दाबी पेसको समय घर्किंदै

|

धनगढी : सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्वमा (मुख्यमन्त्री) मा दाबी पेस गर्ने समय घर्किनै लाग्दा पनि निर्णायक तहमा रहेको नागरिक उन्मुक्ति पार्टी अनिर्णीत छ। दाबी पेसको करिब साढे ४ घण्टा मात्र समय बाँकी रहेका बेला नागरिक उन्मुक्ति पार्टीले ठोस निर्णय दिन सकेको छैन।

माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्। तर, उन्मुक्ति पार्टीले निर्णय लिन ढिलाइ गर्दा अन्योल देखिएको छ।

मुख्यमन्त्रीमा रावललाई समर्थन गर्ने वा नगर्ने विषयमा नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले निर्णय नदिएका कारण प्रदेशसभा सदस्यहरू मौन छन्। नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले केन्द्रीय नेतृत्वको निर्देशनको पर्खाइमा रहेको जानकारी दिए।

‘अहिलेसम्म केन्द्रीय नेतृत्वबाट कुनै निर्देशन भएको अवस्था छैन। हामी त्यसकै प्रतीक्षामा छौँ,’ चौधरीले भने, ‘प्रदेश संसदीय दलले सोहीअनुसार निर्णय लिन्छ। हामी अहिले पनि छलफलमै छौँ।’

उता, नागरिक उन्मुक्तिका महासचिव रतन थापासहितका नेताहरू भने रेशम चौधरीसँग छलफल गर्न डिल्लीबजार कारागार पुगेका छन्। त्यहाँ उनीहरूले सुदूरपश्चिम सरकार गठनका बारेमा छलफल गरिरहेको स्रोतले बतायो। एमाले संसदीय दलका नेता रावलसहित प्रदेशसभा सदस्यहरू पनि नागरिक उन्मुक्ति पार्टीको निर्णयको प्रतीक्षामा बसेका छन्।

एमालेसहितको गठबन्धनले शीर्ष स्तरमा प्रदेश सरकार गठनका सम्बन्धमा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरिरहेका छन्। उन्मुक्ति पार्टीले अहिलेकै गठबन्धनलाई सहयोग गरेमा एमालेका रावल बुधबार नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन्।

प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग छलफल जारी राखेको छ। प्रदेश सरकार गठन र सभामुखको मनोनयन लगायतका विषयमा छलफल गर्न बिहान ८ बजे बोलाइएको संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन।

भावी रणनीति बनाउन कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता दीर्घ सोडारी छलफलमा जुटेका छन्। उनीहरूले उन्मुक्ति पार्टीलाई एमाले र माओवादीबाट अलग गरेर प्रदेश सरकार गठन गर्न प्रयास जारी राखेका छन्।

सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म छ भने सभामुखमा मनोनयन दर्ता गर्ने समय दिउँसो साढे २ बजेसम्म छ।

५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.