एमालेले बुधबार मुख्यमन्त्रीमा दावी पेश गर्ने

|

धनगढी : टीकापुर घटनामा दोषी ठहर भएर राजधानी काठमाडौंको डिल्लीबजारस्थित कारागारमा जेल जीवन बिताइरहेका रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्री दिनुपर्ने रटान लगाउँदै आएको थियो।

तर आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिममा मुख्यमन्त्री नदिएर उपसभामुख दिने निर्णय गरेको थियो। सो बैठकले पहिलो चरणमा सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र दोस्रो चरणमा नेकपा माओवादी केन्द्रले गर्ने सहमतिसमेत गरेको थियो।

नेकपा एमाले नेतृत्वको गठबन्धनको सोही सहमतिका कारण सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने रटान लगाएको उन्मुक्ति पार्टीले आफ्नो अडान फेरेको छ। उसले अहिले सुदूरपश्चिम सरकारमा नजाने निर्णयसमेत गरेको जनाएको छ।

उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्न रेशम चौधरीको रिहाइलगायतका मुद्दामा लिखित प्रतिबद्धता पनि मागेको छ।

सुदूरपश्चिमको हकमा अहिलेसम्म आफ्ना माग र मुद्दामाथि कुनै पनि गठबन्धन अथवा दलले लिखित प्रतिबद्धता नजनाएका कारण सरकारमा सहभागी हुने वा नहुने कुनै निर्णय नगरेको नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य तथा प्रमुख सचेतक गंगाप्रसाद चौधरीले जानकारी दिए।

अहिलेकै एमाले नेतृत्वको गठबन्धनले लिखित सहमति गरेपछि सुदूरपश्चिम प्रदेश सरकार गठन हुने र त्यसमा आफ्नो पार्टीले सरकार बाहिरै बसेर समर्थन गर्ने उनले बताए। 

लिखित प्रतिबद्धता नभए उन्मुक्ति प्रतिपक्षमा’

उनले थाहाखबरसँग भने, ‘आज हाम्रो पार्टीले प्रचण्ड नेतृत्वको केन्द्र सरकारलाई विश्वासको मत पनि दिइसकेको छ। सुदूरपश्चिमको हकमा पनि हामीलाई अहिले मन्त्री, मुख्यमन्त्री केही पनि चाहिँदैन। हाम्रो माग र मुद्दाहरू सम्बोधन गर्ने ग्यारेन्टी  र लिखित प्रतिबद्धता हुनुपर्छ। त्यसपछि समर्थन र विश्वासको मत दिने कुरा हुन्छ। तर हाम्रा माग तथा मुद्दाहरू सम्बोधन नभएसम्म सरकारमा सहभागी हुँदैनौँ।’

नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले पनि प्रदेश सरकार गठन तथा मुख्यमन्त्रीमा समर्थन गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताए। अहिले गठबन्धनमा पार्टीले उठाएका माग मुद्दाका विषयमा लिखित प्रतिबद्धता दिनुपर्ने माग अघि सारिएको उनले बताए।

‘अहिलेसम्म हामीले प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय गरेको अवस्था छैन,’ चौधरीले भने, ‘तर रेशमलाल चौधरीको रिहाइलगायतका मुद्दामा गठबन्धनको प्रदेश र शीर्ष तहमा लिखित प्रतिबद्धता आएमा समर्थन गर्ने अवस्था रहन्छ।’

उनी सोमबार राति पार्टी संस्थापक रेशम चौधरीलाई डिल्लीबजार कारागारमा भेटेर आज कैलाली फर्किएका छन्। सुदूरपश्चिम सरकारका सवालमा बुधबार आफूहरू निष्कर्षमा पुग्ने र पार्टीले उठाएका माग र मुद्दा सम्बोधन गर्ने विषयमा लिखित प्रतिबद्धता नआए उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने उनले बताए। 

यता, उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले भने पार्टीको नेतृत्वबाट सुदूरपश्चिम प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्देशन आइनसकेको बताए। सम्भवतः बुधबार नै निर्णय हुने उनले बताए।

सुदूरपश्चिम प्रदेशमा अहिलेको अवस्थामा नागरिक उन्मुक्ति पार्टी सरकार गठनका लागि निर्णायक भूमिकामा छ। ७ जना प्रदेशसभा सदस्यसहितको प्रतिनिधित्व रहेको यो पार्टीले समर्थन गरेमात्र सुदूरपश्चिममा एमाले नेतृत्वको गठबन्धनको सरकार बन्नेछ।

तर प्रदेश सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले भने नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्नेमा ढुक्क देखिएको छ।

बुधबार एमालले मुख्यमन्त्रीको दावी गर्ने

एमालेले बुधबार मुख्यमन्त्रीमा बहुमतसहित दावी पेश पनि गर्ने जनाएको छ। ‘भोलि हामी बहुमतसहित प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख कार्यालयमा जान्छौँ। गठबन्धन दलहरु एकढिक्का छन्, नागरिक उन्मुक्ति पार्टी पनि सकारात्मक छ र समर्थन गर्छ। हाम्रै नेतृत्वमा गठबन्धनको सरकार बन्छ,’ एमालेका एक प्रदेशसभा सदस्यले भने, ‘केन्द्रमा भएको सहमति कार्यान्वयनको विकल्प छैन, आलोपालोको सहमतिअनुसार सरकार गठन हुन्छ। भोलि नै प्रदेशले नयाँ मुख्यमन्त्री पाउनेछ।’

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी पेश गर्न दिएको समय बुधबार साँझ ५ बजे सकिँदैछ। स्रोतका अनुसार अहिलेको समीकरणअनुसार मुख्यमन्त्री बन्न लागेका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भोलि मुख्यमन्त्रीको दाबी पेश गर्ने प्रदेश प्रमुखलाई जानकारी गराइसकेका छन्।

रावलले मंगलबार प्रदेश प्रमुखलाई भेटेरै मुख्यमन्त्रीमा दावी पेश गर्ने जानकारी गराएका हुन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन्।

यहाँ अहिलेको एमाले नेतृत्वको गठबन्धनको पक्षमा २९ जना र विपक्षमा २४ जना सांसद देखिएका छन्।

कांग्रेसले डाक्यो दलको बैठक

नागरिक उन्मुक्ति पार्टीलाई फकाएर भए पनि एमालेको सरकार बन्नबाट रोक्न खोजिरहेको नेपाली कांग्रेसले पनि भोलि संसदीय दलको बैठक बोलाएको छ। दलका नेता कमल शाहले भोलि बिहान ८ बजेका लागि बैठक बोलाएका हुन्।  

कांग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्काले समसामयिक विषयमा छलफल गर्न संसदीय दलको कार्यालयमा बैठक बोलाइएको जानकारी दिए।

उनकाअनुसार नागरिक उन्मुक्ति पार्टी अहिलेको समीकरणबाट बाहिर आउने अवस्थामा कांग्रेसले सरकार गठनका लागि अगुवाई गर्नेछ तर तत्काल उन्मुक्ति पार्टी कांग्रेससँग सहकार्य गर्न तयार भइनसकेको उनको भनाइ छ।

भोलि सभामुख मनोनयन तथा मुख्यमन्त्री दावी पेश गर्ने अन्तिम दिन हो। बैठकमा सभामुख पदमा उम्मेदवारी दर्ता गर्ने या नगर्ने भन्ने विषयमा पनि निर्णय हुने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.