|

हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बागमती प्रदेशको चौथो मुख्यमन्त्री बन्ने भएका छन्।

बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शीर्ष नेताहरूको बैठकले बागमती प्रदेश सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने निर्णय गरेको हो। योसँगै माओवादी संसदीय दलका नेता रहेका जम्मकट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बन्ने पक्का भएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका जम्मकट्टेल यसअघि २०७४ मा नेकपाको सरकार हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। नेकपा विभाजन हुँदा उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।

२०७४ को निर्वाचनमा धादिङ क्षेत्र नं. १ को प्रदेशसभा (२) बाट निर्वाचित भएका जम्मकट्टेल ४ मंसिरमा भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्मकट्टेल हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज हुन्। २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उनले विद्यार्थी राजनीति शुरु गरेका थिए।

२०४८ बाट उनी मजदुर संगठनमा लागे। औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष भएका उनी २०५२ सालमा माओवादी युद्धमा होमिएका थिए। त्यसयता माओवादीमा निरन्तर क्रियाशील उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भए।

बी.ए., बी.एल.सम्मको अध्ययन गरेका जम्मकट्टेलले मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुगेका थिए। २०६३ मा पुनःस्थापित संसद्को अन्तरिम विधायिका भएका थिए।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं. ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आएका थिए। यद्यपि २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने उनी पाण्डेसँगै पराजित हुन पुगे।

योपटक उनले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा देखाएका थिए। भागबण्डामा धादिङ १ मा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दाबी नछाडेपछि उनी पुनः प्रदेशसभा सदस्यमा दोहोरिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.