|

धनगढी : सुदूरपश्चिममा नयाँ प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेसँगै नेताहरू सक्रिय बनेका छन्। प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि पुस २७ गतेभित्र दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका थिए। त्यसपछि सत्तारुढ दलका नेताहरूले दौडधुप बढाएका हुन्।

सरकारको नेतृत्व हत्याउन लागिपरेका नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले दौडधुप बढाएका हुन्। उनीहरूका प्रदेशस्तरका शीर्ष नेताहरू नेतृत्वको माग गर्दै सरकार बनाउन लबिङका लागि संघीय राजधानी काठमाडौँतर्फ हानिएका छन्।

आज (बिहीवार) मात्रै नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्टले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्। माओवादी सुदूरपश्चिमका इन्चार्जसमेत रहेका भट्टसँगै माओवादी प्रदेश अध्यक्ष हरि चौधरी (उत्सव) र सांसद ओमविक्रम भाट (सरल) पनि भेटमा सहभागी थिए। भट्ट मुख्यमन्त्रीका दाबेदार पनि हुन्।

उनीहरूले बालुवाटारमामा भएको भेटमा सुदूरपश्चिम सरकारको गठन र नेतृत्वबारे छलफल गरेका थिए। नेकपा एमाले नेतृत्वको गठनबन्धनमा सबैभन्दा ठूलो दलको हैसियतले माओवादीले यहाँको मुख्यमन्त्री दाबी गरिरहेको छ।

प्रधानमन्त्री दाहालसँग सुदूरपश्चिम प्रदेश सरकार गठन र प्रदेशको पछिल्लो परिस्थितिका विषयमा छलफल भएको माओवादीका प्रदेश अध्यक्ष हरि चौधरी (उत्सव)ले जानकारी दिए।

‘हाम्रै नेतृत्वमा प्रदेश सरकार बनाउन पहल गर्न प्रधानमन्त्रीज्यूलाई भेटेर कुरा राख्यौं। यो विषयमा उहाँ सकारात्मक हुनुहुन्छ। प्रचण्ड कमरेडले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउने वातावरण बनाउने आश्वासन दिनुभएको छ’, उनले थपे, ‘प्रधानमन्त्रीज्यूले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादीकै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।’

प्रचण्डले प्रदेशको नेतृत्व लिन शीर्ष तहमा सहमति जुटाउने पनि बताएको उनको भनाइ छ।

एमाले नेता बालकोटतिर

माओवादीसँगै प्रदेश सरकारको नेतृत्वमा एमालेले दाबी गरिरहेको छ। यसअघि एमालेको समर्थनमा माओवादीले पाँच वर्ष सरकार चलाएको भन्दै अहिले माओवादीको समर्थनमा एमालेले सरकारको नेतृत्व पाउनुपर्ने एमाले नेताहरूको तर्क छ।

सोही विषयसहित सरकारको नेतृत्वबारे छलफलका लागि नेताहरू आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्दै छन्।

एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र एमाले संसदीय दलका नेता राजेन्द्र रावल बालकोट जान लागेका हुन्। उनीहरूले एमालेले नेतृत्व पाउनुपर्ने माग राखेर छलफलका लागि जान लागेको जानकारी दिए।

उस्तै एमालेका सुदूरपश्चिम प्रदेश सचिव तथा सांसद धर्मराज पाठकले सुदूरपश्चिममा अघिल्लो सरकारको नेतृत्व माओवादी केन्द्रले गरिसकेकाले स्वभाविक रूपमा योपटक एमालेको दाबी रहेको बताए।

संसदीय दलका नेता रावल र सांसद पाठकसहित गठबन्धनका चारै दलका नेताहरूका बीचमा हिजो धनगढीको एक होटलमा नेतृत्व कसले लिने भन्नेबारे दोस्रोपटक औपचारिक छलफल भएको थियो। उक्त बैठकमा सबैले आफ्नो दाबी प्रस्तुत गरेका थिए।

निर्णायक उन्मुक्ति

माओवादी र एमाले मात्रै होइन, टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले पनि मुख्यमन्त्री मागिरहेको छ। नागरिक उन्मुक्ति पार्टीको दलको नेता रामेश्वर चौधरी पनि मुख्यमन्त्रीको लबिङमा छन्।

जसले गर्दा एमाले नेतृत्वको गठबन्धनलाई सरकार बनाउन सकस परेको छ। उनले आफ्नो दाबी रहेको तर अन्य गठबन्धनको सहमतिअनुसार सरकारमा सहभागी हुने या नहुने कुरा टुंगो लाग्ने बताए। 

सुदूरपश्चिममा सरकार निर्माणका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक छ। यहाँ सत्ता गठबन्धनमा माओवादी ११, एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७ र राप्रपा १ सांसद छन्। यो गठबन्धनमा नागरिक उन्मुक्ति समावेश हुँदा २९ पुग्छ नहुँदा २२ मात्रै हुन्छ। यहाँ सरकार बनाउन २७ सांसद आवश्यक पर्छ।

सत्ता गठबन्धनबाहिर रहेको कांग्रेसमा १९ नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन्। कांग्रेस, नेकपा समाजवादी र स्वतन्त्र मिलाउँदा पनि २४ मात्रै हुन्छ। नागरिक उन्मुक्ति जुन गठबन्धनमा मिल्छ त्यही गठबन्धनको सरकार बन्ने अवस्था छ।

नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेससँग पनि छलफल गरिरहेको स्रोतको भनाइ छ तर माओवादी र एमालेका नेताहरू आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने कुरासँगै नागरिक उन्मुक्तिलाई मनाउने कुरामा पनि जोड दिन शीर्ष नेताहरूलाई आग्रह गरिरहेका छन्।

सत्ता गठबन्धनका शीर्ष नेतृत्वले मुख्यमन्त्री कुन दलले पाउने भन्नेबारेमा काठमाडौँमै प्याकेजमा डिल हुने संकेत दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.