|

धनकुटा : जिल्लाको साँगुरीगढी गाउँपालिका-७ को आस्कोटकी अनिता राई हरेक दिन बिहान ३ बजे उठेर धारामा पुग्छिन्। ३ बजे नगए उनको पालो आउनै समस्या हुने गरेको उनको गुनासो छ।

३ बजे उठेर उनलाई डेढ घण्टाको पैदल दूरीमा गएको कुवामा पानी लिन जानु उनको बाध्यता नै हो। खडेरीको समय नआउँदै गाउँमा रहेका पानीका मुहान सुकेपछि खानेपानीको संकट आएको हो।

साँगुरीगढी गाउँपालिकाको आस्कोट र गोलखाडीमा वर्षौदेखि खानेपानी समस्या छ। पानीकै समस्याका कारण गोलखाडी, आस्कोट गाउँवरिपरि रहेको पर्याप्त उर्वर भूमि मरुभूमिमा परिणत हुन थालेको छ।

खानेपानीकै लागि दैनिक ३ घण्टा समय निकाल्नुपर्ने बाध्यता रहेको राईको गुनासो छ। राईका अनुसार पानी अभावकै कारण घर वरिपरिका करेसावारी बाँझो रहेका छन्, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता रहेको छ।

आफूले पानीको जोहो गर्न नभ्याउँदा छोराछोरीलाई पानी लिन पठाएकै कारण धेरै पटक विद्यालय छुटाउनु परेको उनी बताउँछिन्।

राईका अनुसार गाउँका विद्यार्थीलाई बिहान र बेलुका आफ्नो गृहकार्यभन्दा घरमा पानी छ, कि छैन? भन्ने पिरलो हुने गरेको छ।

गाउँपालिकाको तथ्यांकअनुसार गोलखाडी र आस्कोटमा करिब २ सय ५० घरधुरी रहेका छन्। स्थानीय सरकार पाएको ६ वर्षसम्म पनि खानेपानीको समस्या समाधान नहुँदा स्थानीय भने सन्तुष्ट छैनन्।

आफूले थाहा पाएदेखि नै पानीको अभाव भोग्दै आएको र अहिले झन् समस्या आएको स्थानीय सन्तमान राई बताउँछन्। पानी जोहोका लागि सास्ती भएको सन्तमान बताउँछन्।

गाउँमा रहेको धारामा सातामा १ दिन आएको पानी पालो कुरेर थाप्नुपरेको सन्तमानको भनाइ छ। पानीका गाइवस्तुलाई दिन र नुहाउन खोला कुवामा जानेगरेको उनी बताउँछन्। पानीको मात्रै सुविधा देउ भनेर गाउँपालिकामा भनेको आश्वासन मात्रै पाएको उनको गुनासो छ।

गाउँमा रहेको धारामा १ दिन पानी आएमा ७ दिन नआउने गरेको साँगुरीगढी ७ गोलखाडीका थामबहादुर राईले बताए। उनले १ दिन आए पनि ६ दिन बोकेर खानुपर्ने बाध्यता रहेको छ।

गाउँमा सञ्चालन भएको लिफ्ट आयोजना सञ्चालन हुन अझै २ वर्ष लाग्छ भन्ने सुनेको थामबहादुर बताउँछन्। कतिपय दिन त पालो नआएर त्यतिकै फर्किनु परेको छ।

पानीको सहजताको लागि सबैले पहल गरिदिए हुने भन्ने अपेक्षा रहेको उनी बताउँछन्।

गाउँमा खानेपानी समस्या समाधानका लागि लिफ्ट प्रणालीबाट खानेपानी आयोजनाको काम भइरहेको छ। आयोजनाले धमाधम काम नगर्दा समस्या भएको र योपटक पनि पूरा हुने अवस्था रहेको छैन।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पहाडी भूगोलका कारण केही समस्या भएको बताउँदै समाधानको पहल भइरहेको बताए। उनले खानेपानी डिभिजनले विगतका वर्षदेखि सुरु गरेको लिफ्ट आयोजनालाई यो वर्ष पनि केही बजेट विनियोजन गरेको भए पनि सम्पन्न हुने सम्भावना नरहेको बताए।

यसलाई तत्काल सम्पन्न गर्न गाउँपालिकाले दबाब दिइरहेको गाउँपालिका अध्यक्ष राईले बताए।

संविधानको धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुनेछ भनी उल्लेख गरिएको छ। तर, गोलखाडी र आस्कोटका स्थानीयले मौलिक हकमा उल्लेख गरेझैँ स्वच्छ खानेपानी सहज रुपले पाएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.