सिन्धुपाल्चोक : स्पष्ट कानुन नहुँदा विभिन्न समय र स्थानबाट प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन सिन्धुपाल्चोकमा अलपत्र परेको छ। लुकाई छिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा दसकौँदेखि प्रहरीले बरामद गरेको रक्तचन्दन लिलामी वा फिर्ती हुन नसकेकाले अलपत्र भएको हो।
पटक–पटक गरी बरामद गरिएको यो परिमाणको रक्तचन्दन स्पष्ट कानुन नहुँदा के गर्ने भन्ने अन्योलका कारण सडेर खेर जाने अवस्थामा पुगेको छ। बरामद गरिएको रक्तचन्दन साबिक जिल्ला वन कार्यालयले संरक्षण गर्नुपर्ने भए पनि जिल्ला प्रशासन कार्यालयको प्रांगणमा राखिएको छ। वन परिसरमा स्थान अभाव तथा हेरालु नहुँदा संरक्षण र सुरक्षाका लागि प्रहरीलाई जिम्मा दिइएको सहायक जिल्ला वन अधिकृत कृष्णबहादुर थापाले जानकारी दिए।
तस्करहरूले अवैधरुपमा लुकाईछिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा प्रहरीले यो परिमाणको रक्तचन्दन बरामद गरेको थियो। रक्तचन्दनबारे अझैसम्म पनि सम्बद्ध निकायले ठोस निर्णय नगरेकाले यस्तो अवस्थामा पुगेको हो। ’यसबारे विभाग वा मन्त्रालयले निर्णय गर्नुपर्छ। हामीलाई अधिकार छैन’, उनले भने, ’ बरामद गरिएका रक्तचन्दन संरक्षण गरिराख्नु भन्ने माथिबाट निर्देशन भएकाले हामीले संरक्षण मात्र गरिरहेका हौँ।’
रक्तचन्दन वनको स्वामित्वमा भए पनि ठाउँ अभावका कारण प्रशासन प्रांगणमा राखिएको छ। साबिक वन विभागले अहिले बरामद रक्तचन्दनको अवस्थाबारे लेखेर पठाउन जिल्ला वन कार्यालयलाई निर्देशन दिएकामा पत्र आएपछि यहाँ भएका रक्तचन्दनको अवस्थाबारे जानकारी गराइएको सहायक वन अधिकृत थापाले बताए।
यसअघि उक्त कार्यालयले व्यवस्थापनका लागि वन विभागलाई पत्राचार गरे पनि विभाग मौन थियो। अर्बौँ मूल्य बराबरको रक्तचन्दन वन कार्यालयले प्रहरीलाई आधिकारिक पत्रसहित सुरक्षाका लागि जिम्मा दिएको हो। वन कार्यालयमा सशस्त्र वनरक्षक नभएको र सुरक्षामा कमजोरी रहेकाले रक्षाका लागि प्रहरीलाई जिम्मा दिइएको उनको भनाइ थियो। साइटिस सन्धिले ओसारपसारमा रोक लगाएको रक्तचन्दन गैरकानुनी रुपमा आएकाले प्रहरीले बरामद गर्दै आएको छ।
साइटिस–२ को सूचीमा रहेको रक्तचन्दन आयात गर्ने र निर्यात गर्ने मुलुकबीच सम्झौता भयो भने ओसारपसार गर्न पाइँछ तर तेस्रो राष्ट्रको बाटो भई जाने भएमा ती राष्ट्रबीचसम्झौता हुनुपर्छ।
यहाँ बरामद गरिएका रक्तचन्दन भारतबाट लुकाईछिपाई चीन लैजाने गरिएका छन्। ओसारपसारमा कुनै सम्झौता नभएकाले रक्तचन्दन नेपालमा बरामद गर्ने गरिएको हो। साइटिस–१ को सूचीमा रहेको कुनै पनि वनस्पति तथा वन्यजन्तुका अंगहरू भने कुनै पनि मुलुकले बिक्रीवितरण तथा कतै ओसारपसार गर्न नपाउने साइटिसको प्रावधान छ।
प्रशासनको परिसरमा रहेको रक्तचन्दनको जिम्मेवारी तथा सुरक्षा प्रहरीले गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शिवकुमार बुढाथोकीले जानकारी दिए। प्रशासन कार्यालयको प्रांगणमा ६२ सालदेखि बरामद गरिएका रक्तचन्दन छन्। त्यसबेला बाह्रबिसे प्रहरीले बरामद गरेको सात हजार आठ सय किलो, ०६४ सालमा जिल्ला प्रहरी कार्यालयले बरामद गरेको छ हजार छ सय किलो, ०६४ सालमै मा विशेष अनुगमन टोलीले बरामद गरेको आठ हजार दुई सय किलोलगायत रक्तचन्दन छन्।
प्रहरीका अनुसार अरनिको राजमार्गमा रहेका विभिन्न प्रहरी चौकीले गरेको नियमित जाँचका क्रममा बढी रक्तचन्दन बरामद गरिएको थियो। बेबारिसे अवस्थामा रहेर बरामद गरिएका केही रक्तचन्दन पनि प्रशासन कार्यालयको प्रांगणमा रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।