरेको व्यवहार। फुटपाथका लागि छुट्ट्याइएको क्षेत्रमा व्यापार गर्नेहरूप्रति कडा नीति लिएका साहले नगर प्रहरीलाई त्यस्ता व्यापारी हटाउने निर्देशन दिएका थिए।

सोहीअनुसार नगर प्रहरीले साना व्यापारीका सामान फाल्नेदेखि जबर्जस्ती ठेलागाडा र सामान जफत गर्ने गरेका भिडियो सामाजिक सञ्जालमा भाइरल भए। महानगरपालिकाको त्यस्तो कारबाहीप्रति धेरैले आक्रोश व्यक्त गरे।

केही समयअघि काठमाडौं महानगरले टुकुचा खोला उत्खनन गर्न डोजर लगायो। राणाकालीन संरचना अर्थात ऐतिहासिक सम्पदा मास्नु हुँदैन भन्दै आलोचना भयो। विषय त्यतिमा मात्र टुंगिएन। अदालतले संरचना नभत्काउन आदेश दियो। त्यससँगै भत्काएको संरचना महानगरले त्यसै अलपत्र छोडेको छ। 

यसरी हरेक क्षेत्रमा मेयर शाहले शुरु गरेका काम अलपत्र पर्न थालेका छन् तर महानगरपालिका भने शुरु गरेको काम निरन्तर अगाडि बढाउने दाबी महानगरका प्रवक्ता मानन्धर गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.