|

प्रदीप भट्ट

विश्वका विभिन्न घटनाक्रम र परिदृश्यलाई हेर्दा विद्यार्थी राजनीतिको सुरुवात दोस्रो विश्व युद्ध सुरु हुनुपूर्व सन् १९००– १९३० मै भएको पाइन्छ। सन् १९०६ मा स्टुडेन्ट रेफ्रीजेन्टिभ कान्सिल नामक संगठनको स्थापना भएको पाइन्छ।

जब दोस्रो विश्व युद्ध सुरु भयो त्यसबेला पनि विभिन्न विद्यार्थी युनियनहरू स्थापना भए। त्यस बखत ती विद्यार्थी युनियनका कार्य  सैन्य शक्तिलाई बलियो बनाउन स्वयंसेवकको भूमिका रह्यो।

विश्व युद्ध समाप्त पश्चात् ती विद्यार्थी युनियनले युद्धका समयमा गरेका गतिविधि बदलेर विश्वविद्यालयमा विभिन्न सुधारका गतिविधिमा केन्द्रित रही आजका दिनसम्म संसारभर विद्यार्थी राजनीति, विद्यार्थी आन्दोलन संचालन भइराखेका छन्।

नेपालको विद्यार्थी आन्दोलनको इतिहासमा वि.सं.१९९१ सालमा भारतको बनारसमा अध्यनरत नेपाली विद्यार्थीहरूले नेपाली छात्र संघगठन गरेको पाइन्छ।

विस २००१ सालमा भारतको कलकत्तामा नेपाली विद्यार्थीहरूले हिमाञ्चल विद्यार्थी संघ गठन गरी राणा शासनको अन्त्यका लागि आवाज उठाएको पाइन्छ।

त्यसपछि २००४ साल जयतु संस्कृतम नामको संगठन खुलेर तत्कालीन राणा शासनविरुद्ध लडेको पाइन्छ। २००७ मा प्रजातन्त्र स्थापनापछि धेरै विद्यार्थी संगठनको स्थापना भयो।

यसर्थ नेपालमा भएका विभिन्न राजनीतिक घटनाक्रम, आन्दोलन सफल बनाउन विद्यार्थी संगठनहरूको महत्वपूर्ण भूमिका रहेको देखिन्छ।

२०४६ तथा २०६२÷६३ का ठूला–ठूला आन्दोलन सफल पार्न विद्यार्थीहरू अग्रपंक्तिमा रहेको देखिन्छ। यसरी हेर्दा नेपालको इतिहास र विभिन्न कालखण्डमा भएका संघर्ष र राजनीतिक परिवर्तन, नागरिकका जनजीविकाका सवाल, राष्ट्रियताका सवालमा विद्यार्थी संगठन, विद्यार्थी नेताहरूले महत्वपूर्ण योगदान गरेको देखिन्छ ।

पछिल्लो समय नेपालको विद्यार्थी राजनीति सेवाभन्दा लाभ, स्वार्थ केन्द्रित भएको पाइन्छ। समयअनुसार विद्यार्थी राजनीति परिवर्तित भएर अगाडि बढन नसक्दा नेपालमा विद्यार्थी राजनीतिको औचित्य समाप्त भएको होकि भन्ने प्रश्न चिह्न बेला बेलामा खडा हुने गरेको छ। 

विगतका स्ववियु निर्वाचनमा केही गलत अभ्यासहरू भएको पाइन्छ। पद, पावर र पैसाको आधारमा टिकट पाउने नियमित विद्यार्थीले टिकट न पाउने, निर्वाचन गतिविधि लामो समय गर्दा पढाइमा अवरोध, विद्यार्थी मतदातालाई प्रलोभनमा पार्न ठूला नेता मन्त्री क्याम्पसमा बोलाएर भोट मागिएको देखियो।

यद्यपि विद्यार्थीलाई आन्दोलनमा प्रयोगका रूपमा मात्र राजनीतिक पार्टीले प्रयोग गर्छन्, विद्यार्थी राजनीतिको विकास र विस्तारमा उनीहरूको चासो र चिन्तन भने देखिँदैन।

