२९ वर्षयता महाकालीमा मात्रै २६ जनाले गुमाए ज्यान

|

काठमाडौं : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२ सालमै दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने घोषणा गर्‍याे। यसका लागि ०७२ साल असोजमा बसेको मन्त्रिपरिषद् बैठकले तुइन हटाएर झोलुङ्गे पुल निर्माणको योजना अघि सार्ने निर्णय गरेको थियो। तर घोषणाको भएको ७ वर्ष बित्दा पनि तुइन विस्थापन हुन सकेको छैन। जसकारण नागरिकहरू यतिखेर अकालमै ज्यान गुमाइरहेका छन्।

२०७७ साल साउन पहिलो साता मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा-१ लालझाडीका ७७ वर्षीय कृष्णप्रसाद पराजुली तुइनबाट खस्दा मृत्यु  भयो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पराजुली पारिपट्टि खेतमा जान लाग्दा तुइनमा एउटा खुट्टा राखेका मात्रै थिए, अर्को खुट्टा राख्ने क्रममा चिप्लिएर लड्दा ज्यान गुमाए।

यस्तै, २०७८ साउन १५ मा पनि भारतीय सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी दार्चुलाको महाकालीमा खसेर बेपत्ता भए। यो घटना सेलाउन नपाउँदै फेरि त्यही ठाउँमा अर्काे घटना घटेको छ। पुस २१ गते (बिहीबार) दार्चुला जिल्लाको व्यास गाउँपालिका–४ डोकटका स्थानीय १० वर्षीय बालक दीपक महाकालीमा बगेर बेपत्ता भएका छन्। 

जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बेपत्ता भएका बालकको खोजी कार्य तीब्र बनाइएको जानकारी दिए। २१ गतेको दिउँसो दीपक (बगेका बालक)की आमा घाँस काट्न भनेर नेपालबाट भारततर्फ पर्ने आफ्नो मेला (घाँस हुने ठाउँ) तिर जान लागेकी थिइन्। उनी घरबाट मेलातर्फ हिँडेपछि दीपक पनि पछि–पछि लागे। आमाले पछि–पछि दीपक आइरहेको पत्तै पाइनन्।

उनी सरासर नेपाल–भारत तर्ने तुइन खोला (सुनसेरा) तरेर पारि (भारत) पुगिसकेकी थिइन्। त्यसपछि उनले पारी मेलाबाट हेर्दा आफ्नो छोरा (दीपक) तुइनमा झुन्डिएको देखिन् र हतारहतार तुइन भएको ठाउँतिर झर्न खोजिन्। त्यतिकैमा एक्कासी हेर्दाहेर्दै तुइनबाट खसी महाकालीमा बगे दीपक! अहिलेसम्म उनी बेपत्ता छन्।

२९ वर्षयता दार्चुलामा मात्रै २६ जनाले गुमाए ज्यान

यी घटना प्रतिनिधिमात्र हुन्। जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार २९ वर्षयता दार्चुला जिल्लामा मात्रै तुइनबाट खसेर २६ जना नागरिकले ज्यान गुमाएका छन्। ‘यति संख्याले ज्यान गुमाएको स्थानीयले बताउँदै आएका छन्, वर्षेनि एक जनाको ज्यान जाने गरेको छ,’ उनले भने।

उनले झोलुंगे पुल निर्माण भए पनि त्यहाँबाट नागरिकहरू आवतजावत नगर्दा बिहीबारको घटना घटेको बताए। ‘त्यो ठाउँको १०० मिटरअगाडि झोलुंगे पुल छ तर छिटोको लागि त्यहाँका स्थानीय आफैँ तुइन हालेर नदी तर्ने गर्दा घटना घट्यो,’ उनले भने। दार्चुला जिल्लामा लगभग झोलुंगे पुल निर्माण गरि तुइन विस्थापन भइसकेको उनको दाबी छ।

‘अब दुम्लिङ भन्ने ठाउँमा मात्रै झोलुंगे पुल निर्माण हुन बाँकी छ, त्यहाँ पनि अब छिट्टै बनाउने याेजना छ,’ उनले भने। यो ठाउँमा तुइनबाट स्थानीय ओहोरदोहोर गरिरहेको तर सुरक्षित रहेको उनको भनाइ छ।

विकासको नियति गलत हुँदा दुर्घटना भइरह्यो : विकासविद् घिमिरे

विकासविद् गणेश घिमिरे यहाँको विकास नियति नै गलत हुँदा वर्षेनि यस्ता घटनाहरू दोहोरिइरहेको बताउँछन्। उनी भन्छन्, ‘हाम्रो विकासको नियति ठीक छैन, विकासको मोडल नै स्पष्ट छैन, जहाँ आवश्यक परेको थियो ती ठाउँमा पुल निर्माण गरिएन,पहिचान पनि भएन, आवश्यक नपरेको ठाउँमा भने जथाभाबी लगानी गरियो, जसकारण तुइनबाट मान्छे खसेर ज्यान गुमाइरहे।’

