|

काठमाडौं : समुद्री सतहबाट ८०० मिटरभन्दा माथि रहेको पोखरा उपत्यका र पोखरालाई घेरेर बसेका पहाड मेथ्लाङबाट एकै नजरमा देखिन्छ। अलिकति घुमेर हेर्ने हो भने हिउँको घुम्टो ओढेर बसेका माछापुच्छ्रे, अन्नपूर्ण पहिलो र अन्नपूर्ण दोस्रो, लम्जुङ कैलाश, धौलागिरिको शिर पनि देखिन्छ।

पाखामा नयाँ खुलेका रेष्टुरेन्ट र होटलहरू, पहाड उक्लेका कच्ची-पक्की सडकहरू, अलिकति बाँकी रहेका खेत, बनिसकेका र बन्दै गरेका घर तथा महलहरू पनि देखिन्छन्। फेवातालका माछा नदेखिएलान् तर फेवाताल देखिन्छ अनि फेवाताल बनाउने हर्पन नदी पनि। आकाशमा उडिरहेका चिल देखिन्छन्, अल्ट्रा फ्लाइट गरिरहेका, प्याराग्लाइडिङ गरिरहेका चराजस्ता देखिने मान्छे पनि देखिन्छन्।

मेथ्लाङ पुगेर लामो सास फेरेर हतार नगरी हेर्‍यो भने योबाहेकका पनि धेरै थोक देखिन्छन् तर एक थोक छ‚ जुन अनुप बरालबाहेक अरु कसैले पनि देख्न सक्दैन। त्यो हो उनको आफ्नै बाल्यकाल। मेथ्लाङ हाइटमा पुगेपछि अनुपले धेरै अगाडि त्यही पाखोमा साथीहरूसँग डुल्दै गरेको, चरा मार्न हिँडेको, पौडी खेलेर फर्केको, साथीहरूले नदेख्ने गरी बदाम खाएको आफ्नै बाल्यकाल देख्छन्। 

तर उमेरदार भइसकेपछि फर्केर हेर्दा आफ्नै बाल्यकाल पनि जस्ताको त्यस्तै देख्न भने नसकिने, स्मृतिबाट सबै कुराहरू धुमिल हुँदै जाने उनी बताउँछन्‚ ‘म त्यति वेलाको मिठाइ मिस गर्छु। यी बाटोहरू, साथीहरूसँग घुम्न आएको, पौडी खेलेको सम्झिराखेको हुन्छु।’ हावाले उनको सेतो कपाल जिस्काउँदा यस्तो लाग्छ उनको बाल्यकालले आफ्नै उमेरलाई जिस्काइरहेछ। उनको मनपर्ने पुस्तक म्याक्सिम गोर्कीको ‘माई चाइल्डहुड’ सम्झिँदै उनी भन्छन्, ‘सम्झिएर पनि ठ्याक्कै दोहोर्‍याउन नसकिने रहेछ। यादहरू विस्तारै धमिलिँदै जाने रहेछ। गोर्कीको एउटा अटोबायोग्राफी छ, माई चाइल्डहुड भन्ने। त्यसमा उनले बाल्यकालका कुरा जस्ताको त्यस्तै लेखेका छन्। त्यो उमेरमा त्यसरी लेख्न सक्नु भनेको सामान्य कुरा होइन। उनले लोभलाग्दो गरी लेखेका छन्।’

जस्ताको त्यस्तै सम्झना नभए पनि पहिले र अहिलेको फरक छुट्ट्याउन सकिने गरी भने उनलाई सम्झना छ। ‘यो भेग अर्कै थियो, प्योर थियो। घरहरू यस्ता थिएनन्। यो बाटोहरू, होटल, रेष्टुरेन्टहरू त पछिल्लो १०/१५ वर्षकै अन्तरालमा भएको परिवर्तन हो‚’ रक गार्डेनबाट अलिकति पर टिनले छाएको एउटा दुईतले घर देखाउँदै उनी भन्छन्, ‘पहिले खरले छाएको, ढुंगाको छपनी भएका घरहरू हुन्थे। डिजाइन त्यस्तै हुन्थ्यो तर टिन पनि पछि आएको हो।’ त्यही घरको वरिपरी र वारिपारि ढलान गरेका आरसिसी घरको संख्या धेरै देखिन्छ। 