विश्वमा विकसित विभिन्न देशको विद्यार्थी राजनीति विश्वविद्यालय, क्याम्पसमा विभिन्न विषयमा सुधार केन्द्रित भएर अगाडि बढेको देखिन्छ भने नेपालको विद्यार्थी राजनीति यस्ता अभ्यास, गतिविधिबाट चुकेको देखिन्छ। र, नेपालका धेरैजसो विद्यार्थी संगठन पार्टीको विचार र आवरणमा खुलेका छन् ।

 खुल्नु राम्रो तर ती पार्टीको संगठनभित्रको राजनीतिक दबाब र हस्तक्षेपले विद्यार्थी राजनीति कमजोर हुँदै गएको छ। जसको फलस्वरूप शैक्षिक क्षेत्र प्रत्यक्षरूपमा फोहोरी राजनीतिले दूषित भएको हुँदै गएको छ।

विद्यार्थी राजनीतिको अबको बाटो

नेपालको सन्दर्भमा विद्यार्थी संघ संगठनहरूले आफ्नो मार्ग परिवर्तन गरी अगाडि बढ्न आवश्यक छ। विकास, समृद्धि र आविष्कारको यस युगमा विद्यार्थी राजनीति, विद्यार्थी संगठन र विद्यार्थी नेताका गतिविधि टायर बाल्ने, कालोमोसो दल्ने, क्याम्पसमा ताला लगाउने जस्ता घृणित कार्यमा सीमित हुनु हुँदैन। यस्ता संकिण गतिविधिमार्फत संगठनहरूमाथि उठन आवश्यक छ।

विद्यार्थी संगठनहरूले रचनात्मक गतिविधि सकारात्मक बहस र अनुसन्धानमा आधारित राजनीति गर्नु आवश्यक छ।

क्याम्पस विश्वविद्यालयमा महिनौं दिन तालाबन्दी गर्ने होइन त्यो विश्वविद्यालयलाई कसरी अनुसन्धानको केन्द्र बनाउन सकिन्छ भनेर बहस गर्ने पहल गर्ने हो।

शिक्षकलाई कालिमुसो दल्नुभन्दा गुरुपुजन कार्यक्रम हरेक क्याम्पसमा गर्दै परापूर्वकालदेखि चली आएको गुरु शिष्यबीचको सम्बन्ध सुमधुर बनाउन आवश्यक छ।

रचनात्मक र सिर्जनात्मकसँगै अबको विद्यार्थी राजनीति बहस केन्द्रित हुन जरुरी छ। शिक्षाको पाठ्यक्रम, शिक्षा नीति, प्रणाली, अर्थ प्रणाली, स्वास्थय प्रणाली, सुरक्षा नीति जस्ता विभिन्न राष्ट्रिय महत्व बोकेका विषयमा क्याम्पस विश्वविद्यालयमा बहस हुन आवश्यक छ।

 यस किसिमको बहस केन्द्रित राजनीतिको संस्कार संघसंगठनहरूले विद्यार्थी नेताले बसाउन आवश्यक छ।

स्ववियु

उच्च तहमा अध्ययनरत विद्यार्थीको बीचमा विद्यार्थीले गर्ने राजनीति भित्र हुने चुनाव स्ववियु हो। स्ववियु निर्वाचनमार्फत विभिन्न क्याम्पस विश्वविद्यालयमार्फत नयाँ ऊर्जावान विद्यार्थी नेताको जन्म हुन्छ, उसले त्यो उर्जालाई क्याम्पसमा प्रयोग गर्दै समग्र राष्ट्रको नेतृत्व गर्न पुग्दछ।

त्यसरी आगामी दिनमा नेपालको गौरवपूर्ण इतिहासलाई गर्व र महापुरुषको सम्मान गर्दै राष्ट्रलाई प्रथम स्थानमा राखी विद्यार्थी राजनीतिमा नयाँपनको विकास गर्दै राष्ट्रलाई परम वैभवयुक्त बनाउन केन्द्रित भई अगाडि बढ्नु आवश्यक छ।

 तर, वर्षौंदेखि स्ववियु निर्वाचन हुन न नसक्दा विद्यार्थी राजनीतिमार्फत आउने नयाँ नेतृत्वको जन्म हुन सकेको छैन।

