|

पर्वत : पोखरा थिएटरको आयोजनामा गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवका लागि १९ नाटक छनोटमा परेका छन्।

महोत्सवका निर्देशक परिवर्तनका अनुसार तेस्रो विद्यालय नाटक महोत्सव माघ १५ गतेदेखि २१ गतेसम्म सात दिनका लागि गर्न लागिएको छ। 

छनोटमा परेका तिनै १९ वटा नाटकलाई महोत्सव अवधिमा मञ्चन गरिने छ। २९ वटा नाटकको आवेदन आएकोमा १९ वटा छनोटमा परेका हुन्।

एकल अथवा सामूहिक रूपमा पनि प्रस्तुत गर्न सकिने नाटकका लागि प्रत्येक विद्यालयले लेखक, निर्देशक, कलाकार, प्राविधिक, विद्यालय प्रतिनिधि गरेर बढीमा १५ जना सम्मको समूह बनाएका छन्। नेपाली नाटक मात्रै समावेश महोत्सवमा माध्यमिक तह अर्थात् कक्षा १२ सम्मका विद्यार्थीले अभिनय गर्नेछन्। 

पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरेर त्यहाँको कथावस्तु, भाषा शैली, संवाद, प्रस्तुतीकरण, मञ्चीयता, मौलिकता लगायतका तत्त्वलाई आधार मानेर नाटक छनोट गरिएको हो।

छनोट भएका नाटकहरूलाई आयोजकले आवश्यकताको आधारमा सल्लाह, सुझाव र सहजीकरण गर्ने तथा छनोट भएका नाटकका कलाकार, व्यवस्थापक र प्राविधिकलाई प्रमाण–पत्र, मेडल र नगद १० हजार रुपैयाँले सम्मान गर्ने पनि पोखरा थिएटरले बताएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.