|

काठमाडौं : सत्ता गुमेको १५ दिन पनि नपुग्दै नेपाली कांग्रेस नयाँ सत्ता समीकरणको खेलमा लागेको छ।

समयमा विवेक प्रयोग नगर्दा सरकार गुमाउनु परेको भन्दै चर्को आलोचना खेपिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पुराना गठबन्धन सहयात्री दल जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीसँग आन्तरिक छलफल अगाडि बढाएका छन्।

सभापति देउवाले बिहीबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग संघ र प्रदेशको सत्ता समीकरण भत्काउने विषयमा कुराकानी गरेका थिए। 

सभापति देउवा अहिलेको सातदलीय गठबन्धन कुनै पनि हालतमा भत्काउने कसरतमा जुटेका छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरे। 

‘शेरबहादुरजीले प्रधानमन्त्रीको अफर गर्नुभएको थियो। उहाँले प्रधानमन्त्रीसहित चार मन्त्रालय र बागमती प्रदेशको मुख्यमन्त्री लिन अफर गर्नुभयो। तर, उहाँले हामी संसदको पाँचौं दललाई प्रधानमन्त्री बन्न आग्रह गर्नुको तात्पर्य त्यति निको छैन,’ राप्रपाका एक पदाधिकारीले थाहाखबरसँग भने, ‘भर्खरै पुष्पकमल दाहाल जीलाई समर्थन गरेका छौं। फेरि सत्ता परिवर्तनको खेलमा राप्रपा लाग्दैन।’ 

बागमतीमा १३ सिट रहेको राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीको दाबेदार छन्।  १ सय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ। 

कांग्रेससँग ३७, राप्रपासँग १३ र एकीकृत समाजवादीसँग ७ गरी ५७ सिट हुन्छ। यहाँ एमालेसँग २७, माओवादी केन्द्रसँग २१ , नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसद छन्।

कांग्रेस सभापति देउवाले केही दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई समेत प्रधानमन्त्रीको अफर गरेको खुलेको छ। सभापति देउवाले सरकारको नेतृत्व रविले लिने र नयाँ गठबन्धन गरेर जान प्रस्ताव गरेको स्रोतले जानकारी दियो। 

‘टेलिफोन गरेर प्रधानमन्त्रीको अफर गर्नुभएको थियो। मन्त्रीज्यूले आफू भर्खरै नयाँ गठबन्धन गरेर आएकाले अस्थीर राजनीतिक खेलमा नलाग्ने जवाफ दिनुभएको थियो,’ लामिछाने निकट स्रोतले भन्यो। 

रविको सकारात्मक जवाफ नपाएपछि देउवाले राप्रपाका अध्यक्ष लिङ्देनलाई अफर गरेका हुन्।

नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद प्रकाशशरण महत आफूहरू अहिलेको गठबन्धन कसरी अगाडि बढ्छ सोहीअनुसार निर्णय गर्ने बताउँछन्। 

‘पहिले यो गठबन्धन कसरी अगाडि बढ्छ त्यो हेरौंन। सत्ता गठबन्धनमा भएका दलहरू कसरी अगाडि बढ्छन्। त्यही अनुसार कांग्रेसले निर्णय लिन्छ। अहिले हामीसँग नयाँ सरकार बनाउनका लागि आवश्यक संख्या पनि पुग्दैन। त्यसकारण गठबन्धन भत्काउन हामीले कुनै रोल खेलेको छैन’ प्रवक्ता महतले भने। 

उनले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको जिकिर पनि गरे। 

‘अहिले हामी प्रतिपक्षी दल बनेका छौँ। कसैलाई पनि प्रधानमन्त्रीको अफर गरिएको छैन। छलफल र भेटघाटलाई त्यसअर्थमा बुझ्न हुँदैन,’ प्रवक्ता महतले भने। 

नेकपा एकीकृत समाजवादी पार्टी पनि कांग्रेसको सत्ता परिवर्तनको खेलमा सामेल हुने भएको छ। समाजवादीले नेकपा एमालेसहितको गठबन्धनमा सामेल नहुने तयारी गरेको हो। 

‘हामीले पुरानो गठबन्धन तोडेको घोषणा गरेका छैनौं। कांग्रेस सत्ता परिवर्तनको चलखेलमा लागेको छ। त्यसमा एकीकृत समाजवादीको पनि साथ रहन्छ। माओवादीले हामीलाई धोका दिएको छ। तत्कालै प्रचण्डलाई समर्थन गर्न सकिँदैन,’ एकीकृत समाजवादीका एक नेताले थाहाखबरसँग भने।  

केही दिन अगाडि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको अभिव्यक्तिलाई हेर्ने हो भने पनि माथिको भनाई पुष्टि हुन्छ। उनले नेकपा एमालेतर्फ लक्षित गर्दै प्रचण्डको अनुहार हेरेर विश्वासको मत दिन सकिने अवस्था भए पनि उक्त गठबन्धनमा फरक अनुहार भएकाले विश्वासको मत दिन नसकिने बताए। 

