|

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका-७ का वडाअध्यक्ष नेत्रबहादुर अधिकारीले अदालतको आदेश कार्यान्वयन नगर्दा अर्खौले जितपुरका खेमराज अधिकारी नागरिकता पाउनबाट बञ्चित भएका छन्।

उच्च अदालत विराटनगर, धनकुटा इजलासले गत पुस १२ गते खेमराज अधिकारीलाई नागरिकता दिलाउनु भनी दिएको आदेशअनुसार वडा कार्यालयले सिफारिस नगरिदिँदा नागरिकता पाउनबाट वञ्चित भएको अधिकारीको गुनासो छ।

अधिकारीले अदालतको आदेशको प्रतिलिपि लिएर लगातार एकहप्ता वडा कार्यालय धाउँदा पनि सिफारिस नदिएको खेमराजको गुनासो छ।

आफ्ना बुबा जंगमणि अधिकारीले अर्की श्रीमती विवाह गरेर भक्तपुर बस्दै आएको र सोही कारणले आफूहरूलाई हेला गरेका कारण जन्मदर्ताको आधारमा मुद्दा दायर गरेर सोही अनुसारको फैसला आएको खेमराजको भनाइ छ।

पुस १४ गतेदेखि अदालतको फैसला लिएर वडा कार्यालय जाँदा वडाध्यक्ष नेत्रबहादुर अधिकारी निवेदन दर्तासम्म नगरेको खेमराजको गुनासो छ। वडाध्यक्ष नाताले ठूलोबुबा पर्ने उनको भनाइ छ।

बाबु जंगमणिलाई पटकपटक नाता प्रमाणित गरेर नागरिकता बनाइदिन अनुरोध गर्दा नमानेपछि ०७६ पुस १९ गते उच्च अदालत विराटनगर, धनकुटा इजलासमा नाता प्रमाणित र अंशवण्डा मुद्दा दर्ता गर्नुपरेको खेमराजको भनाइ छ।

३ वर्षपछि मुद्दाको फैसला भएको र अदालतले न्याय दिएको उनी बताउँछन्। ०७९ पुस १२ गते अदालतका न्यायाधीश फुर्वा तामाङको इजलासले जंगमणिकै छोरा खेमराज भएको कागजातबाट खुल्न आएको भनी फैसला गर्‍यो।

फैसलाले खेमराजलाई नागरिकता दिलाउन जिल्ला प्रशासन कार्यालय र महालक्ष्मी-७ को वडा कार्यालयलाई आदेश दिएको छ भने जंगमणिले अंश भराउनुपर्ने आदेश गरेको छ। तर, वडा कायालयले नागरिकताको सिफारिस नगरेको तथा बाबु जंगमणिले अंशमा कुनै चासो नदिएको खेमराजको भनाइ छ।

जसका कारण अदालतले खेमराजलाई नागरिकता सहित अंशको दिएपनि नागरिकता नै नबन्दा समस्या भएको छ। जंगमणिले श्रीमती कुलदेवी रायाको नागरिकता नबनाएपछि माइती पक्षबाट नागरिकता बनाएको बताउनु परेको छ।

अदालतले १२ गते फैसला गरेको १४ देखि वडा कार्यालय आएकोमा काम नभएको खेमराजले बताए। १५ र १६ गते सरकारी बिदा रहेको र वडाध्यक्षले आइतबार, सोमबार र मंगलबार भोलि भन्दै बुधबार पुर्याएको तर काम नगरेको खेमराजको गुनासो छ।

बुधबार सबैका अगाडि दिन्छु सिफारिस भनेको तर, उनीहरू हिँडेपछि दिन्न भनेको उनी बताउँछन्। सहयोग गर्ने कोही नभएका कारण समस्यामा परेको उनी बताउँछन्।  बुवा जंगमणिले दोस्रो बिहे गरेर भक्तपुर बस्दै आएको र नागरिकता दिए अंश दिनुपर्ने भनेर रोकेको  उनको भनाइ छ।

यता, वडाअध्यक्ष नेत्रबहादुर पनि साइनोले ठूलो बुबा पर्ने भएकाले पारिवारिक कारणले सिफारिस नदिएको उनी बताउँछन्।

यता, वडाअध्यक्ष नेत्रप्रसाद अधिकारीले हाल सर्वोच्चमा मुद्दा विचाराधिन रहेको कारणले सिफरिस नदिएको बताए। वडाध्यक्ष अधिकारीले जंगमणिले कुलदेवि, खेमराज, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय धनकुटा र उच्च अदालतलाई विपरित दायर गरेको मुद्दा सवोच्चमा विचाराधिन सुचना पाएको बताए।

सबै कागजपत्र भएमा सिफारिस गर्ने हो, सर्वोच्चमा मुद्दा विचाराधिन रहेको कारण सिफारिस गर्न नसकेको वडाध्यक्ष अधिकारीले बताउँछन्। सर्वोच्चमा डिएनए टेष्ट गरिपाउँ, उच्च अदालतको एककोहोरो फैसला भएको भनि मुद्दा दायर गरेको जानकारीमा आएको वडाध्यक्ष अधिकारीको भनाइ छ।

सर्वोच्चको फैसला नआएसम्म सिफारिस नगर्ने र वकिलको परामर्शमा सिफरिसको काम रोकेको वडाध्यक्षको भनाइ छ। वडाध्यक्ष अधिकारीले कुलदेवी राया आफ्नो मामाको छोरी र जंगमणि काकाको छोरा भएको बताए।

उनले १४ गते एकछिन वडा कार्यालय गएको र जरुरी बैठकको कारण छिट्टै निस्केको बताउँदै १५ र १६ गते सार्वजनिक बिदा रहेको र आइतबार पारिवारिक कारणले खाँदबारी गएर सोमबार फर्केको जानकारी दिए। मंगलबार वडा कार्यालयमा निवर्तमान वडाध्यक्ष सहित भद्रभलादमी राखेर कुरा गरेको छलफल राखेको उनी बताउँछन्।

यता, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले वडा कार्यालयबाट सिफरिस लिएर आउन भनेको र सिफरिस नआएकाले मात्रै नागरिकताको काम रोकिएको बताए।

अदालतको फैसला अनुसार काम गर्न हरदम तयार रहेको कट्टेलको भनाइ छ। वडाको सिफारिस दिलाउन आफूहरूले पनि प्रयत्न गरिरहेको कट्टेल बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.