यही पहाडको फेदीमा उनको खेत छ। जहाँ आज पनि उनको परिवारलाई वर्षभरिलाई पुग्ने धान फल्छ। दाइँको वेलामा रातभरि धान पराल कुर्न बस्दा बुवाको कथा सुन्दै खेतमै सुतेको अनुभव उनीसँग छ। बुवाको लाइब्रेरीमा रहेका किताब पढ्दै, नाटक र फिल्मका समाचारको कटिङ सिरानीमा राखेर सुत्ने गरेका अनुप आफ्नो सिनेमासँगको सम्बन्ध पनि बच्चैदेखिको रहेको बताउँछन्। ठूला ठूला ढुंगा निस्किएको रक गार्डेनलाई अनुप र उनका साथीहरूले रामगढको नाम दिएका थिए। रामगढ, अर्थात् बलिउड फिल्म ‘शाेले’ को गब्बर सिंहले खाद्यान्न लुट्ने ठाउँ। ‘शाेले’ प्रदर्शन हुँदा धर्मेन्द्रको फिल्म नेपालमा चलाउन दिइएको थिएन। मानिसहरू फिल्म हेर्नका लागि बटौली, सुनौली, गोरखपुरसम्म पनि पुग्ने गरेको अनुपलाई हिजैजस्तो लाग्छ। आफू सानै भएकाले त्यसको केही वर्षपछि टिभीमै उनले ‘शाेले’ हेरे। 

स्वभावले धेरै नबोल्ने, ठूला बिठ्याइँ नगर्ने भए पनि उनी केही आफ्नै शैलीका चकचक भने गर्थे। पाेखराकाे कुनै गल्लीमा अहिले नै त्याे घटना घटिरहे जसरी मेथ्लाङबाट शहरतर्फ फर्किँदै उनी भन्छन्, ‘हरेक शनिबार सिडिओ फिल्म सेन्सर गर्न आउँथे। म चाहिँ शुक्रबार बेलुका ६ देखि ९ बजे वाला शो हेर्थेँ। अनि त्यहीँ सिटमुनि लुकेर बस्थेँ। भोलिपल्ट बिहान नयाँ फिल्म लाग्थ्यो। अनि साथीहरूलाई गएर म फिल्मको कथा सुनाउँथेँ। साथीहरूले पछि फिल्म हेरेपछि तैँले भनेको त सबै मिल्यो त भन्थे म सबै सपनामा देखेको थिएँ भन्थेँ।’ 

अनुप एकपटक फेरि धेरै अगाडि मेथ्लाङमा मान्छेको चहलपहल यस्तो नहुँदै, पहाडमा गाडी नगुड्दै, बाटो नबन्दै घाँटीमा गुलेली भिरेर साथीहरूसँग पौडी खेल्न हिँडेको आफूलाई सम्झन्छन्। जतिवेला यहाँ धेरै थरिका चराहरू पनि थिए, जतिवेला उनले साथीसँग भर्खरभर्खर गुलेली हान्न सिकेका थिए। ‘साथीहरूको लहै लहैमा कति चरा मारियो। खानको लागि मारेको पनि होइन। मारिसकेपछि दुःख पनि लाग्थ्यो। नखाने भएपछि किन मारेको होला, त्यो पनि थाहा छैन।’ तर एकदिन उनले सोचे, ‘एकदिन फिस्टे मारेपछि किन मारेँ भनेर सोचेँ। न खानको लागि मार्नु, न आफूलाई रमाइलो लाग्ने काम हो। त्यो दिन एकदमै नरमाइलो लाग्यो, अमानवीय लाग्यो त्यसपछि चरा मार्नै छोडेँ।’ 

उनी पहिले पहिले देखिने विभिन्न प्रकारका चराहरू पनि सम्झन्छन्, ‘यहाँ माथि टन्नै गिद्ध उडेको देखिन्थ्यो। सिनो खान आउँथे। अहिले यहाँबाट लोप नै भए। गिद्धसँगै अरु धेरै चराहरू पनि देखिन छोडे। पहिले हेरी धेरै कुरा फेरिएको छ। पोखरा पहिले जस्तो छैन, फेवाताल पहिले जस्तो छैन, हावा पनि ठ्याक्कै त्यस्तै छैन। तर यो पहाड त्यस्तै छ, उपत्यका त्यस्तै छ, माछापुच्छ्रे त्यस्तै छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.