|

रौतहट : अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० सम्ममा नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने प्रावधान छ। उक्त बजेट असार मसान्तभित्र बहुमत सदस्यबाट पारित गर्नुपर्छ । तर, रौतहटका एक नगरपालिकाले अर्थिक वर्ष सुरु भएको करिब ६ महिना बितिसक्दा पनि बजेट ल्याउन सकेको छैन।

जिल्लाको बौधिमाई नगरपालिकाले हालसम्म बजेट ल्याउन नसक्दा नगरको विकास निमार्णका साथै विद्यालयको दिवाखाजा प्रभावित बनेको छ।

आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसक्दा पनि नगरपालिकाले बजेट ल्याउन नसक्दा विकास निर्माणका कार्य, विद्यालयमा सञ्चालन हुने दिवाखाजा तथा कर्मचारीहरूलाई वितरण गरिने तलब भत्ता प्रभावित बनेको हो।

नगरपालिकाको विभिन्न समिति तथा उपसमिति गठन प्रकृयामा कार्यपालिका सदस्यहरूबीच विवाद बढ्दै गएका कारण नगर सभा नहुँदा बजेट रोकिएको छ। पटकपटक कार्यपालिका सदस्यहरूको बैठक बसेको भए पनि नगरसभा गरेर बजेट ल्याउन पक्ष विपक्ष बीच विवाद उत्पन्न हुँदा नगरसभा कहिले गर्ने विषयमा अन्योल हुने गरेको नगरपालिकाका नगर प्रमुख प्रदीप यादवले बताएका छन्।

नगर प्रमुख प्रदीप यादवका अनुसार निर्वाचित वडा अध्यक्षहरूकै विवादका कारण नगरसभा अन्योलमा परेको बताएका छन्।

पछिल्लोपटक कार्यपालिका सदस्यसहित नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूले लाखौँ खर्चेर चार दिनसम्म घुमघाम गर्दै रमाइलो गरेर फर्के पनि विवाद कायमै रहेको छ। गत वैशाखमा  स्थानीय तलको सम्पन्न निर्वाचनपश्चात् असार १० गते नगरसभा हुनुभन्दा अघि ८ पटकसम्म कार्यपालिकाको बैठक बसेको तथा हालसम्म करिब ५०औं पटकसम्म कार्यपालिकाको बैठक बसेको भए पनि नगरसभाको चासो कसैलाई हुन नसकेको नगरप्रमुख यादवले  जनाएका छन्।

बैठकमा आर्थिक समिति पूर्वाधार विकास समिति लगायत पाँच वटा मूल समिति र सातवटा उपसमिति गठन प्रक्रियामा कार्यपालिका सदस्य बीच मतभेद उत्पन्न हुँदा नगरसभा प्रभावित बनेको निमित्त प्रशासकीय अधिकृत रामेश्वर राय यादवले बताए। नगरपालिकाले बजेट ल्याउन नसक्दा विकास निर्माण, तलब भत्ता, विद्यालयहरूमा सञ्चालन हुने दिवा खाजा लगायतका धेरैजसो कार्य प्रभावित बनेकोले उनले जानकारी दिए।

यता, ६ महिनादेखि बजेट सञ्चालन नहुँदा उद्यारोमा सञ्चालन हुँदै आएको दिवाखाजा अहिले प्रभावित बनेको शिक्षकहरूको गुनासो रहेको छ।

उधारोमा खाद्यान्न पाउँदै आएको थिए। सरमुजवास्थित श्री माध्यमिक विद्यालयका एक शिक्षकले भने अहिले खाद्यान्न पाउन सकेका छैनन्।

जसोतसो दिवाखाजा सञ्चालन गर्दै आएपनि अहिले विद्यार्थीहरूलाई दिवाखाजा खुवाउन नसकेको उनले जानकारी दिए।

यता, शिक्षकहरूले समेत तलब भत्ता पाउन नसकेको कारण पठ्नपाठ्न समेत प्रभावित बन्दै गएको अर्का शिक्षक रामएकवाल यादवले बताएका छन्। शिक्षकहरूले तलब नपाउँदा कति दिनसम्म बिना तलबको पठनपाठन गर्छ, त्यसैले शिक्षकहरू मनपरी ढंगले विद्यालय आउने र जाने गरेका छन्।

संघ र प्रदेशको निर्वाचनपश्चात् पाँच पटकसम्म बसेको बैठकमा पालिकाका सबै सदस्य साकारात्मक देखिएकोले अबको केही दिनभित्र नगरसभा बस्न पत्राचार गरिने नगरपालिका प्रमुख प्रदीप यादवले बताए। यसपटक बजेट पारित हुनेमा आफू विश्वस्त रहेको यादवले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.