|

काठमाडौं : काठमाडौं महानगरपालिकाको नागरिक संहिता तर्जुमा समितिले आजदेखि काम थालेको छ। उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा गठित समितिले पहिलो बैठक राख्दै आजबाट काम थालेको हो।

पुस ११ गतेको प्रमुखस्तरीय निर्णयबाट समिति गठन भएको हो। समितिको सदस्यमा वडा २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारी, वडा ३२ का अध्यक्ष एवं राजस्व समितिका संयोजक नवराज पराजुली र प्रशासन विभागका प्रमुख दीपक अधिकारी छन्। सदस्य सचिवमा मानव संशाधन विकास महाशाखाका प्रमुख गंगाधर गौतम छन्। 

जनचासोका विषय संवेदनशीलता हुन्छन्। सहरी विकास र व्यवस्थापनमा महानगरसँगै नागरिकको जिम्मेवारी पनि उत्तिकै हुन्छ। यस्ता विषय उठान गर्दा वा व्यवहार गर्दा संवेदनशीलता अपनाउनुपर्छ। यही विषयलाई व्यवस्थापन गर्न महानगरले नागरिक संहिता जारी गर्ने प्रक्रियाको थालनी गरेको हो। 

बैठकमा उपप्रमुख एवं समितिकी संयोजक डंगोलले, नागरिक संहिता सम्बन्धी विगतका अनुभव, सिकाई र अभ्यासको अध्ययन गरेर कार्यान्वयन योग्य मस्यौदा तयार पारिने बताइन्।  

‘नागरिकको संहिताजत्तिकै महत्वपूर्ण संहिता जनप्रतिनिधि र कर्मचारीको पनि हुन्छ, यसलाई पनि जारी गर्नुपर्छ,’ बैठकमा सुशासन समितिका संयोजक तिवारीले भने।  

संहितामा कानुनी कर्तव्य, नैतिक आचरण, शालीन व्यवहार, सहभागिता प्रवर्धन, दोहोरो उत्तरदायित्वलगायत विषय समेट्ने तयारी छ। छलफलका विषयमा स्पष्ट पार्दै सदस्य सचिव गौत्तमले भने,‘नागरिक अधिकारको कार्यान्वयनका लागि नागरिक वडापत्र राखिने र नागरिकको कानुनी तथा नैतिक कर्तव्य अनुबन्धको संगालो नागरिक संहिता हुने भएकोले यसैअनुरुप मस्यौदा तयार गर्न लागिएको हो।’

नागरिक संहिताका विषयमा विभाग, एकाई तथा आयोजनाहरुबाट सुझाव लिएर मस्यौदा लेखन कार्य थालनी गर्ने योजना छ। पहिलो मस्यौदामाथि जसपामार्फत समुदायमा छलफल हुनेछ। समुदायबाट प्राप्त भएको पृष्ठपोषण थपेर अन्तिम मस्यौदा तयार पारिनेछ। यो मस्यौदा प्रमुख लाई बुझाइनेछ।  मस्यौदा विधायन समिति, कार्यपालिका हुँदै नगर सभामा पुग्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.