|

हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

११० सदस्यीय बागमती प्रदेशसभाको ७० सांसदको समर्थनमा जम्मकट्टेल चौथो मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका छन्।

जम्मकट्टेललाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१ ,राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ।

बागमती प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका जम्मकट्टेलको प्रदेश सरकारमा तेस्रो इन्ट्री हो। यसअघि उनी ०७४ मा नेकपाको सरकार बन्दा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए।

३ वर्ष कानुन मन्त्रालयको नेतृत्व गरेका जम्मकट्टेल नेकपा विभाजनपछि मन्त्री पदबाट राजीनामा दिँदै प्रतिपक्षमा बसेका थिए। करिब एक वर्षमा प्रतिपक्षीमा बसेका जम्मकट्टेल ०७८ कात्तिक ११ गते कांग्रेसको नेतृत्वको गठबन्धनको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए।

१४ महिना प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका उनले सोमबारबाट प्रदेशको चौथो मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रदेशको पहिलो पाँच वर्षको कार्यकालमा एमालेबाट राजेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए।

जम्मकट्टेल तेस्रो प्रयासमा प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका हुन्। यसअघि नेकपा हुँदा पनि उनले मुख्यमन्त्रीमा इच्छा देखाएका थिए। तर, नेकपा पार्टीभित्र आफूभन्दा सिनियर नेताहरू भएकोले पछि हटेका उनले कांग्रेस नेतृत्वको गठबन्धनको सरकारको नेतृत्वमा पनि दावी गरेका थिए। तर, बागमती प्रदेशको नेतृत्वमा माओवादीको भागमा नपरेपछि उनी मुख्यमन्त्री बन्न पाएका थिएनन्।

४ मंसिरमा भएको निर्वाचनमा धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्न चाहेका जम्मकट्टेल प्रदेशका निवर्तमान मुख्यमन्त्री पाण्डेको कारण प्रदेशमा दोहोरिएका थिए। गठबन्धनबाट पाण्डेले सो क्षेत्रको टिकट पाएपछि जम्मकट्टेल धादिङ–१ क २ बाट प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका थिए।

प्रदेशसभाको पहलिो कार्यकालमा पाँच वर्ष मचाओवादी संसदीय दलका नेता बनेका जम्मकट्टेललाई यो पटक दलको नेता बन्न हम्मेहम्मे परेको थियो। माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले दलको नेतामा दावी नछोड्दा जम्मकट्टेलले दलको नेता चयन हुन पार्टी अध्यक्ष प्रचण्डको सहारा लिनुपरेको थियो।

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्मकट्टेल हाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज हुन्।

जम्मकट्टेलको राजनीतिक यात्रा मजदुरदेखी मुख्यमन्त्रीसम्मको छ। २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उनले विद्यार्थी राजनीति सुरु गरेका थिए।

२०४८ बाट उनी मजदुर संगठनमा लागे। औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष भएका उनी २०५२ सालमा माओवादी युद्धमा होमिएका थिए। त्यसयता माओवादीमा निरन्तर क्रियाशील उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भए। बी.ए., बी.एल.सम्मको अध्ययन गरेका जम्मकट्टेलले मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुगेका थिए।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं. ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आएका थिए। यद्यपि २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने उनी पाण्डेसँगै पराजित हुन पुगे।

मुख्यमन्त्रीमा नियुक्त भएपछि जम्मकट्टेलले प्रदेशमा ९ देखी ११ वटासम्म मात्रै मन्त्रालय कायम गरिने बताएका छन्। प्रदेशमा हाल १४ वटा मन्त्रालय रहेको छ। मन्त्रालय धेरै बनाएको भन्दै बागमती प्रदेशको विरोध हुँदै आएको छ।

उनले आफूले दुईपटक सरकारमा रहेर प्रदेशलाई बुझेको भन्दै अरू मुख्यमन्त्रीको भन्दा अझै फरक र राम्रो काम गरेर देखाउने प्रतिक्रिया दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.