आकाशे, मोटेरेबल, झोलुंगे पुललगायत पूर्वाधार निर्माण गरेर नागरिकलाई सेवा दिइनुपर्ने वेला कमिशनको चक्करमा लाग्नाले पनि वर्षौं योजनाहरू अलपत्र परेको उनी बताउँछन्। ‘जस्तो अहिले यहाँ १ करोडको पुल बन्ने हो भने एकजना ठेकेदारलाई समायो, १० करोडको प्रोजेक्ट बन्छ, अनि बाँडीचुँडी पैसा खाएपछि अन्तिमममा ५० लाखको काम गरेर ठेकेदार फरार हुन्छ, राज्यले खोज्दैन अनि त्यहाँ नागरिक पुल नहुँदा जोखिम माेलेर भए पनि तुइनको प्रयोग गर्छन्,’ उनले भने।

उनका अनुसार यही बेथितिका कारण अझै कैयौँ योजनाहरू अधुरा छन्। स्थानीय तहबाट माथिसम्म जुन कमिशन खाने जालो छ यसको अन्त्य नभएसम्म यस्ता विभिन्न दुर्घटना हुने उनको बुझाइ छ। ‘पछिल्लो समय स्थानीय तहलाई चढेर पनि केही नदेखिने भ्यूटावर निर्माण गर्ने होडबाजीमा छन्, बरू त्यो पैसाले झोलुंगे पुल बनाएको भए हुन्थ्यो नि, उद्योग कलकारखाना खोलेको भए विदेशीने नागरिकले रोजगार पाउँथे नि, देश समृद्धितिर जान्थ्यो नि तर यस्ता सोच भएकाहरू लाखापाखा लागे,’ उनले भने।

उनका अनुसार पहिला लगानी छुट्याउने भन्दा पनि कुन ठाउँमा के आवश्यक रहेको छ त्यो पहिचान गरि पारदर्शी ढंगबाट काम हुनु जरूरी छ। ‘ठीक कुरा लिएर उभिने अर्थात् विकासका पूर्वाधार बनाउँछु भन्नेहरू छायाँमा परे,’ घिमिरेले भने, ‘राजनीतिक पहुँचले त्यस्ता मान्छेहरूले प्राथमिकता पाएन, त्यसैले सञ्चार जगतले पनि त्यस्ता मान्छेहरू कहाँ छन् भनेर खोजी गरेर बाहिर ल्याउनुपर्छ, बनेका उदाहरणीय काम लगातार हाइलाइट गरेमा आमधारणा त्यसैमा जान्थ्यो कि!’

देशभर १४३ तुइन भएकोमा १४१ विस्थापन

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनियर प्रवेश रेग्मीका अनुसार २०७२ मा देशभर १ सय ४३ तुइन रहेको पहिचान भएको थियो। हालसम्म झोलुंगे पुल बनाएर १ सय ४१ तुइन विस्थापन भएको जानकारी दिए। उनले भने, ‘अब २ ठाउँको तुइन विस्थापन गर्न बाँकी छ।’

उनका अनुसार अझै बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने एक ठाउँ र अर्को भारतीय सीमामा पर्ने महाकालीको पञ्चेश्वरघाटमा झोलुंगे पुल बनाउन बाँकी छ। ‘बर्दियाको निकुञ्जभित्र पर्ने भएकाले प्राविधिक समस्या छ, अर्को भारतीय सीमामा पर्ने पञ्चेश्वरघाटमा भारतले सहमति दिएन तर पनि यी दुई ठाउँमा बनाउने प्रयास जारी छ,’ उनले भने।

उनले परराष्ट्रमार्फत भारतीय राजदूतावास हुँदै सहमति माग गरेको तर भारतले अझै सहमति प्रदान गर्न नमानेको जानकारी दिए। उनले भने, ‘महाकालीमै भारतले सहमति दिएकोमा ४ वटा झोलुंगे पुल त बनिसक्यो।’

बढी समस्या भने महाकाली नदीमा समस्या देखिएको उनले बताए। ‘महाकालीमा उता भारत यता नेपाल पर्‍याे, भारततिर सबै बाटोको पहुँच छ, नेपालतिर बाटोको पहुँच छैन, पहुँच नभएपछि भारतीय बजारमा नेपाली जान परे तुइनबाटै जान्छन्, आवश्यकता हेरेर नै भारतसँग सहमति मागेर पुल बनाइसक्यो तर स्थानीयहरू तल्लो पुल आउन गाह्रो मानेर आफैँ लठ्ठा हाल्ने गर्दा दुर्घटना भएको पाइयो,’ उनले भने।

गृह मन्त्रालय भन्छ : अब हेर्छौं

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बिहीबार भएको दार्चुला घटनाबारे ध्यानाकर्षण भएको बताए। तुइन विस्थापित गर्ने भनेको ७ वर्ष बित्दा पनि किन यस्तो घटना घटिरह्यो भन्ने प्रश्नमा मन्त्रालयले यस विषयमा बुझ्ने उनले बताए। ‘अब हामी पनि हेछौँ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.