२०६५ सालमा स्ववियु निर्वाचन भयो। त्यसपछि नियमित भएन मिति तोक्ने सार्ने काम भयो र २०७३ सालमा स्ववियु निर्वाचन भयो त्रिविका २६ आंगिक र ३०० क्याम्पसमा चुनाव भयो। ०७३ पछि ०७५ मा हुनुपर्ने चुनाव आजसम्म भएको छैन।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव चैत ५ गते गर्न प्रस्ताव गरेसँगै त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ।

विगतका स्ववियु निर्वाचनमा केही गलत अभ्यासहरू भएको पाइन्छ। पद, पावर र पैसाको आधारमा टिकट पाउने नियमित विद्यार्थीले टिकट न पाउने, निर्वाचन गतिविधि लामो समय गर्दा पढाइमा अवरोध, विद्यार्थी मतदातालाई प्रलोभनमा पार्न ठूला नेता मन्त्री क्याम्पसमा बोलाएर भोट मागिएको देखियो।

 अबको निर्वाचनमा यस्ता गलत अभ्यास नगरी योग्य व्यक्तिलाई क्याम्पस विश्वविद्यालयको नेतृत्वमा ल्याउन आवश्यक छ।

स्ववियु निर्वाचन नहुँदा कमजोर हुँदा समग्र विद्यार्थी आन्दोलन देशका लागि जन्मने नयाँ नेतृत्वको भुर्ण अवस्थामै मृत्यु हुने हुँदा वर्षौं रोकिएको स्ववियु हुनुपर्छ र स्ववियुमा हुने गलत दलगत राजनीति अन्त्य गर्नुपर्छ।

अबको विद्यार्थी नेता कस्तो?

विद्यार्थी नेता भन्नेबितिक्कै टायर, एम्बुलेन्स बाल्ने, ध्वंसात्मक आन्दोलन गर्ने, तालाबन्दी गर्ने, नेपाल बन्द गर्ने पार्टीको निर्देशनमा चल्ने विद्यार्थी नेताको परिचयलाई बदलेर रचनात्मक र सिर्जनात्मक आन्दोलनमार्फत कार्य गर्ने, नेपाल बन्द नगर्ने, पार्टी व्यक्तिवादी सोचबाट माथि उठेर कार्य गर्ने विभिन्न समाजिक समस्याको खोजी गरेर समाधानका लागि पहल गर्दै विभिन्न क्षेत्रको अनुसन्धान र आविष्कार गर्ने गराउने उद्यमशील बन्ने र बनाउने नेतृत्व गर्न सक्ने विद्यार्थी नेताको आवश्यकता छ।

एउटा विद्यार्थी देशको वर्तमान र भविस्य बोकेको शिक्षित वर्ग हो। उसले आफ्नो घर, टोल, समाज हुँदै राष्ट्रलाई परिवर्तन गर्न अग्रपंक्तिमा रहेर कार्य गर्न सक्छ।

जसरी विगतमा विद्यार्थी राजनीति देशकाल परिस्थितिअनुसार देश परिवर्तन, मेडिकल शिक्षाको महँगाई, विद्यार्थी परिचयपत्रका आधारमा छुटलगायत विद्यार्थी हकका लागि कार्य गरे राजनैतिक परिवर्तन, समाजिक जागरण, राष्ट्रियताका विषयमा आन्दोलन नागरिकका प्रत्यक्ष जनजीविकाका थुप्रै सवालमा विद्यार्थी शक्ति राष्ट्र शक्ति भएर उभियो।

त्यसरी आगामी दिनमा नेपालको गौरवपूर्ण इतिहासलाई गर्व र महापुरुषको सम्मान गर्दै राष्ट्रलाई प्रथम स्थानमा राखी विद्यार्थी राजनीतिमा नयाँपनको विकास गर्दै राष्ट्रलाई परम वैभवयुक्त बनाउन केन्द्रित भई अगाडि बढ्नु आवश्यक छ।

लेखक : भट्ट विद्यार्थी राजनीतिमा सक्रिय छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.