|

बागलुङ : गाउँ गाउँमा सडक पुग्यो। सडकसँगै आधुनिकता पनि गाउँमा पुग्यो। केही वर्ष अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा ढुंगा र खरले सलक्क मिलाएर छाइएका रातोमाटो र सेतो कमेरोले पोतिएका घरहरू देखिन्थे। शहर बजारबाट जोकोही गाउँमा पुग्दा ती घरले मनै लोभ्याउँथे।

परम्परागत ढाँचामा बनेका ती घरले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो। उतिवेला गाउँमा अहिलेको जस्तो मोटरगाडी गुड्दैनथे। मान्छेहरू पैदल नै हिँड्ने गर्थे। तर अहिले सडक नपुगेका गाउँहरू छैनन्।

सडकसँगै गाउँ पुगेको आधुनिकताले मौलिकतालाई ओझेलमा पार्दै गएको छ। दिनानुदिन गाउँमा यातायात सुविधा पुग्दै जाँदा यसको प्रभाव गाउँका पुराना परम्परागत र मौलिक कुराहरूमा परेको छ।

परम्परागत घर र ढुंगेघर गाउँबाट विस्तारै पातलिँदै छन्। अहिले गाउँमा धमाधम सिमेन्ट र कङ्क्रिटका घरहरू ठडिँदै गएका छन्। सक्नेले पक्की पिलरवाला घर बनाएका छन् त न्यून वर्गका नागरिकले खर र ढुंगाको छानो हटाएर जस्तापाताले घर छाउन थालेका छन्।

यसबाट पुराना मौलिक घरहरू विस्तारै विस्थापित हुने अवस्थामा भएको छ। बागलुङको निसीखोला गाउँपालिका-५ निसीका विभिन्न बस्तीमा ३ वर्ष अगाडिमा गाउँका अधिकांश घरहरू ढुंगा र केही खरले छाइएका थिए। तर अहिले ती बस्तीहरूमा पुग्यो भने विभिन्न रंगका जस्तापाताले घरहरू रंगीचंगी देखिन्छन्।

कमेरो र रातो माटोले पोतिएका घरहरू थोरै पाइन्छन्। गाउँमा सडक आएपछि गाउँलेहरूले शहरबजारकाले जस्तो सिकेर परम्परागत घरहरूलाई भत्काएर नयाँ स्वरुपमा बनाउन थालेको स्थानीय नविनकुमार घर्तीले बताए।

घर्तीले भने, ‘आधा दशक अगाडिसम्म गाउँमा धेरैजसो घरहरू ढुंगा र खरले छाएका थिए, गाडीहरू आउने बाटो पनि थिएन, अहिले त दिनदिनै गाडी आउँछन्, गाउँलेहरूले बजारीहरूको सिको गरेर सबै घरहरू बजारकै जस्ता बन्न थाले, धनीमानीले ठूलै पिलरवाला घर बनाइरहेका छन्, अलिअलि हुनेले टिनको छानासमेत हाल्न थालेका छन्।’

बागलुङ नगरपालिका-४ कुँडुलेमा पनि करिब एक दशक अगाडिसम्म ढुंगेहरू टन्नै थिए। तर अहिले ढुंगाका घरहरूले भएका ठाउँहरूमा ठूलाठूला कंक्रिटका घरहरू ठडिएका छन्। सडक कुँडुलेमा नपुग्दा धेरैको घर ढुंगाले नै छाएको भए पनि अहिले धेरैजसोले पक्की भवन बनाउन थालेको स्थानीय देवबहादुर खत्रीले बताए।

उनले गाउँमा सडक आएपछि धेरै मानिसहरूले बजारबाट सहज रुपमा घर निर्माण गर्ने सामानहरू ल्याउन सक्ने भएपछि ठूलाठूला भवनहरू बनाउन थालेको बताए। खत्री यहाँका धेरैजसो बासिन्दा विदेशमा भएको हुँदा उनीहरूले गाउँमा परम्परागत घर र ढुंगाको घर विस्थापित गरि पक्की घर बनाउन थालेको बताउँछन्।

खत्री पहिले ढुंगेघरहरू भएका ठाउँ देखाउँदै भन्छन्, ‘त्यो ठाउँमा सबै ढुंगाका घर थिए, केही खरका पनि थिए। पक्की घर त यहाँ एउटा पनि थिएन, ल अहिले हेर्नु त यहाँ कति पक्की घर बने? यहाँका मान्छेहरू सबै विदेशमा छन्, विदेशमा कमाउने यहाँ ठूला ठूला घर बनाउने गरेका छन्। पहिलेको तुलनामा अहिले गाउँ निकै फरक भएको छ, दिनदिनै सिमेन्टका घर ठडिइरहेका छन्, १/२ वर्षमा यहाँ ढुंगाका घर पनि देख्न पाइँदैन।’

ताराखोला गाउँपालिका-२ भातखानेडाँडामा पनि आधा दशक अगाडिसम्म २/४ वटा खर र ढुंगाका ससाना घरहरू मात्र थिए। तर पछिल्लो समय तीव्र विकासका कारण भातखानेडाँडामा ठूला ठूला पक्की घर बनेका छन्।

पहिले ढुंगा र खरले छाएका घरहरू भएको ठाउँमा सिमेन्ट कङ्क्रिटका पक्की घर बनेका छन्। सडक सञ्जालमा यो ठाउँ जोडिएपछि सबै पुराना घर विस्थापित भएको स्थानीयको भनाइ छ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङकी प्रमुख सुनिता श्रेष्ठले मानिसहरू सजग र सचेत हुँदै गएको हुँदा नयाँ नयाँ प्रविधि प्रयोग गरेर घर निर्माण गर्न थालेको बताइन्। उनले परम्परागत घर भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने भन्दै नागरिकहरूले सचेतता अपनाएर पक्की भवनहरू बनाउन थालेको बताइन्।

प्रमुख श्रेष्ठ परम्परागत घरहरू पनि सबै जोखिम नहुने भन्दै त्यस्ता घर तथा भवन बनाउँदा मापदण्ड अपनाउनुपर्ने बताउँछिन्।

‘मानिसहरूको सोच परिवर्तन हुँदै गएको छ, उनीहरू प्रविधिसँग जोडिन थाले र नयाँ नयाँ प्रविधि प्रयोग गर्न थाले। त्यसले गर्दा पनि ढुंगेघर कम बन्न थालेका हुन्’,  प्रमुख श्रेष्ठले भनिन्, ‘पहिले ग्रामीण क्षेत्रमा सडकको सुविधा थिएन, अहिले धेरै ठाउँमा सडकको पहुँच पुगेको छ। त्यसले गर्दा पनि गाउँहरूमा परम्परागत घर कम बन्ने र आधुनिक घर बढी बन्न थालेका हुन्।’

पहिले गाउँमा देखिने खरले छाएका घर पनि अहिले देख्न मुस्किल पर्छ। यहाँका स्थानीय सरकारहरूले पनि खरको छानो विस्थापित गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.