|
फाइल तस्वीर ।

धनगढी : दार्चुलामा पुस २१ गते (बिहीवार) एक बालक महाकालीमा बगे। जिल्लाको व्यास गाउँपालिका–४ डोकटका स्थानीय बालक दीपक महाकालीमा बगेका हुन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) जगत गाहा मगरले तुइनबाट खसेर १० वर्षीय बालक दीपक बिष्ट बेपत्ता भएको खबर आएको जानकारी दिए।

उनका अनुसार घटना २१ गते भए पनि प्रहरीले आजमात्र खबर पाएको हो। उक्त खबर पाएपछि त्यहाँको स्थानीय प्रहरीलाई खोजी कार्यमा खटाएको पनि उनले बताए।

प्रहरी निरीक्षक मगरले थाहाखबरसँग भने, ‘बिहीबार दिउँसोतिरको घटना रहेछ। हामीले पनि आजमात्रै (ढिलो) खबर पायौं। त्यो ठाउँ जिल्ला सदरमुकामबाट धेरै टाढा पनि पर्छ। बेपत्ता भएको जानकारीपछि बच्चाको खोजतलासमा भनेर प्रहरीलाई खटाइसकेका छौँ।’​

यसैगरी उनले आजै प्रहरीले पीडित परिवारलाई पनि भेटेको जानकारी दिए। बालकको खोजीमा अहिले स्थानीय एकाइ मात्रै खटिएको र भोलि जिल्लाबाट थप प्रहरी पठाइने उनको भनाइ छ।

कसरी बगे बालक ?

२१ गतेको दिउँसो दीपक (बगेका बालक)की आमा घाँस काट्न भनेर नेपालबाट भारततर्फ पर्ने आफ्नो मेला (घाँस हुने ठाउँ) तिर जान लागेकी थिइन्। उनी घरबाट मेलातर्फ हिँडेपछि दीपक पनि पछि-पछि लागे। आमाले पछि-पछि दीपक आइरहेको पत्तै पाइनन्।

उनी सरासर नेपाल-भारत तर्ने तुइन खोला (सुनसेरा) तरेर पारि (भारत) पुगिसकेकी थिइन्। त्यसपछि उनले पारी मेलाबाट हेर्दा आफ्नो छोरा (दीपक) तुइनमा झुन्डिएको देखिन् र हतारहतार तुइन भएको ठाउँतिर झर्न खोजिन्। त्यतिकैमा दीपक हेर्दाहेर्दै तुइनबाट एक्कासी खसेर महाकालीमा बगेका थिए। अहिले उनी बेपत्ता छन्।

अहिलेसम्म दीपकको अत्तोपत्तो नलागेको बताउँदै स्थानीय प्रहरीले खोजी कार्य गरिरहेको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए। उनले भने, ‘खोजी जारी छ। भोलि पनि खोजतलास गर्छौ। अहिले भर्खर हामी महाकालीबाट फर्किएर आएका छौँ। निकै अप्रिय घटना घट्यो।’

घटना भएको स्थानमा बाक्लो बस्ती पनि नभएको उनले बताए। त्यहाँ २‚ ३ वटा घर मात्र भएको र निकै दुर्गम क्षेत्र भएको उनले बताए। यस्तै उक्त क्षेत्रमा दूरसञ्चारको नेटवर्कको समेत समस्या भएकाले घटना ढिलो थाहा भएको उनको भनाइ छ।

त्यहाँका स्थानीय बासिन्दा घाँस र खर काट्न भारततिर जाने चलन छ। सय मिटर माथि झोलुंगे पुल भए पनि सजिलोका लागि स्थानीयले त्यस क्षेत्रमा तुइन हाल्छन्। त्यहीँबाट बालक खसेका हुन्। ती बालक डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए। उनका बुवा वैदेशिक रोजगारीमा छन्।

यसअघि २०७८ साउन १५ मा पनि भारतीय सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि व्यास–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.