|

काठमाडौं : कोरोना महामारीपछि थलिएको नेपाली फिल्म उद्योगका लागि यो वर्ष सन्तोषजनक रह्यो। अपेक्षा गरिएका केही फिल्मले हलमा राम्रो प्रदर्शन गर्न नसके पनि ९ महिनामा आधा दर्जनभन्दा बढी फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरे। सँगै नेपाली फिल्मका दर्शकले यो वर्ष केही नयाँ स्वादका फिल्म पनि हेर्न पाए।

यो वर्ष व्यावसायिक रुपमा सफल फिल्मको सूची यसप्रकार छः 

ए मेरो हजुर ४

नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको ए मेरो हजुर ४ का लागि सबैभन्दा ठूलो अवरोध बनेर आएको थियो बहुप्रतीक्षित कन्नड फिल्म केजिएफः च्याप्टर २। मल्टिप्लेक्समा शुरुदेखि नै केजिएफले भन्दा कम शो पाएको फिल्मले आफ्नो लगानी सुरक्षित गर्दै राम्रो मुनाफा कमाउन सफल भएको थियो। 

सफल फ्रेन्चाइज ए मेरो हजुर को चौथो फिल्ममा अभिनेता अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको थियो। जसलाई झरना थापाले निर्देशन गरेकी थिइन्। डेढदेखि २ करोड बजेटमा बनेको उक्त फिल्मले बक्स अफिसमा ६ करोडभन्दा माथिको कमाइ गर्न सफल भएको थियो।

कबड्डी ४ः द फाइनल म्याच

रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म कबड्डी ४ यो वर्षको मात्र होइन नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ। नेपाली बक्स अफिसमा २५ करोडभन्दा माथिको कमाइ गर्दा विदेशमा प्रदर्शन अधिकार बिक्रीबाट पनि राम्रो रकम कमाएको छ। 

कबड्डी कबड्डी, लुट जस्ता सफल फिल्ममा सँगै देखिएका अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको सफल फिल्मको सूचीमा कबड्डी ४ पनि समावेश भएको छ। साथै कोरोना महामारीपछि फिल्म क्षेत्र फेरि उठ्न सक्ला त भन्ने प्रश्न धेरैको मनमा रहेकोमा यो फिल्मले हलमा ५१ दिन मनाउँदै शुभ संकेत गरेको थियो। 

झिँगेदाउ

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म झिँगेदाउले बक्स अफिसमा ५ करोडभन्दा माथिको कमाइ गर्न सफल भयो। पारिवारिक कथामा बनेको कमेडी फिल्म देउजाको कमब्याक फिल्म पनि हो। यसअघि छविलाल कन्जुस छैन निर्देशन गरेका उनले ७ वर्षपछि नयाँ फिल्म लिएर आएका हुन्।

झिँगेदाउ निर्देशकका लागि मात्र नभएर व्यावसायिक रुपमा सफल फिल्मको पर्खाइमा रहेका कलाकारको लागि पनि महत्वपूर्ण सावित भयो। यसअघि बुलबुलबाट आफूलाई अब्बल अभिनेताको रुपमा स्थापित गरेका मुकुन भुषाल, हिट फिल्मको पर्खाइमा रहेका अभिनेत्री द्वय आँचल शर्मा र केकी अधिकारी र नव अभिनेता कुशल विष्ट फिल्ममा मुख्य भूमिकामा देखिएका थिए। 

प्रेम गीत ३

सन्तोष सेन र स्व. छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको प्रेम गीत ३ ले नेपाली फिल्मको बजार भारतमा पनि बिस्तार गर्‍यो। नेपाली र हिन्दी भाषामा प्रदर्शन भएको फिल्मले विश्वभरिबाट ३५ करोडभन्दा माथि कमाउन सफल भएको थियो।

यसै वर्ष प्रकाशबाट अभिनेताको रुपमा निखारिएको प्रस्तुति दिएका अभिनेता प्रदिप खड्काको व्यावसायिक हिटको रुपमा प्रेम गीत ३ आयो। फिल्ममा प्रदिप खड्का र क्रिस्टिना गुरुङ मुख्य भूमिकामा देखिएका थिए भने सुनील थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, लक्ष्मी बर्देवा लगायतका कलाकारको पनि अभिनय रहेको थियो। 

२ नम्बरी

दयाहाङ र सौगातको मुख्य भूमिका रहेको यो वर्षको अर्को सफल फिल्म हो २ नम्बरी। जंगली पशुपक्षी तस्करीको कथालाई मुख्य विषय बनाइएको फिल्म दशैँको छेकोमा प्रदर्शन भएको थियो। दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मले बक्स अफिसमा ६ करोडभन्दा बढीको कारोबार गर्न सफल भयो।

दयाहाङ र सौगातबाहेक फिल्ममा उपासना सिंह ठकुरी र भुटानी अभिनेत्री युगेन छोदेनको पनि मुख्य भूमिका रहेको थियो। दशैँको छेको पारेर प्रदर्शनमा आएको फिल्ममा झण्डै तीन हप्ता हलमा दर्शकको बाक्लो उपस्थिति देखिएको थियो। 

के घर के डेरा

निर्देशक दीपेन्द्र के खनालको यस वर्ष प्रदर्शनमा आएको दोस्रो फिल्म हो के घर के डेरा। अघिल्लो फिल्म चिसो मान्छेले व्यावसायिक रुपमा राम्रो प्रदर्शन गर्न नसके पनि के घर के डेराले भने त्यसको भर्पाइ गरेको थियो। तिहारको छेको पारेर प्रदर्शनमा आएको फिल्मले झण्डै ५ करोडको कमाइ गरेको थियो।

के घर के डेरा दयाहाङको अभिनय रहको यस वर्ष प्रदर्शनमा आएको तेस्रो फिल्म हो। जसमा उनले अभिनय गरेका तीनवटै फिल्म सफल रहे। फिल्ममा दयाहाङबाहेक विपिन कार्की‚ वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको थियो। 

महापुरुष

जात्रा, शत्रु गते र जात्रै जात्रा जस्ता सफल फिल्म निर्देशन गरेका प्रदिप भट्टराईको चौथो फिल्म महापुरुष पनि बक्स अफिसमा सफल सावित भयो। फिल्मले हलमा ५१ दिन मनाउँदै १० करोडभन्दा बढी कमाउन सफल भएको थियो। 

हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईली लगायतका कलाकारको मुख्य भूमिका रहेको थियो। अञ्जना र अरुणले महापुरुषमार्फत नेपाली फिल्ममा डेब्यु गरेका हुन्। 

यीबाहेक चिसो मान्छे, दोख, पानी फोटो, प्रकाश, राधा, ऐना झ्यालको पुतली लगायतका फरक स्वादका फिल्मले व्यावसायिक रुपमा राम्रो प्रदर्शन गर्न नसके पनि चर्चामा भने आए।

यो वर्ष रामबाबु गुरुङको निर्देशनमा रहेको फूलबारी, दीपक-दीपा समूहको छक्का पञ्जा ४ र अनमोल केसीको मुख्य भूमिका रहेको छड्के २ लाई राम्रो मुनाफा कमाउन सक्ने फिल्मको रुपमा हेरिएको छ।

दयाहाङ र विपिन सँगै देखिन लागेको फूलबारी फागुन ५ गतेदेखि प्रदर्शनमा आउँदैछ भने छक्का पञ्जा ४ र छड्के फागुन १९ देखि एकसाथ प्रदर्शनमा आउँदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.