‘प्रचण्डको अनुहार हेरेर विश्वासको मत दिन सकिन्थ्यो तर, त्यहाँ फरक अनुहारहरू पनि देखिन्छ,’ नेपालले भनेका छन्, ‘ती फरक अनुहारले प्रचण्डलाई विश्वासको मत दिन्छौँ भन्ने अवस्था बन्न सकेको छैन ।’ 

बिहीबार बसेको सचिवालय बैठकपछि समाजवादीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले गठबन्धनले आफूहरूसँग औपचारिक रूपमा विश्वासको मत नमागेको बताए। उनले माधव नेपाल र प्रचण्डबीचको भेटलाई 'निजी भेट' भनेर टिप्पणी गरे। 

‘प्रचण्डजी र माधव नेपालबीचको भेट व्यक्तिगत हो । त्यसका विषयमा हाम्रो पार्टीलाई जानकारी नै छैन। पार्टीलाई जानकारी आएपछि पार्टीले निर्णय गर्ने हो । २६ गते अघि हामी यसका विषयमा औपचारिक निर्णय नै गर्नेछौँ,’ उनले भने। 

निधिको दिल्ली उडान

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि भारतको दिल्ली पुगेका छन्। हातमा आएको सत्ता गुमेपछि तनावमा रहेका सभापति देउवाले आफ्ना विश्वास पात्र निधिलाई भारत पठाएकाे बुझिएको छ। 

‘सभापतिज्यूले हातमा आएको सत्ता गुमाएर चौतर्फी आलोचना खेपिरहनु भएको छ। यसबाट बच्न उहाँले केही योजना बुनिरहनुभएको छ। सोही योजना मुताबिक निधिजीलई दिल्ली पठाउनुभएको हुनसक्छ,’ कांग्रेसका एक पूर्वपदाधिकारीले थाहाखबरसँग भने, ‘प्रचण्डलाई सरकारबाट हटाउने विषयमा उपेन्द्रजी (उपेन्द्र यादव)लाई बोलाएर उहाँ(देउवा)ले कुराकानी गर्नुभएको छ।’  

देउवाले मधेशवादी दलहरूलाई आफ्नो पक्षमा ल्याउन निधिलाई दिल्ली पठाएको स्रोतको दाबी छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएलगत्तै चिनियाँ गतिविधि बढेसँगै भारतले पनि आफूलाई कम्फर्ट हुने सरकार खोजिरहेको छ। 

पुरानै गठबन्धन ब्यूँताउने प्रयास

नेपाली कांग्रेसले पुरानै गठबन्धन ब्यूँताउने खेल सुरू गरेको छ। त्यसका लागि सभापति देउवाले सक्रियता देखाइरहेका छन्। उनले राप्रपालाई प्रधानमन्त्रीको अफर समेत गरिसकेका छन्। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग पनि उनले पुरानो गठबन्धन व्यूँत्याउनेबारे कुराकानी गरेको स्रोतले जानकारी दियो। 

‘हामी पुरानै गठबन्धन कायम होस भन्ने चाहन्छौं। प्रचण्डजी छोडेर हिँड्नुभयो। अब फेरि उहाँलाई समर्थन गर्ने कुरा भएन। अहिले सभापति देउवाजीसँग कुरा गरिरहेका छौं। २५ गतेसम्म के–के हुन्छ हेर्न बाँकी छ,’ अध्यक्ष नेपाल निकट एक नेताले भने, ‘अहिलेको गठबन्धनसँग हामी सहमत छैनौं। प्रचण्डलाई समर्थन गर्नु भनेको एमालेसँग मिल्न गएजस्तो हुन्छ।’

सरकार गठनका लागि पाँच दलीय गठबन्धनसँग स्पष्ट बहुमत थियो। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८९, नेकपा माओवादी केन्द्र ३२, जनता समाजवादी पार्टी १२, लोकतान्त्रिक समाजवादी पार्टी ६ र राष्ट्रिय जनमोर्चा पार्टी एक सिट रहेको थियो। त्यसमा जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टी चार सिट पनि सरकारमा सहभागी हुन तयार थियो।

तर, सरकारको नेतृत्वमा कुरा नमिल्दा पुस १० गते गठबन्धन भत्किएको थियो।

पुस २६ गते विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्।

नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ती पार्टी ४ सहित तीन जना स्वतन्त्र सांसद गरेर १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। अहिले कांग्रेसको नयाँ समीकरणको चलखेलले विश्वासको मत प्राप्त हुँदैन कि भन्ने संशय पैदा गरेको छ। 

तर माओवादीका मुख्य सचेतक हितराज पाण्डे समर्थन गरेभन्दा बढी मत ल्याउने अपेक्षा अनुसार प्रयास गरिरहेको दाबी गरेका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.