|

धनकुटा : यतिबेला धनकुटाका किसानको बारीमा बोटरभरी लटरम्म सुन्तला फलेका छन्। सुन्तला कृषकलाई यतिबेला सुन्तला टिपेर बजार लगेर बेच्न भ्याइनभ्याइ छ।

थोरै थोरै सुन्तला उत्पादन गर्ने किसानले टिपेर बजार लगेर बिक्री गर्ने गरेका छन् भने धेरै सुन्तला उत्पादन गर्ने किसानका बगानमा व्यापारी गाडी लिएर पुग्ने गरेका छन्।

कतिपय किसानले सुन्तला टिपेर क्रेटमा हालेर बिक्रीका लागि तयारी अवस्थामा राखेका छन्। जिल्लाको धनकुटा, पाख्रिबास र महालक्ष्मी नगरपालिकामा तथा साँगुरीगढी, चौबिसे र सहिदभुमि गाउँपालिकामा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ।

यद्यपि, धनकुटामा यो वर्ष सुन्तला उत्पादनमा गिरावट आएको किसानको गुनासो छ।

धनकुटा नगरपालिका वडा नं. ३ की कृषक राधा राईले गत वर्ष ७ लाखको सुन्तला बिक्री गरेकोमा यो वर्ष ३ लाखको मात्रै सुन्तला उत्पादन भएको बताइन्।

सुन्तलामा रोग कीरा प्रकोप तथा जलवायु परिवर्तनको असर लगायतका कारणले सुन्तलाको उत्पादन घटेको उनको भनाइ छ।

यस्तै, धनकुटाको शहीदभूमि गाउँपालिकामा पनि यो रोगकिराकै कारण उत्पादनमा कमी आएको छ। शहीदभूमि ५ का सुन्तला किसान महेश राईले गत वर्ष १० लाखको सुन्तला उत्पादन भएकोमा यो वर्ष ७ लाखको सुन्तला उत्पादन भएको बताए।

शहीदभूमि गाउँपालिकाको खोकुमा उत्पादन भएको सुन्तला व्यापारी र ग्राहकको रोजाइमा पर्ने गरेको छ। शहीदभूमिको खोकुमा उत्पादित सुन्तला एसियाकै गुलियो सुन्तला भन्ने गरेका कारण पनि यहाँको सुन्तला रोजाइमा पर्ने गरेको हो।

धनकुटाका कृष्ण खत्रीले सुन्तला खेती स्याहार्दै हरेक वर्ष उत्पादन भएको सुन्तला बिक्री गर्दै आएका छन्। करिब ५ रोपनी क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट उनले वार्षिक डेढ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

आम्दानी र उत्पादन राम्रो भएकै कारण उनी सुन्तला खेतीमै रमाइरहेको बताउँछन्। कृषि पेसा अन्तर्गतका अन्य खेतीभन्दा सुन्तला खेती गर्न सहज हुने उनको भनाइ छ। धनकुटा नगरपालिका ३ मा रहेका ५ सय ५ घर परिवारमध्ये करिब ७५ प्रतिशत घर परिवार सुन्तला खेतीमा आबद्ध छन्।

उनीहरूमध्ये धेरैको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो। मंसिर १५ देखि माघ अन्तिमसम्म यो गाउँका किसान सुन्तला टिपेर बिक्री गर्न व्यस्त हुन्छन्।

बोटबाट सुन्तला टिपेर खुल्ला ठाउँमा ल्याउने, ठूला–साना (ग्रेडिङ) छुट्याएर क्रेटमा राख्ने गरिन्छ। क्रेटमा राखेको सुन्तला जोख्दै व्यापारीलाई दिइन्छ।

यस्तै, शहीदभूमि गाउँपालिका ५ का किसान मोहन राई पनि सुन्तला बेच्न व्यस्त छन्। सुन्तला बगानमा आएका व्यापारीलाई बगान देखाउने दाम मोलमोलाई गर्न काममा उनको दिन बित्ने गरेको छ।

‘यहाँको सुन्तला गुलियो र रसिलो छ भन्दै व्यापारी बगानमै लिन आउँछन्,’ उनले भने, ‘माग धान्नै मुस्किल छ।’

रोग किराको समस्या

सुन्तला टिपेर बिक्री गर्नमा व्‍यस्त रहेका किसानलाई बजार, बिचौलिया, रोगकिरा बर्सेनि समस्यामा पर्ने गरेका छन्।

कहिले उपयुक्त मूल्य नपाउनु, कहिले बजार नपाउनु त कहिले रोग किराले बगान नै सखाप बनाइदिँदा कृषक समस्यामा पर्ने गरेका हुन्।

रोग किराको समस्या समाधानको लागि सम्बन्धित निकायले चासो नै नदिने गरेको धनकुटा नगरपालिका ३ का कृषक राजेन्द्र राईले गुनासो गरे।

सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो सय रुपैयाँदेखि डेढ सय रुपैयाँसम्म छ।

कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कअनुसार विगतका वर्षदेखि सुन्तला उत्पादन निरन्तर ओरालो लागेको धनकुटामा यस वर्ष पनि २० प्रतिशतले घटेको छ। धनकुटाका विशेषगरि खोकु स्थानीय र धनकुटा स्थानीय जातको सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा आर्थिक वर्ष ०७७-७८ मा १ हजार ६४ दशमलम ७० मेट्रिक टन, गत वर्ष १ हजार ५६ दशमलम ७२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

यस वर्ष अझ २० प्रतिशतले उत्पादन घट्ने अनुमान छ। सुन्तलामा रोग कीरा प्रकोप तथा जलवायु परिवर्तनको असर लगायतका कारणले धनकुटामा सुन्तलाको उत्पादन घटेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले बताए।

जिल्लाभरि किसानले आर्थिक वर्ष ०७७-७८ मा १ सय ६९ हेक्टरमा र गत वर्ष १ सय ६८ हेक्टरमा सुन्तला खेती गरेका छन्।

धनकुटामा आर्थिक वर्ष ०७७-७८ मा ६ करोड ४८ लाख रुपैयाँ बराबरको र गत वर्ष ६ करोड ६२ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो।

कृषि ज्ञान केन्द्र धनकुटाले यो वर्षको सुन्तलाको उत्पादनसम्बन्धी तथ्यांक संकलन भइनसकेको जनाएको छ। यस वर्ष ५ करोड २९ लाख ६० हजार रुपैयाँदेखि ५ करोड ६२ लाख ७० हजार रुपैयाँको आसपासमाको मूल्यको सुन्तला उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ।

यो तथ्यांकका आधारमा धनकुटामा सुन्तलाको उत्पादन भने बर्सेनि घट्दै छ। बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन्।

‘पाँच-छ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेँलो हुने, भित्रभित्रै किरा पर्ने र बोट सुक्ने भए समस्या रहेको किसान बताउँछन्। सुन्तलाकै नामले परिचित शहीदभूमिको खोकुमा सुन्तला बगान मासिन थालेको छ।

बर्सेनि एक करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी हुने खोकुमा यो वर्ष सुन्तलाको बोटै नरहने अवस्था आएको किसानहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.